बेल्जियममा हुने ‘नेपाल महोत्सव’को सबै तयारी पूरा

बेल्जियममा हुने ‘नेपाल महोत्सव’को सबै तयारी पूरा


नेपाली खानाका मौलिक परिकार तथा साँस्कृतिक कार्यक्रम मुख्य आकर्षण

  • सनत आचार्य, बेल्जियम

नेपाली नयाँ वर्ष २०८० को अवसरमा बेल्जियममा नेपाली-नेपाली बीच सामाजिक सद्भाव, नेपाली कला, संस्कृति, खानपिन र पर्यटन समेतको प्रवर्धन गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघ बेल्जियम र बेनेलुक्स (बेल्जियम, नेदरल्याण्ड र लम्जम्वर्ग)का लागि नेपाली दूतावास ब्रसेल्सद्वारा संयूक्त रुपमा आगामी शनिबार लुभेनमा आयोजना हुने नेपाल महोत्सवमा युरोपियन युनियनका विशिष्ट पदाधिकारीलगायत विभिन्न देशका कुटनीतिक नियोगका प्रमुखहरूको समेत सहभागिता हुने भएको छ ।

बेनेलुक्सका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले नेपाली नयाँ वर्षको अवसरमा लुभेनमा हुने नेपाल महोत्सव आयोजनामा मुख्य भूमिका एनआरएनए बेल्जियमको रहे तापनि आफुहरूले यो महोत्सवको पूर्ण सफलताका लागि सक्दो सहयोग गरिरहेको बताउनुभएको छ ।

बुधवार बिहान घटना र विचारका प्रतिनिधिसँग विशेष संवाद गर्दै राजदूत राजभण्डारीले कार्यक्रमको मुख्य आयोजक गैरआवासीय नेपाली संघ बेल्जियम भए तापनि दूतावासले यो कार्यक्रम आफ्नै ठानेर सबै प्रकारको सहयोग गरिरहेको र आफ्नो कार्यक्षेत्रभित्र आयोजना हुने यस्तै प्रकारका अन्य गतिविधिमा समेत दुतावासको सक्रिय सहयोग हुने बताउनुभयो ।

राजदूत राजभण्डारीले शनिबार हुन गइरहेको नेपाल महोत्सवमा दुतावासले समन्वयकारी र सहयोगीको भूमिका निर्वाह गरेको पनि बताउनुभयो । महोत्सवको एउटा मुख्य सरोकारवाला आफूहरु पनि भएकोले यो महोत्सव पूर्ण रुपले सफल बनाउन आफ्नोसमेत विशेष दायित्व रहेको कुरामा उहाँले जोड दिनुभयो ।

उहाँले नेपाली-नेपाली र नेपाली तथा विदेशीहरू बीचको सुमधुर सम्बन्ध बनाउन र गाँस्न आवश्यक भएकोले बेल्जियममा आयोजना गर्न लागिएको नेपाल महोत्सवले सबैबीच सुमधुर सम्बन्ध बनाउन महत्वपूर्ण माध्यमका रूपमा सावित हुने उल्लेख गर्नुभयो ।

राजदूत राजभण्डारीले महोत्सवमा नेपाली कला, संस्कृति र मौलिक खानाका परिकारसमेत हुने भएकोले यसले नेपाल र नेपालीको पहिचानक र सोको प्रवर्धन हुने र यसले व्यक्ति र बेल्जियमको समुदायलाई जोड्न सहयोगी हुने बताउनुभयो ।

राजदूत राजभण्डारीले बेल्जियम र यस क्षेत्रआसपास भएका सम्पूर्ण उद्योगी, व्यवसायी तथा सर्वसाधारणहरूलाई समेत महोत्सवमा उपस्थित भइ एक आपसमा शुभकामना आदानप्रदान र हौसला प्रदान गर्न सबैमा अनुरोध समेत गर्नुभयो ।

त्यसैगरी, गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्कबहादुर केसीले आगामी अप्रिल १५ तारिखका दिन हुने नेपाल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको र सबै तयारी पूरा भएको बताउनुभएको छ ।

अध्यक्ष केसीले नेपाली नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्न र नेपालीको मौलिक कला, संस्कृति र परिकारसमेतको पहिचान र प्रवर्धन हुने भएकोले महोत्सव आफैमा विशेष भएको धारणा राख्नुभयो ।

अध्यक्ष केसीले बेल्जियमका लागि नेपाली दूतावासको समन्वय र सहयोगमा युरोपियन युनियनका उच्च पदस्थ कर्मचारीलगायत बेल्जियममा रहनुहुने विभिन्न मूलुकका राजदूतहरु, लुभेनका मेयर तथा उपमेयरहरु लगायत बेल्जियममा रहेका अन्य विभिन्न विदेशी संघसंस्थाका प्रतिनिधिलगायत बेल्जियममा रहेका नेपाली संघसंस्थाहरुको उपस्थििति रहने पनि जानकारी दिनुभयो ।

अप्रिल १५ शनिबारका दिन हुने महोत्सवमा बिहान ११ बजे नेपाली परम्पराअनुसारको विभिन्न भेषभूषासहितको झाँकीले लुभेन शहरका मुख्य बजारहरू परिक्रमा गर्ने र त्यसपछि कार्यक्रमको उद्घाटन समारोह आयोजना गरिने गैरआवासीय नेपाली संघ बेल्जियमका महासचिव रमेश कँडेलले जानकारी दिनुभयो ।

महासचिव कँडेलका अनुसार महोत्सवमा मुख्य अतिथिको रुपमा उपस्थित हुन बेल्जियमका राजकुमारी तथा प्रधानमन्त्रीलाई आग्रह गरिएकोमा कार्यव्यस्तताका कारण उहाँहरू कार्यक्रममा उपस्थित हुन नसक्ने तर कार्यक्रमका सफलताका लागि सचिवालयबाट शुभकामना प्राप्त भएको बताउनुभयो ।

नेपाल महोत्सव व्यवस्थापन समितिका संयोजक तीर्थ धमलाका अनुसार महोत्सवमा नेपाली खाना, नेपालमा उत्पादित बस्तु र प्रचारप्रसार सामग्रीसहितका एक दर्जन भन्दा बढी स्टलहरु रहने छन् ।

त्यस्तै, कार्यक्रममा उपस्थित दुई जना विदेशी नागरिकलाई चिठ्ठामार्फत नेपाल आतेजाते हवाइ टिकट र खानबस्नसहित पाँचदिने प्याकेज प्रदान गरिने छ । आवास तथा भोजनको व्यवस्था रुपाकोट रिसोर्टको समायोजनमा हुनेछ ।

त्यस्तै, महोत्सवमा उपस्थित पाहुनाहरुलाई मनोरञ्जन दिन स्थानीय कलाकारहरुले दिनभरी नै नृत्य तथा गीतहरु प्रस्तुत गर्नेछन् ।

महोत्सव बिहान ११ बजेदेखि राति १० बजेसम्म चल्ने एनआरएनए बेल्जियमका कोषाध्यक्ष लोकेन्द्र नेपालले जानकारी दिनुभयो ।