असफलता ढाक्ने अस्वस्थ प्रयास !

असफलता ढाक्ने अस्वस्थ प्रयास !


प्रचण्ड, ओली, देउवा या जो-कोही नेता किन नहुन्, सामन्तवादको विरोध गरेको बहानामा पात्रविशेषप्रति खनिनुको कुनै तुक रहन्न, बरु ‘नवसामन्तीहरू’ भन्ने जुन आक्षेप नेपाली जनताबाट लागेको छ, यो दाग पखाल्ने प्रयत्नमा तत्काल लागिपर्नु अपरिहार्य देखिन्छ ।

प्रदेश १ को कोशी नामाकरण गरिएको विरोधमा देशको पूर्वीक्षेत्र लगातार तातिरहेको छ । कोशी प्रदेश सरकारको नेतृत्व यतिबेला नेकपा (एमाले)ले गरिरहेकोले कोशी नामाकरण भएको मन नपराउने ‘पहिचानवादी’हरू मूलतः एमाले नेतृत्वप्रति आक्रोशित छन् । प्रदेशको नाम पारित गर्दा एमाले, माओवादी, काङ्ग्रेसलगायतका अधिकांश दलको सहमति थियो । तर, यतिबेला सत्ता-गठबन्धन फेरिएको छ र, आफैले पारित गरेको नामविरुद्ध ‘पहिचानवादी’हरूलाई उक्साउन सरकारको नेतृत्व गरिरहेको दल (माओवादी केन्द्र) नै लागिपरेको आरोप छ ।

यस प्रदेशको नामाकरणमा अहम् भूमिका रहेको ठान्दै एमाले अध्यक्ष केपी ओलीमाथि पूर्वका पहिचानवादीहरू खनिएका छन् । पूर्वका विभिन्न स्थानमा उपस्थिति जनाउँदै गर्दा केपी ओलीमाथि भौतिक आक्रमणको प्रयास भएको देखियो । ‘साङ्घातिक आक्रमण’कै प्रयास भएको एमाले पार्टीको आरोप छ । यी सब दृश्यमै आएका घटना-सन्दर्भ हुनाले सरलरूपबाटै बुझ्न सकिन्छ, तर जब केपी ओलीले ‘आफूमाथि राजा ज्ञानेन्द्रको इसारामा राजावादीहरूबाट आक्रमण भएको’ भावमा सार्वजनिक अभिव्यक्ति दिए, उनको यस अभिव्यक्तिले धेरैलाई आश्चर्यचकित र राजसंस्थावादीहरूलाई आक्रोशित तुल्याएको अनुभूति गरिँदै छ ।

दुई-दुई पटक प्रधानमन्त्रीको ओहदामा पुगिसकेका र नेकपा (एमाले) जस्तो दलको अध्यक्ष रहेका केपी ओली पछिल्ला दिन एकाएक राजा ज्ञानेन्द्र, उनको परिवारजन तथा राजसंस्थाका अनुयायीहरूप्रति अस्वाभाविक तवरले प्रस्तुत हुन थालेपछि कतिपय एमालेजनले नै उदेक मानेका छन् । अशिष्टता झल्कने शब्द चयनका साथ राजपरिवारका सदस्यप्रति सार्वजनिक रूपमा खनिएर उनले आफ्नो व्यक्तित्वको उचाइ घटाएको टीकाटिप्पणी हुन थालेको छ । ओलीको अभिव्यक्तिबाट राजपरिवारका सदस्यहरू कति ‘आहत’ बन्न पुगेका छन् भन्ने त निजी सचिवालयले जारी गरेको खण्डन-वक्तव्यबाट पनि बुझ्न सकिन्छ ।

केपी ओलीमाथि आक्रमणको प्रयास गरिनु निःसन्देह भत्सर्नायोग्य सन्दर्भ हो । कुनै पनि नेता, कार्यकर्ता, अभियन्ता वा सार्वजनिक व्यक्ति-व्यक्तित्व एवम् आम नगारिकमाथि अनाहकमा कुनैपनि तहको आक्रमण/दुर्व्यवहार कतैबाट हुनु हुँदैन । सभ्य समाजमा यस्ता हिंसात्मक व्यवहार अपेक्षित र ग्राह्य हुन सक्दैन । त्यसमाथि प्रदेश नामाकरणकै विषयलाई लिएर कुनै एक दलको एक नेतामाथि खनिनु भनेको ‘लोकतन्त्र’कै धज्जी उड्नु/उडाउनु हो । अल्पमतको कदर गर्दै बहुमतले शासन गर्ने प्रणाली प्रजातन्त्र हो भनिन्छ । यसर्थमा बहुमतले तय गरेको नामाकरणको विषयलाई फगत एमाले या ओलीको टाउकोमा थोपर्न खोज्नु मनासिव हुन सक्दैन । असन्तुष्टि प्रकट गर्न पाइन्छ र, संविधानतः दुई तिहाई बहुमतबाट नाम परिवर्तन गर्न सकिने विकल्प पनि खुल्लै छ । व्यक्तिमाथि आक्रमण गरेर व्यवस्थाकै धज्जी उडाउने कर्म समूहविशेषले जो गरेको छ र, शान्तिसुरक्षाको प्रत्याभूति दिलाउनुको साटो अराजक तत्वलाई मलजल गर्ने जुन कार्य सरकारको नेतृत्व गरेकै पक्षबाट भएको प्रतीत हुँदैछ, यो घोर विडम्बनापूर्ण छ ।

यतिमात्र नभइ प्रधानमन्त्री प्रचण्डसमेत राजा ज्ञानेन्द्रप्रति असान्दर्भिक तवरमा खनिन पुगेका छन् । मई दिवसको सन्दर्भमा आयोजित एक कार्यक्रममा मन्तव्य दिने क्रममा राजापरिवारतर्फ सङ्केत गरेर उनले आक्रोश उकेले । ओली र प्रचण्डजस्ता नेताहरूको यो रवैयाले उनीहरू आफ्नो असफलताबाट स्वयम् कति त्रसित बन्न थालेका छन् भन्ने सङ्केत गर्दछ । सबै समस्या निराकरण हुने दाबी गर्दै गणतान्त्रिक व्यवस्था यिनै नेताहरूले लादेका हुन् । नेपथ्यमा जो-जसको साथ या हात रहे पनि नेपालीजनको दृष्टिमा यी नेताहरू नै सङ्घीय गणतान्त्रिक प्रणालीका अगुवा हुन् । तर, गणतन्त्र स्थापना गरेको डेढ-दुई दशक बितिसक्दा पनि यिनले सही रूपमा गणतान्त्रिक शासन व्यवस्था अघि बढाउन सकेनन् । चौतर्फी असफलताका साथ आर्थिक/सामाजिक रूपले देशलाई जर्जर अवस्थामा पुऱ्याउन आजका शीर्ष भनाउँदा यिनै नेताहरूको अहम् भूमिका छ । यसले आमनेपालीमा चरम असन्तुष्टि, आक्रोश र विद्रोहको भाव जागृत भएको छ । यही जनआक्रोशको शिकार बन्ने भय आजका नेताहरूमा पैदा भएको छ । र, आफ्नो असफलताप्रति उठेका जनताको औंलालाई निस्तेज पार्ने असफल चेष्टा गर्दैछन्- नागरिक-जीवन बाँचिरहेका ज्ञानेन्द्र शाह तथा उनको परिवारका सदस्यविरुद्ध वक्तव्यबाजी गरेर ।

तसर्थ, प्रचण्ड, ओली, देउवा या जो-कोही नेता किन नहुन्, सामन्तवादको विरोध गरेको भन्दै पात्रविशेषप्रति खनिनुको कुनै तुक रहन्न, बरु ‘नवसामन्तीहरू’ भन्ने जुन आक्षेप नेपाली जनताबाट आफूहरूमाथि लागेको छ, यो दाग थप गाढा हुन नदिने या पखाल्ने प्रयत्नमा तत्काल लागिपर्नु अपरिहार्य देखिन्छ । दाग पखाल्ने प्रयत्न गर्नु भनेको फगत नेपाल र नेपालीको हितमा कर्मशील रहनु हो । नेपालको धर्म, संस्कृति, सामाजिक मूल्य-मान्यता जोगाउँदै गुम्नै लागेको सार्वभौमिकताको रक्षा गर्नु हो । भ्रष्टाचारको समूल अन्त्य गर्दै सुशासनको स्वाद चखाउनु, समृद्धिको दिशामा मुलुकलाई लम्काउनु नै नेताहरूमाथि लागेको कालो धब्बा मेटाउने सार्थक प्रयास सावित हुनेछ ।