कामु प्रधानन्यायाधीशका सुरक्षा गार्डको पेस्तोल पड्किएर पूर्वमन्त्री पुनकी आमा घाइते

कामु प्रधानन्यायाधीशका सुरक्षा गार्डको पेस्तोल पड्किएर पूर्वमन्त्री पुनकी आमा घाइते


काठमाडौंको गैरीधारामा गए राति गोली लागेर पूर्वमन्त्री वर्षमान पुनकी ७४ वर्षीया आमा तीर्थमाली पुन घाइते भएकी छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीका अनुसार प्रहरी सहायक हवल्दार प्रकाश पुन मगरको साथमा रहेको पेस्तोल पड्किएर गोली लाग्दा पुनकी आमा तीर्थमाली घाइते भएकी हुन् ।

प्रकाश नातामा तीर्थमालीका नाति भएको खुलेको छ । उनी नयाँ वर्ष मनाउन गएका बेला उक्त घटना घटेको प्रहरीको भनाइ छ ।

प्रकाशलाई नियन्त्रणमा लिइ अनुसन्धान थालिएको छ । घाइते तीर्थमालीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रकाश कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्कीका सुरक्षा गार्ड भएको बताइएको छ ।