त्यो भनाइमा षडयन्त्र र जालझेल मात्र : सुशील

त्यो भनाइमा षडयन्त्र र जालझेल मात्र : सुशील


नेपाली राजनीतिका महानायक गिरिजाप्रसाद कोइरालाको निधनपछि काङ्ग्रेसको भविष्य के होला भन्ने चिन्ता बढिरहेका बेला कार्यवाहक सभापति सुशील कोइरालाले पार्टीलाई दृढतापूर्वक हाँक्ने सङ्केत दिनुभएको छ । जहिल्यै पनि लोकतन्त्रको संस्थागत विकासमा जोड दिने कोइरालाकाद्दे भूमिकाको सर्वत्र प्रशंसासमेत भइरहेको छ । तीन दलबीचको तीनबुँदे सम्झौता, प्रधानमन्त्रीको राजीनामा र नयाँ सरकार गठनबारे कोइरालासँग घटना र विचारका लागि ऋषि धमलाले गर्नुभएको कुराकानी :
० तीन दलबीच भएको सहमतिअनुसार प्रधानमन्त्रीको राजीनामा त आएन नि ?
– जेठ १४ गते तीन दलबीच तीनबुँदे सम्झौता भएको हो । दोस्रो नम्बरको बुँदाअन्तर्गत संविधानसभाको म्याद थप भइसकेको छ । तर, पहिलो बुँदा शान्तिप्रक्रिया र संविधानलेखनमा रहेका मतभेद टुङ्ग्याउने काम भएको छैन । पहिलो बुँदा पूरा भएपछि प्रधानमन्त्रीले राजीनामा दिने कुरामा काङ्ग्रेस अडिग छ । शान्तिप्रक्रियाको अभिन्न अङ्ग लडाकुको समायोजन, रेखदेख र पुनर्स्थापनामा सहमति नभईकन कसरी राजीनामा दिने ?
० माओवादीले त पाँच दिनभित्र प्रधानमन्त्रीले राजीनामा दिने सहमति भएको भनिरहेको छ नि ?
– तपाईंहरूलाई थाहा छ कि छैन, प्रचण्डजीले लडाकुको समायोजन, व्यवस्थापनको काम एक दिनभित्रै गरिदिन्छु भन्नुभएको थियो । सहमति भएको पनि पाँच दिन बितिसक्यो । खोइ त उहाँले वचन पूरा गरेको – माओवादीका भनाइमा षडयन्त्र र जालझेल मात्र छ ।
० माओवादीले त काङ्ग्रेस, एमालेले झुक्याए भनिरहेको छ नि ?
– हामीले माओवादीलाई होइन, माओवादीले सिङ्गो देशलाई झुक्याइरहेको छ । कब्जा सम्पत्ति फिर्ता, वाईसीएलको अर्धसैनिक संरचना भङ्ग, नागरिक पार्टीमा रूपान्तरणलगायतका कुरामा ऊ पटक्कै इमानदार देखिएको भए काङ्ग्रेसलाई राष्ट्रिय संयुक्त सरकार बनाउन कुनै आपत्ति थिएन । तीनबुँदे सहमतिमा हामी प्रतिबद्ध छौँ । तर, माओवादी सहमति खोज्नुको साटो बैठकै बहिष्कार गरिरहेको छ ।
० अब फेरि सहमति तोडिने भयो त ?
– हाम्रोतर्फबाट कुनै पनि हालतमा तोडिँदैन । अहिले राष्ट्रिय सहमति अपरिहार्य छ । दिगो शान्ति, लोकतन्त्रको संस्थागत विकास र एक वर्षभित्र संविधान निर्माण अहिलेको आवश्यकता हो । त्यसतर्फ हामी अडिग छौँ । माओवादीले काङ्ग्रेसलाई आरोप लगाएर पन्छन पाउँदैन ।
० माधव नेपालको राजीनामा आउँदै आउँदैन त ?
– हामीले कहाँ त्यसो भनेका छौँ र ? काङ्ग्रेस अहिले पनि राष्ट्रिय संयुक्त सरकार बनाउने पक्षमै छ । तर, पहिलो बुँदा कार्यान्वयन नभई तेस्रो नम्बरको बुँदा कार्यान्वयन हुँदैन । माओवादी बैठकमै आउन छाड्यो । हस्ताक्षर गर्ने अनि जिम्मेवारीबाट भाग्ने ?
० राष्ट्रिय संयुक्त सरकार बन्यो भने नेतृत्व कसले गर्छ ?
– तपाईं पनि माओवादीले जस्तै कुरा नगर्नोस् । अहिले त्यसको वातावरण बनेको छैन । अझै पनि माओवादी सेना, हतियार र वाईसीएलसहित चुनावमा गएर सत्ता कब्जा गर्ने रणनीतिमा छ । तर, त्यो दिवास्वप्नमात्र हो ।
० अबको सरकारको नेतृत्व काङ्ग्रेसले गर्छ कि गर्दैन ?
– काङ्ग्रेसका लागि सरकार गौण हो । काङ्ग्रेस तीनवटा क्रान्तिको नेतृत्व गरेको पार्टी हो । अहिले हामीले शान्ति र संविधानलाई नै प्राथमिकता दिएका छौँ ।
० अबको प्रधानमन्त्रीमा तपाईंको चर्चा छ नि ?
– मैले कहिल्यै पनि पदका लागि राजनीति गरिनँ । जहिले पनि लोकतन्त्र र सिस्टमका लागि लडेँ । किनभने लोकतन्त्र नै काङ्ग्रेसको प्राणवायु हो ।
० तपाईं प्रधानमन्त्री बन्दैनबन्ने त ?
– प्रधानमन्त्री को बन्ने भन्ने ठूलो कुरै होइन । मुख्य कुरा थपिएको एक वर्षमा शान्ति र संविधान सुनिश्चित हुनुपर्‍यो ।
० नयाँ सरकारमा काङ्ग्रेसको दाबी रहन्न ?
– त्यो अहिले भन्ने कुरा होइन । उपयुक्त समय आएपछि काङ्ग्रेसले दाबी गर्न सक्छ । जिम्मेवारीबाट काङ्ग्रेस भाग्दैन ।
० माधव नेपाल सरकारको आयु छोट्टएिको हो ?
– त्यो एमाले र एमालेका नेताहरूलाई नै सोध्नोस् । सरकारको भविष्य नै एमालेको हातमा छ । १४ जेठको सहमति कार्यान्वयन गरेर मात्र अघि बढ्न सकिन्छ ।
० सरकारबारे गठबन्धन दलहरूबीच समान धारणा छैन नि ?
– हाम्रो धारणामा कुनै फेरबदल छैन । हामी माओवादीसहितको सरकार बनाएर अघि बढ्न चाहन्छौँ ।
० विदेशी चलखेल बढ्यो भन्छन् नि ?
– नेपालका लागि शान्ति महत्त्वपूर्ण छ । त्यसमा विदेशीले दिने भनेको सद्भाव र समर्थन हो । विश्व समुदायको सहयोग र समर्थन लिएर हामी अघि बढ्छौँ ।