बार एशोसिएसनका पदाधिकारीद्वारा प्रधानन्यायाधीश नियुक्त गर्न माग

बार एशोसिएसनका पदाधिकारीद्वारा प्रधानन्यायाधीश नियुक्त गर्न माग


photo: rss

प्रधानमन्त्री प्रचण्डसँग नेपाल बार एशोसिएसनका पदाधिकारीहरुले छलफल गरेका छन् । आज बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाल बार एशोसिएसनका पदाधिकारी, पूर्वपदाधिकारी र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारी उपस्थित थिए ।

छलफलमा बारका पदाधिकारीले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले तत्काल संवैधानिक परिषद्को बैठक राखी प्रधानन्यायाधीश नियुक्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए भने प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र संविधानको रक्षा एवं न्याय प्रणालीमा सुधारका लागि बारले खेलेको भूमिकाको प्रशंसा गरे ।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार संसदीय सुनुवाइ समिति गठन गर्ने विषयमा पनि बारका पदाधिकारीले प्रधानमन्त्रीसँग छलफल गरेका थिए । जवाफमा प्रधानमन्त्रीले संवैधानिक परिषद्का पदाधिकारीसँग परामर्श गरी तत्काल बैठक बोलाएर आवश्यक निर्णयमा पुग्न आफ्नो तर्फबाट पहल सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका बताइएको छ ।