विनयी त्रिवेणीका दुई वडालाई लुम्बिनी प्रदेशमा समावेश गर्न माग

विनयी त्रिवेणीका दुई वडालाई लुम्बिनी प्रदेशमा समावेश गर्न माग


  • आरपी उपाध्याय, नवलपरासी

पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ को शिवपुरगढीमा आयोजित एक सर्वपक्षीय भेलासहितको अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले त्रिवेणी क्षेत्रमा रहेका वडाहरुमा राज्यले कडा हेपाहा प्रवृत्ति बढाएको आरोप लगाएका छन् ।

उनीहरूले विनयी त्रिवेणीका वडा नं. ६ र ७ का नागरिकलाई राज्यबाट दिइने नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र र जग्गासम्बन्धी कामको लागि जिल्ला मुख्यालय कावासोती धाउनुपर्ने र सो कार्यको लागि दाउन्ने पहाड पार गरेर जानुपर्ने बाध्यताको अन्त्य गरिनुपर्ने धारणा राखेका थिए ।

अन्तरक्रिया कार्यक्रममा आफ्नो भनाइ राख्नेहरुले संविधान संशोधन गरेर भएपनि ती दुई वडालाई लुम्बिनी प्रदेशमा समावेश गर्ने माग राख्दै हालको सुस्ता गाउँपालिकामा त्रिवेणी क्षेत्रमा रहेको २ ओटा वडालाई समावेश गरी त्रिवेणी सुस्ता गाउँपालिका नामाकरण गर्न पनि सुझाव दिए ।

नेपालको संविधानमा नवलपरासी बर्दघाट सुस्ता पुर्व र पश्चिम रहेकोमा विनयी त्रिवेणीको वडा न।६ र ७ लाई पुर्वी नवलपरासीबाट मुक्त गरी पश्चिम नवलपरासीमा समावेश गर्नुपर्ने माग राख्दै हाल देखापरेको कठिनाईको अन्त्य गरी नागरिकलाई न्याय गर्न नेपाल सरकारसंग माग गरिएको थियो ।
त्रिवेणीबाट जिल्ला मुख्यालय कावासोतीमा सेवासुविधा लिन ६५ किलोमिटरको दुरी पार गरी जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न पनि उनीहरूले आफ्नो भनाइ राखे ।

आफ्नो माग पूरा गर्न त्रिवेणीका नागरिकहरु अब चरणबद्ध आन्दोलन गर्ने तयारी पनि गर्दै जाने बताउँदै पहिलो चरणमा वडा कार्यालय र गाउँपालिकामा ध्यानाकर्षणका लागि प्रतिनिधिमण्डल जाने तथा पालिकाको सिफारिस लिइ प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गरिने पनि अन्तरक्रिया कार्यक्रममा बताइएको थियो ।

दुई तिहाईको बहुमत लिइ बनेको वर्तमान सरकारले त्रिवेणी क्षेत्रका नागरिकको पीडा सम्बोधन गर्न पुर्वी नवलपरासी क्षेत्र नं. २ का सांसद मनिष खनाल र पश्चिम नवलपरासी क्षेत्र नं. १ का सांसद विक्रम खनाललाई आफ्नो पीडा सुनिदिन आग्रह गर्ने बताउँदै छिट्टै उल्लेखित सासदहरुसंग प्रत्यक्ष भेटघाटसहित अन्तरक्रिया गर्ने तयारी भइरहेको पनि उनीहरूले जानकारी दिएका छन् ।

सो अवसरमा राज्य र राज्यबाट निर्देशित नियम,कानुन नागरिकको पक्षमा हुनुपर्नेमा त्रिवेणीको जनता सबै तिरबार ठगिएको हुँदा अब ठगिने कार्य सदाको लागि अन्त्य हुनुपर्ने माग पनि अन्तरक्रियामा उठेको थियो ।

आफुहरुको माग सम्बोधन गर्नका लागि विनयी त्रिवेणी वडा नं. ६ र ७ का वडा अध्यक्षसहित छिट्टै एक प्रतिनिधिमण्डल पालिका मुख्यालय दुम्किबास र जिल्ला मुख्यालय कावासोती प्रदेश र संघीय सरकार समक्ष प्रतिनिधि मण्डल जाने तयारी भइरहेको पनि जानकारीमा आएको छ ।

पीडित नागरिकहरु आफ्नो माग पूरा नभए बर्दघाटस्थित पुर्व पश्चिम राजमार्ग बन्द गर्ने तथा काठमाडौंस्थित माइतीघर मण्डलामा अनशन गर्ने जानकारी पनि प्राप्त भएको छ ।

अन्तरक्रिया कार्यक्रममा वडा नं. ६ को वडा अध्यक्ष नुरेन्द्र शाह, वडा नं. ७ का वडा अध्यक्ष उमेश कार्की, नागरिक अगुवाहरु निरन्जन थापा, भेषराज खनाल,प्रकाश कुवर,वीर बहादुर ठकुरी, राजकुमार जैसी,ज्ञान बहादुर,धिरज थापा, दीपक कुवर,शोभा क्षेत्री, गोपाल पाठक, विश्वमर्दन शाहसहित दुई दर्जन व्यक्तिहरुले आफ्नो धारणा सहित सुझाव दिएका थिए ।