जनता सचेत भए भने हिंसा र राज्यसत्ताको आडमा गरिने जस्तासुकै निर्णय पनि अस्वीकृत हुँदारहेछन् भन्ने दृष्टान्त पोखराबासीले स्थापित गरिदिएका छन् ।
वि.सं. २०६३ मा माओवादीलाई खुला राजनीतिमा ल्याउने क्रमसँगै भएको सत्ता परिवर्तनलगत्तै माओवादीको उन्मादी जत्थाले देशका विभिन्न स्थानमा उपद्रव मच्चाउन सुरु गरेको थियो । नेपालको इतिहास मेट्ने प्रायोजित अभियानअन्तर्गत राजा महाराजाको स्मारक तथा नेपालको मौलिक धर्म/संस्कृतिलाई लक्षित गरी चलाइएको उपद्रवको सिकार पोखरास्थित पृथ्वी चोकमा अवस्थित श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ऐतिहासिक शालिकलाई समेत बनाइएको थियो । पृथ्वीको शालिक ढालेर सत्ताकै प्रायोजनमा रातारात लखन थापाको शालिक खडा गरि उक्त स्थानको नामसमेत परिवर्तन गरेर ‘लखन चोक’ राखिएको थियो ।
नेपाल निर्माता पृथ्वीनारायण शाहभन्दा जङ्गबहादुरलाई हटाएर उनको विकल्प बन्ने सपना पूरा गर्न हिँडेका लखन थापा महान् भएको तर्क माओवादी जत्थाको थियो । ज्ञातब्य छ, लखनलाई राति सपनामा आएर देवीले जङ्गबहादुरको हत्या गरि शासनसत्ता लिन भनेको भन्दै लखन थापा जङ्गबहादुरको हत्या गर्न गोर्खादेखि काठमाडौं पुगेका थिए । तर उनी आफै जङ्गबहादुरको सिकार बनेका थिए ।
तिनै लखनलाई प्रथम शहीद घोषणा गर्दै पृथ्वीनारायण शाहको शालिक हटाएर लखनको शालिक राखिएको अहिले डेढ दशक भइसकेको छ । तर उक्त स्थानमा केहीअघि जनता आफैले पृथ्वीनारायणको तस्बिरसहितको लघु स्मारक बनाएर राखिदिएका छन् । सो स्थानलाई लखनचोक भनेर कसैले पनि उच्चारण गर्ने गरेका छैनन् र, हरेक घरमा टाँगिएका साइनबोर्डमा पृथ्वीचोक नै लेखिएको छ ।
अब उपयुक्त समयमा लखनको मूर्ति त्यहाँबाट हटाएर पूर्ववत पृथ्वीनारायणकै शालिक स्थापना गर्ने दिनको प्रतीक्षा स्थानीय बासिन्दाले गरिरहेका छन् । नाम तत्काल सार्वजनिक नगर्ने सर्तमा एक स्थानीय ब्यवशायी एवम् समाजसेवीले घटना र विचारसँग भने- ‘हामी हाम्रो देशप्रति गौरव गर्छौं, नेपाली भएकोमा गौरव गर्छौं, अनि देशको निर्माताप्रति निकृष्ट व्यवहार भएको हेर्न सकिरहेका छैनौँ । उपयुक्त समयमा इतिहास सच्च्याउन हामी कटिबद्ध छौँ ।’
पोखरावासी जनताको यस्तै अठोट र प्रतिबद्धताका कारण सत्ताको बलमा लादिएको नाम र शालिक अस्वीकृत हुन पुगेको छ ।
स्मरणीय छ, पृथ्वीनारायण शाहको शालिक भएकै स्थानबाट काठमाडौं जोडिने सडक प्रारम्भ भएको र, नाम पृथ्वी राजमार्ग राखिएको हो ।
प्रतिक्रिया