photo: rss
उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले भेरी किनारमा २० वर्षमा आधुनिक शहर निर्माण हुने बताएका छन् । उक्त शहर नयाँ पुस्तालाई कोसेलीका रूपमा हस्तान्तरण गरिने उनको भनाइ छ ।
गुर्भाकोट नगरपालिका सुर्खेतस्थित ‘भेरी गङ्गा उपत्यका नमूनाको आधुनिक शहर परियोजना’ को शुक्रबार उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले भेरी नदी किनारमा सुन्दर बस्ती बसाइने बताए । स्थानीय नागरिकसँगको छलफलपछि मन्त्रिपरिषद्ले गुरुयोजनालाई कानूनका लागि मूर्तरूप दिने उनको भनाइ छ ।
रक्षाका साथै कानून, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहेका नेता खड्काले भेरी गङ्गा उपत्यका नमूना आधुनिक शहरको गुरुयोजना निर्माणको काम अगाडि बढाइएको र सोहीअनुसार तीनै तहका सरकारको आपसी समन्वय र सहकार्य आवश्यक रहेको औँल्याए । सरकारले आर्थिक वर्ष ०६८÷०६९ को नीति तथा कार्यक्रममा आधुनिक शहर निर्माणको घोषणा गरे पनि करिब दश वर्षपछि आयोजनाको कार्यालय स्थापना गरिएको छ ।
शहर निर्माणका लागि स्वदेशी मात्रै नभई विदेशबाट पनि स्रोत जुटाइने र बजेट अभाव भएर आधुनिक शहर निर्माणकार्य नरोकिने आश्वासन उनले दिए ।
भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सहसचिव एकराज अधिकारीले भेरी गङ्गा उपत्यका नमूनाको आधुनिक शहर गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै २० वर्षपछि विसं २१०० भित्रमा आधुनिक शहर निर्माणका काम सम्पन्न हुने बताए भने भेरी गङ्गा उपत्यका नमूनाको आधुनिक शहर कार्यालयका नि. आयोजना प्रमुख रामकृष्ण आचार्यले करिब रु ४० अर्ब बजेटमा उक्त शहर निर्माण हुने बताए ।
प्रतिक्रिया