‘मर्न पनि सकेन मान्छे’

‘मर्न पनि सकेन मान्छे’


✍ पुरुषोत्तम ढकाल

आज उप्रान्त बोल्न चाहन्नँ म,
कसैलाई केही भन्न चाहन्नँ म
सत्यको आवाज सुन्ने
मेरो सामर्थ्य सकियो भन्दिनँ म
ज्ञान र ज्ञात छ मलाई,
जीवनपर्यन्त मेरो मनको कुरा
मात्र आफैले आफैलाई सुनिरहेँ
हो, अब म मौनतामा सुन्न चाहन्छु
नसुनिएका असंख्य बोलीहरु
सत्य, निष्ठा र अनुबोधको ध्वनिले
युग गुनगुनाउदा कस्तो होला जगत
म कल्पिन्छु एउटा इन्द्रधनुष
अन्तर्मनको आँगनीबाट अनवरत
उठोस् समाधिको ज्वारभाटा
जीवन र मृत्युको अन्तिम लडाइँमा
टुटेको मनहरु, दवेका आवाजहरु,
मारेर पनि मर्न नसकेका प्रेतात्माहरु,
भोकले भोकाएको मान्छे, रोगले थलिएको बिरामी,
हारेका मनहरु, र एक पेटकै लागि जिउँदै मरेका मान्छेहरु
धर्तीको चारै दिशाबाट ।

हो, मेरो म आत्मबोध गर्न चाहन्छु,
सुन्यसँगको भेटपछि फर्किन्नँ म
त्यो अनन्तको मौनतापछि
म विलय हुन्छु मृत्युको महासागरमा
ब्युझिन्छु झल्याँस्स अँध्यारो र अनिदो रातमा,
‘बोल्नुपर्थ्यो नि मैले मेरो मनको आवाज
यो कस्तो मोह, यो कस्तो देहत्याग’
थियो त त्यो स्वप्निल, तर स्वर्णिम
र गौरवशाली मौनताको अन्तिम संवाद
जिउँदै मरिरहेका तर मजस्तै मान्छेहरुको मन
भट्किरहेको होला कहिँ कतै, यतै कतै
बाँच्नु धेरै छ सम्झेर डराउँछु म,
मेरो भागको अन्तिम याचना
मरेपछि सम्झनेले भनिदिए हुन्थ्यो,
‘केही भन्न खोज्दै थियो, सत्य बोल्न खोज्दै थियो
तर न आफ्नाले बुझे र बाँकी दुनियाँले पनि सुनेन,
बाचुन्जेल हाँस्न पनि सकेन,
कठै !, सास्वत तर मृत्यु पनि मर्न सकेन मान्छे’।।

  • लस-एन्जलस, (संयुक्तराज्य अमेरिका)