संघीय राजधानीसँग जोडिएको धादिङमा सुविधासम्पन्न अस्पतालको अभाव

संघीय राजधानीसँग जोडिएको धादिङमा सुविधासम्पन्न अस्पतालको अभाव


  • विकाश रौनियार, धादिङ

संघीय राजधानीसँग जोडिएको धादिङ जिल्ला भएर दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्छन् । सवारीको चापसँगै दुर्घटनाको संख्या पनि बढिरहेको छ । दुर्घटनाबाट ज्यान गुमाउने संख्या पनि ठूलो छ । तर, यस्तो संवेदनशील स्थानमा सुविधासम्पन्न अस्पतालको व्यवस्था भने अझै हुन सकेको छैन ।

पृथ्वी राजमार्गको धादिङ खण्डमा दिनहुँ दुर्घटना हुने गरेका छन् । सवारीको चाप बढेसँगै दुर्घटना र मृतकको संख्या पनि बढिरहेको छ । जस्तो कि,

आर्थिक वर्ष २०७२–७३ मा ९० सवारी दुर्घटनामा ६१ जनाको मृत्यु
आर्थिक वर्ष २०७३–७४ मा ९८ सवारी दुर्घटनामा ९० जनाको मृत्यु
आर्थिक वर्ष २०७४–७५ मा १५५ दुर्घटनामा ११७ जनाको मृत्यु
आर्थिक वर्ष २०७५–७६ मा १३८ दुर्घटनामा ९३ जनाको मृत्यु
आर्थिक वर्ष २०७६–७७ मा १२५ दुर्घटनामा ५३ जनाको मृत्यु
आर्थिक वर्ष २०७७–७८ मा २५५ दुर्घटनामा ४६ जनाको मृत्यु
आर्थिक वर्ष २०७८–७९ मा २७४ दुर्घटनामा ५३ जनाको मृत्यु
आर्थिक वर्ष २०७९–८० को चैत्र महिना सम्ममा ११४ दुर्घटना हुँदा ३१ जनाको मृत्यु

यसरी, पछिल्लो आठ वर्षको तथ्यांक हेर्दा पृथ्वी राजमार्गको धादिङ खण्डमा पाँच सय ४४ जनाको अकालमा मृत्यु भइसकेको छ । १ हजार २ सयभन्दा बढी घाइते भएका छन् । धादिङको १३ वटै स्थानीय पालिकामा अस्पताल र स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । तर, राजमार्ग लक्षित उपचार सुविधा नहुँदा घाइतेलाई काठमाडौं रेफर गर्ने गरिएको छ ।

अनुभवी र दक्ष चिकित्सकको अभावका कारण यो स्थानमा दुर्घटनामा पर्नेको समयमै उपचार नहुँदा मृत्यु हुने गरेको छ । स्थानीय पनि सामान्य रोगको उपचारका लागि काठमाडौं धाउन बाध्य छन् ।

धादिङमा पोस्टमार्टम गर्ने र शवगृहको व्यवस्था भएका तीनवटा अस्पताल छन्, तर गतिला फ्रिजर छैन, कुनै अस्पतालमा जनशक्तिको अभाव छ ।

राजमार्गमा दुर्घटना न्यूनिकरण र दुर्घटनापछि सुलभ उपचारको प्रबन्ध मिलाउन सरकारले बेलैमै पहल थालिहाल्नु पर्ने स्थानीयको आवाज छ ।