बेल्जियममा ‘नेपाल महोत्सव’ सम्पन्न

बेल्जियममा ‘नेपाल महोत्सव’ सम्पन्न


नयाँ वर्षको दोश्रो दिन प्रवासी नेपालीहरूको भब्य जमघट

  • सनत आचार्य, लुभेन (बेल्जियम)

नयाँ वर्ष २०८० को उपलक्ष्यमा गैरआवासीय नेपाली संघ बेल्जियमको प्रमुख आतिथ्य तथा बेनेलुक्स (बेल्जियम, नेदरल्याण्ड र लक्जम्वर्ग) का लागि नेपाली दुतावास ब्रसेल्सको सहआतिथ्यमा नेपाल महोत्सव शनिबार लुभेनमा भव्य रुपमा सम्पन्न भएको छ ।

बेनेलुक्सका लागि नेपाली राजदूत गेहेन्द्र राजराभण्डारी र लुभेन नगरपालिकाका मेयर मोहम्मद रिदवानीले पानसमा दीप प्रज्वलन गरी संयुक्तरुपमा उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्तव्य दिँदै लुभेन नगरपालिकाका मेयर मोहम्मद रिदवानीले बेल्जियम र नेपालीको सम्बन्ध निकै गहिरो रहेको बताउँदै नेपालमा गएको बिनासकारी महाभूकम्पमा बेल्जियमवासीहरूले सक्दो सहयोग गरेको र केही वर्षअघि बेल्जियममा आएको बाढीबाट पीडितजनका लागि पनि नेपाली समुदायले सक्दो सहयोग गरेको स्मरण गर्नुभयो ।

मेयर रिदवानीले नेपालीहरू कला र संस्कृतिले धनी भएकोमा खुसी प्रकट गर्दै प्रवासमा पनि यसको संरक्षणका लागि नेपाल महोत्सव जस्तो पर्व आयोजना गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजराजभण्डारीले नेपाल धर्म, कला, संस्कृति र प्राकृतिक छटाहरूबाट समेत सम्पन्न रहेको जानकारी दिँदै सोको अवलोकन गर्न र महोत्सवमा राखिएका स्टलहरूको अवलोकन गरी नेपाली परिकार र बस्तुहरूको अवलोकन गर्न विदेशस्थित कुटनीतिक नियोगका प्रमुखहरूको उपस्थिति महोत्सवको गरिमा अझै बढेको बताउनुभयो ।

राजदूत राजभण्डारीले सबैमा नयाँ वर्षको शुभकामना व्यक्त गर्दै महोत्सवमा भएका खानाका परिकार र नाचबाट भरपुर मनोरञ्जन लिन सबैलाई आग्रह गर्नुभयो ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष हेमराज शर्माले नेपाल बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृति देश भएकोमा सबैले गौरव गरेको बताउँदै नेपालमा भएका पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार गर्न यस्ता कार्यक्रमहरू उपयोगी हुने बताउनुभयो ।

गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्कबहादुर केसीले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै विदेशी कुटनीतिक नियोगबाट महोत्सव अवलोकनका लागि आउनु भएको पाहूनाले आफूलाई हौसला प्रदान गरेको यो महोत्सवले प्रवासमा नेपाली कला, संस्कृतिको संरक्षण र सम्वर्धनमा सहयोग पुऱ्याएको बताउनुभयो ।

बिहान साढे एघार बजे ग्रोट मार्केटबाट बाजागाजासहित निस्केको झाकीमा साँग्रीला समाज, नेपाली भाषा कक्षा, युरो नेपाल कलाकार संघ, पासा पुँच, संयुक्त किरात समाज, म्याग्दी प्रवासी संघ (मोना) लगायतका संघसंस्थाहरूको सहभागिता रहेको थियो ।

पर्यटन प्रवर्धन गर्न नेपाल र नेपालीहरूको धर्म, कला, संस्कृति र पर्यटन प्रवर्धनमा सहयोग पुग्ने श्रब्यदृष्य सामग्री राखिएको थियो । त्यस्तै, बेल्जियमका लागि नेपाली दुतावासको तर्फबाट नेपाल सम्बन्धित जानकारीमूलक सामग्री प्रदर्शन र वितरण गरिएको थियो ।

त्यस्तै, कार्यक्रम क्षेत्रमा सेल, अचार, नेवारी खाना, चिउरा, चना, दालभात, पुलाउ, जेरीपुरी र नेपालमा उत्पादित हस्तकलासम्बन्धी सामग्रीहरूको १२ वटा स्टलहरू राखिएका थिए । स्टलवरिपरि खानाका परिकारको स्वाद लिनका लागि दर्शकहरूले लामो समयसम्म कुर्नु परेको थियो ।

कार्यक्रममा ‘बुद्ध नेपालमा जन्मेका हुन्’ अभियानका प्रवर्तक धीरज राईको विशेष प्रस्तुति रहेको थियो । प्रस्तुतिकै क्रममा गायक राईले बुद्ध नेपालमै जन्मेको भएता पनि उनको जन्मलाई लिएर अनेकौँ भ्रमहरू सृजना गरिएकोमा सो चिर्न आफुले यो अभियान संसारभरी चलाएको बताए ।

सोही क्रममा ऐना बेल्जियमले लाखे नाँच, संयुक्त किरात समाजले साकेला नृत्य, गेण्ट समाज बेल्जियमका ससाना भाईबैनीहरूले सामुहिक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई स्थानीय कलाकार एवम् इनास बेल्जियमका महासचिव लाहुरेकान्छाको प्रस्तुतिले दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो । कार्यक्रमको शुरुवातमा नेपाल र बेल्जियमको राष्ट्रिय गीत प्रस्तुत गरिएको थियो ।

शनिबार सम्पन्न नेपाल महोत्सवमा युरोपियन युनियन, भारत, बंगलादेश, चीन, बुल्गेरीया, हंगेरी, काजकिस्तान, माल्दिप्स र श्रीलंकाका राजदुतहरू तथा लुभेन नगरपालिकाका विभिन्न शाखा हेर्ने उपमेयरहरूको सहभागिता रहेको थियो ।

त्यसैगरी, महोत्सवको अवलोकन गर्न र सहभागी हुन ओस्टण्डे, ब्रुज, ब्लाङ्केनबर्ग, गेण्ट, आन्तरपेन, ब्रसेल्स लगायतका क्षेत्रहरूबाट हज्जारौँ नेपाली तथा विदेशीहरू आएका थिए ।