जन्मदिनको खर्च कटाएर सहयोग कोष स्थापना

जन्मदिनको खर्च कटाएर सहयोग कोष स्थापना


  • बार्सिलोना (स्पेन)

बार्सिलोनानिवासी भोला लामिछाने र उनकी धर्मपत्नीले आफ्नो छोरा कार्लोस लामिछानेको प्रथम जन्मदिनको अवसरमा जन्मदिन मनाउने खर्च बचाएर एक लाख त्रिचालीस हजार एकानब्बे रुपयाँको एक कोष स्थापना गरेका छन् । उपकारी मनका धनी लामिछानेले छोराको नाममा स्थापना गरेको सो कोषलाई आफ्नो छोरामार्फत नेपालमा सामाजिक क्षेत्रमा खर्च गर्ने चाहना रहेको जन्मदिन मनाउन उपस्थित आफ्ना मित्रहरुलाई जानकारी दिए ।

स्पेनको चर्चित क्षेत्र बार्सिलोनामा बसोबास गर्ने भोला लामिछाने आफ्नो नामजस्तै कर्म गर्ने व्यक्तिका रुपमा चिनिन्छन् । सहयोग माग्नेहरूलाई कहिल्यै निराश नबनाएको लामिछानेलाई नजिकबाट चिन्नेहरु बताउँदछन् । सामाजिक कामका निमित्त बार्सिलोना झर्ने हरेक पाहुनाको लागि विमानस्थलदेखि रेल स्टेसनसम्म पुगेर स्वागत गर्दै हरेकलाई आवश्यक सहयोग गर्नेहरुमध्ये अग्रपंक्तिमा लामिछाने रहेको बार्सिलोनावासीका साथै युरोपस्थित गैरआवासीय नेपाली संघमा आबद्द अभियान्ताहरु बताउँछन् ।

समाजलाई आफ्नो भागको केही बाँँडेर दिनुपर्छ भन्ने सोच भएका लामिछानेले गतसाता (९ अप्रिल आइतबार) बार्सिलोनामा आफ्नो छोरा कार्लोसको प्रथम जन्मदिनको शुभकामना कार्यक्रम आयोजना गरेका थिए, जसमा स्पेनका विभिन्न संघसंस्थामा आवद्ध ब्यक्तित्वहरु, उनका आफन्त एवम् साथीभाइहरुको सहभागिता रहेको थियो ।

लामिछाने विगत लामो समयदेलि डायस्पोरामा रहेर पत्रकारिता गरिरहेका छन् । यसका अलवा उनी क्षेत्री समाज स्पेनका संस्थापक सल्लाहकार, गैरआवासीय नेपाली संघमा मिडिया संयोजकलगायत विभिन्न सामाजिक क्षेत्रमा जोडिएर समाजलाई निरन्तर सघाइरहेका देखिन्छन् ।