प्रवासी नेपाली एकता समाज बेल्जियमको अधिवेशन सम्पन्न

प्रवासी नेपाली एकता समाज बेल्जियमको अधिवेशन सम्पन्न


अनिल थापाको नेतृत्वमा नयाँ कार्य समिति गठन

  • सनत आचार्य, बेल्जियम

प्रवासस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट वैचारिक संगठन ‘प्रवासी नेपाली एकता समाज बेल्जियम’को तश्रो अधिवेशन हालै लुभेनमा सम्पन्न भएको छ ।

अधिवेशनका प्रमुख अतिथि राप्रपाका केन्द्रीय सदस्य, अधिवेशन प्रतिनिधि एवम् विश्व प्रजातान्त्रिक युवा परिषदका उपाध्यक्ष हिक्मतजंग कार्कीले प्रवासमा नेपाली मजदुरहरूको संख्या उल्लेख्य भएको बताउँदै पार्टी र राज्यले त्यसको संरक्षण र सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

उपाध्यक्ष कार्कीले राप्रपाले बहुपहिचानसहितको हिन्दूराज्य र राज संस्थासहितको प्रजातान्त्रिक राज्य व्यवस्था आफूहरुको एजेण्डा भएकोले यो प्राप्तिका लागि सबै क्रियाशील हुनुपर्ने धारणा राख्नुभयो । गत सोमबार आयोजित कार्यक्रममा उहाँले नेपालको राष्ट्रियता बलियो भयो भने नै राष्ट्र, जनता र व्यवस्था बलियो हुने तर्क दिँदै यो प्राप्तिका लागि सबैले पहल गर्नुपर्ने बताउनुभयो ।

अधिवेशनले अनिल थापाको नेतृत्वमा नयाँ कार्य समितिसमेत चयन गरेको छ । जसको उपाध्यक्षमा सचिन के.सी., धनबहादुर गुरुड., सन्तोष सिंह र सञ्जीव लामा रहनुभएको छ । त्यस्तै, महासचिव राजन जोशी र सचिवमा बुद्ध बस्नेत र प्रभात पौडेललाई चयन गरिएको छ भने कोषाध्यक्षको जिम्मेवारी इन्द्रकमल राजभाटलाई दिइएको छ ।

समाजको सदस्यमा तुलसी कँडेल, महेन्द्र सापकोटा, रिम रेग्मी, डिल्ली निउरे, सुरेन्द्र खड्का र सन्तोष पन्तलाई चयन गरिएको छ ।

कार्यक्रममा अतिथिको रुपमा गैरआवासीय नेपाली संघको उपाध्यक्ष तीर्थ धमला, जनप्रगतिशील मञ्च बेल्जियमका अध्यक्ष प्रकाश पौडेल, जनसम्पर्क समिति बेल्जियमका महामन्त्री प्रकाशराज गिरी, जनप्रगतिशील मोर्चाका सल्लाहकार वदन योङहाङ, प्रवासी नेपाली एकता समाजका संस्थापक अध्यक्ष सुरेन्द्रमान अमात्य, लुभेन नगरपालिका सिटी काउन्सिलका सदस्य सूर्य ढकाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

समाजका निवर्तमान अध्यक्ष दीपेन्द्र केसीले नयाँ कार्यसमितिलाई बधाई दिँदै अधिवेशन सौहार्द्धपूर्ण वातावरणमा सम्पन्न गर्न सहयोग गर्ने अतिथिलगायत सबैलाई आभार एवम् धन्यवाद व्यक्त गर्नुभएको थियो ।