नेपाली ब्रसेल्स मिलन केन्द्रद्वारा शुभकामना आदानप्रदान

नेपाली ब्रसेल्स मिलन केन्द्रद्वारा शुभकामना आदानप्रदान


  • सनत आचार्य, बेल्जियम

नयाँ वर्ष २०८० को उपलक्ष्यमा नेपाल-ब्रसेल्स मिलन केन्द्रले आइतबार ब्रसेलमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि बेल्जियमका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारी, विशिष्ठ अतिथि आन्दरलेख्त नगरपालिकाका प्रमुख फाब्रिक कुम्स र केन्द्रका अध्यक्ष भीम सुवेदीले संयूक्त रुपमा पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि राजदूत राजभण्डारीले नयाँ वर्ष २०८० को उपलक्ष्यमा सबैमा राम्रो आशा, विश्वास पलाओस् र अप्ठ्यारो समयलाई सामना गरेर राम्रो काम गर्न सकिने धैर्यता, साहस र अभिप्रेरणा मिलोस् भन्दै आफ्नो र दूतावासको तर्फबाट सबैलाई शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि आन्दरलेख्तका मेयर फाब्रिक कुम्सले आन्दुलेख्त नगरपालिकामा विभिन्न देशका मानिसहरु बसोवास गर्ने भएकोले यो पालिका साँस्कृतिक रुपले अत्यन्त धनी भएको बताउँदै आफू पनि यस्ता कार्यक्रमहरुमा सहभागी हुन पाउँदा गौरवान्वित हुने गरेको भावना व्यक्त गर्नुभयो । मेयर कुम्सले आफू नेपाली समुदायले आयोजना गरेका खेलकुदलगायतका अन्य सामाजिक क्रियाकलापहरुबाट निकै प्रभावित भएको र यस्ता कार्यलाई अझ व्यापकता दिन सुझाव व्यक्त गर्नुभयो ।

गैरआवासीय नेपाली संघ बेल्जियमका उपाध्यक्ष तीर्थ धमलाले नेपाल-ब्रसेल मिलन केन्द्रले सदैव नेपाली समुदायलाई जोडेर अगाडि बढाउने गरेकोमा प्रशंसा गर्नुभयो ।

नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष चिरनकुमार खवासले बेल्जियममा व्यापारिक र सामाजिक द्रिष्टिकोणले नेपाली समुदाय द्रुत गतिमा अगाडि बढेकोमा जानकारी दिदै यो गतिलाई अझ तीव्र रुपमा लग्न सुझाव दिनुभयो ।

कार्यक्रमका सभापति नेपाल मिलन केन्द्रका अध्यक्ष भीम सुवेदीले केन्द्रले स्थापना कालदेखि नै बेल्जियममा विभिन्न चाडपर्व मनाउँदै आएको जानकारी दिँदै बेल्जियममा रहेका प्रवासी नेपालीहरु बीच शुभकामना आदानप्रदान गर्न र नयाँ वर्षलाई भब्य रुपमा स्वागत गर्न आफुहरुले यो कार्यक्रम आयोजना गरेको प्रष्ट्याउनुभयो ।

कार्यक्रममा आन्दरलेख्त नगरपालिकाका इशाबेल आम्री, आमिर नरेन शन्नी र विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने कार्यक्रममा उपस्थित सबैलाई स्वागत केन्द्रका संस्थापक अध्यक्ष पारस गौतमले गर्नुभएको थियो ।

कार्यक्रमको संचालन केन्द्रका महासचिब राम पाण्डे र सदस्य दीपक भण्डारीले गर्नुभएको थियो ।

त्यसैगरी शुभकामना आदानप्रदान कार्यक्रममा गायिका नलिना चित्रकार र रुपक डोटेलले आफ्नो गायन प्रस्तुत गरेका थिए । कलाकारद्वयको गीतमा सहभागीहरु छमछमी नाचेका थिए भने स्थानीय कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए ।