पहिरोमा परेर दुई जनाको मृत्यु

पहिरोमा परेर दुई जनाको मृत्यु


कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका-६ काप्रिखोलामा पहिरो जाँदा पुरिएर दुई जनाको मृत्यु भएको हो ।

आज (२९ असार) दिउँसो १ः३० बजेको सयममा पानी घट्टमा पिठो पिस्न गएका बेला पहिरो जाँदा पुरिएर सान्नीत्रिवेणी–६ धाँमीगाँउका ४६ वर्षीया मन्दिर साउद र ७६ वर्षीया लालबहादुर साउदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घट्ट पिस्न गएका बेला घट्टमा बसिरहेको अबस्थामा माथिबाट आएको पहिरोले पुरिएका दुई जनालाई उद्धार गरिएका दुवैको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हिमबहादुर खत्रीले जानकारी दिए । ‘घटनाका सम्बन्धमा स्थल थप अनुसन्धान गर्न आफूसहितको टोली त्यसतर्फ जाँदैछौँ, घटनास्थल पुगेपछि विस्तृत जानकारी प्राप्त हुनेछ’, उनले भनेका छन् ।

घटना भएको स्थान प्रहरी चौकी मेहलमुडीबाट १० किलोमिटर टाढा रहेको प्रहरीले जनाएको छ । मृतकको शवपरीक्षणका लागि लागि रास्कोट नगरपालिकास्थित गौतुकोट अस्पतालका चिकित्सकको टोली घटनास्थलतर्फ आउँदै गरेका सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले जानकारी दिएका छन् ।

Representative image