रुसी आक्रमणमा छब्बीस जना युक्रेनी मारिए

रुसी आक्रमणमा छब्बीस जना युक्रेनी मारिए


रुसी आक्रमणमा परी पाँच जना बालबालिकासहित २६ जनाको मारिएका छन् । युक्रेनमाथि करिब दुई दर्जन क्षेप्यास्त्र प्रहार गरेर रुसले ती गैरसैनिक मारेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

मध्य युक्रेनको ऐतिहासिक शहर उमानको आवासीय क्षेत्रमा रुसले हवाई हमला गरेको हो । भत्केका भवनका भग्नावशेषबाट मृतकका शव निकालिएका हृदयविदारक दृश्य एएफपीका पत्रकारले देखेका थिए ।भग्नावेशषबाट बालबालिकाका शव पनि निकालिएका थिए ।

यो वर्ष शिशिर यामको प्रारम्भमा ऊर्जा र इन्धन प्रवाह गर्ने युक्रेनी पूर्वाधारमा आक्रमण गरेर रुसले जनजीवन कष्टकर पारेको थियो । केही समयका लागि आक्रमण बन्द गरेको रुसले नागरिक संरचना तथा आवासमा पुनः हमला थालेको छ ।

करिब असी हजार बासिन्दा रहेको लुगान्स्कमा पनि आक्रमण भएको छ । पूर्वी लुगान्स्क सहर रुसको नियन्त्रणमा छ । रुसी क्षेप्यास्त्रहरू मध्य सहर डिनिप्रोमा पनि वर्सिएका छन् । एकतीस वर्षीया एक महिला र उनकी दुई वर्षकी छोरी सुतिरहेको अवस्थामा मारिएका अधिकारीहरूले बताएका छन् । गत जनवरीमा उक्त सहरको आवासीय भवनमा भएको क्षेप्यास्त्र आक्रमणमा ४० जनाले ज्यान गुमाएका थिए ।