पोर्चुगलको समुद्री किनारबाट एक नेपाली बेपत्ता

पोर्चुगलको समुद्री किनारबाट एक नेपाली बेपत्ता


symbolic image

पोर्चुगलको तोरेस भेद्रासस्थित समुद्री किनारबाट एक नेपाली युवा बेपत्ता भएका छन् । समुद्रको छालमा परी अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका-६, खिल्जीका २५ वर्षीय भुपाल दमासे बेपत्ता भएका हुन् ।

बुधबार दिउँसो तोरेस भेद्रासस्थित सान्तारिता समुद्री किनारबाट दमासे एक्कासि बेपत्ता भएको सँगै गएका उनका साथी कुशल सुवेदीले जानकारी दिए ।

‘हामी तीनजना समुद्री किनारमा बस्ने भनेर गएका थियौँ । मैले र अर्को एकजना साथीले बस्ने ठाउँ मिलाउँदै थियौँ । एक्कासि एकजना पोर्चुगिज नागरिकले तिमीहरुको साथी समुद्रको छालमा पऱ्यो भन्दै चिच्याए’, घटना सुनाउँदै सुवेदीले भने, ‘हामीले समुद्रमा हेर्दा भुपाललाई कतै देखेनौँ, किनारमा उसको चप्पल मात्रै देख्यौँ । त्यसपछि उद्धारका लागि तत्काल प्रहरीलाई खबर गऱ्यौँ ।’

दमासेका आफन्त पर्वता पन्थका अनुसार उनी समुद्रमा बेपत्ता भएको विषयमा उनका परिवारलाई जानकारी गराइएको छ । उनको खोजबिन गर्न र घटनाको सत्यतथ्य पत्ता लगाउन लिस्बनस्थित रहेको अवैतनिक नेपाली महावाणिज्य दूतावास र गैरआवासीय नेपाली सङ्घ पोर्चुगललाई आग्रह गरिएको पन्थको भनाइ छ।

बेपत्ता भएका दमासेको समुद्रमा खोजी भइरहेको र हालसम्म नभेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रबिन अधिकारीले जानकारी दिए । दमासे वैदेशिक रोजगारीको सिलसिलामा तीन वर्षअगाडि पोर्चुगल आएका थिए । उनी तोरेस भेद्रासस्थित एक कृषि कम्पनीमा कार्यरत थिए ।