किन लखेटिए ओशो जीवनभर ?

किन लखेटिए ओशो जीवनभर ?


ओशो गुरु एउटा विवादित नियति

✍ शेखर ढुङ्गेल

जीवनको यात्रामा अध्ययनको भोक १२ देखि १९ वर्ष उमेरको बीचमा अति लाग्थ्यो त्यसपछि त्यो भोकलाई मारेर दुई दशकभन्दा बढी सांसारिक व्यवहाँरका अन्य भोक मेटाउन थालियो र अब फेरि त्यो अतृप्त भोक मेटाउन दौडिँदै छु ।

स्कुल र कलेजको प्रारम्भिक समयसम्ममा रसियन साहित्य, भारतीय साहित्यका पुस्तक/पत्रिकाहरूको प्रभावशाली बजार थियो । साथै, त्यो समय अर्थात् ४/५ दशकअघि एक चर्चित साहित्यजस्तै बनेको थियो ओशोका ‘प्रवचन पुस्तक’हरू, उनको पुस्तक ‘सेक्स से समाधि तक’ युवा मानसिकतालाई खिच्ने पुस्तक थियो । अति जबर्जस्त विचारक थिए ओशो । ‘कामवासना पाप होइन जीवनको स्रोत हो, कामवासना पाप हुन्थ्यो भने तिमी पनि हुन्थेनौ, बुद्ध कृष्ण राम ब्यास जिजस तुलसीदास महावीर जैन ऋषिमुनि कसरी पापको कारण जन्मन सक्थे ?’- वहाँँ भन्नुहुन्थ्यो । झन् ‘सेक्स गुरु’ नामले चर्चित हुन थालेपछि युवा मस्तिष्कलाई लालायित पार्ने नै भयो वहाँँको पुस्तक पढ्न । मानिस जन्मने नै पापको कारणले हो भन्ने बाइबलको खण्डन वहाँँले यसरी गर्नुभएको थियो ।

नेपालमा केही दिनअघि ओशो महोत्सव मनाइयो । पुराना र नयाँ एलिट अनुहारहरूको बर्चस्व त्यहाँ देख्न पाइयो । महोत्सवमा विवाहित भए पनि एक्लै ‘विकल्प’ अपनाइरहेकाहरूको बाहुल्यता पनि स्पष्ट देख्न सकिन्थ्यो । यसै महोत्सवको समाचारले मलाई चार दशकअगाडि किनेका पुस्तक र आशोसम्बन्धी घटना र वहाँँका प्रवचनहरूको स्मरण गरायो र, यो लेख लेख्न प्रेरित गऱ्यो ।

चन्द्रमोहन जैन अर्थात् आचार्य रजनिस अर्थात् यौनगुरु अर्थात् ओशो, जो विश्वपरिचित हुनुहुन्छ । वहाँँको अनुशरण, समर्थन र आलोचनाको सङ्कलन ठुलो ग्रन्थ बन्छ । अमेरिकादेखि नेपालसम्म चर्चा, विवाद र बहसका पात्र भारतीय नागरिक आचार्य रजनिशलाई ‘ओशोगुरु’ सम्बोधन गरिन्छ । ११ डिसेम्बर १९३९ मा जन्मेका ओशो आफ्नो विलक्षण तार्किक क्षमताको कारण २१ वर्षको उमेरमा नै दुनियाँलाई जीवन कला सिकाउन निस्नुभयो र ‘हिन्दु दार्शनिक’को सम्मानित उचाई प्राप्त गर्न सफल हुनुभएका गुरु ५९ वर्षको उमेरमा स्वयम् विविध कानुनी एवम् अनुयायीहरूकै उल्झनमा परेर अन्तिम दिनसमेत विवादित, रहस्यमयी र पीडादायी अवस्थामा १९ जनवरी १९९० मा पुने मुम्बईको आफ्नै आश्रममा दुनियाँबाट बिदा हुनुभयो ।

वहाँँकै भनाइझैँ ‘प्रत्येक मानिसको जीवन यात्रा जन्मँदै तय भएर आएको हुन्छ’, एकजस्तो अर्को हुन सक्दैन । वहाँँले बुद्धको उदाहरण दिँदै भन्नुभएको थियो- ‘बुद्धपछि उनका अनुयायीहरू विभाजित भए, भ्रष्ट भए, कोही बुद्ध जस्तो बन्न सक्दैनन्, बुद्धको सन्देश प्रवाह गर्ने मात्र हो ।’ त्यस्तै, वहाँँकै अनुयायीहरूको अवस्था र व्यवहाँर अहिले देख्न सकिन्छ ।

वहाँँको विलक्षण विचारोत्तेजक प्रवचन योग ध्यान जीवन जिउने कलाका सुत्रहरू स्वयमको लागि नै अर्थहीन हुन पुग्यो । दर्जनौँ चिकित्सकको घेराभित्र वहाँँको महाप्रस्थान आजसम्म नै विवादित र रहस्यमय बनेको छ । कोही भन्छन् हृदयघात त कोही भन्छन् आवश्यकभन्दा बढी औषधिको मात्रा खुवाइयो जसरी माइकल ज्याक्सनलाई खुवाइएको थियो । वहाँँको प्रस्थान (वहाँ स्वयम् जीवनको मृत्यु स्विकार्नु हुन्न भन्नुहुन्छ, न जन्म हुन्छ न मृत्यु, संसारमा शरीरको रूपमा यात्रा मात्र हो) यसकारणले पनि रहस्यमय भयो कि वहाँका निजी चिकित्सक र नजिकका अनुयायी आफन्त यहाँसम्म कि वहाँको आमासमेतलाई खबर नगरी १५ मिनटभित्रमा घाट लगेर शरीर खरानी भएको एक घण्टापछि मात्र सार्वजनिक गरिएको थियो । वहाँको प्रस्थानलाई थप विवाद वहाँकै पूर्वप्रेमिका र वहाँको रेखदेख गर्ने निजी सहायक यसको ठिक ४१ दिन अगाडि यही आश्रममा शंकास्पद अवस्थामा मरेका वा मारिएका थिए । ओशोको प्रस्थानको बारेमा धेरै प्रश्नहरू उठे र अन्नुतरित नै रहने छ । वहाँ भन्नुहुन्थ्यो- ‘हामी कसैलाई थाहा हुँदैन कहिले मृत्यु हुन्छ ! वहाँ पनि स्वयम् त्यसरी नै अचानक महाप्रस्थान गर्नुभएको खबर दुनियाँले पायो । वहाँ भन्नुहुन्थ्यो. ‘अरुले तिमीलाई त्यस्तो अर्ती-उपदेश प्रवचन सुनाउने गर्छन् त्यो उनिहरूको जीवनमा कहिल्यै पनि काम आएका हुँदैनन् ।’ नभन्दै अन्ततः यो कथन स्वयम् वहाँको जीवनमा पनि लागु भयो ।

अब जाउँ अमेरिकाबाट आशो किन लखेटिए भन्नेतर्फ । ‘नसा सेवन गर, सम्भोगले आनन्द लेउ, नाङ्गै हिँड या जे-जसरी हुन्छ आफ्नो आत्मालाई खुशी राख’ भनी तमाम वैदिक सनातन परम्परा शास्त्रीय नीति, विधि र सामाजिक नैतिक अनुशासनको घेरा तोड्न प्रेरित गर्ने वहाँको नसायुक्त वा जादुगरी प्रवचन वा दर्शनले तनावयुक्त आधुनिक एलिट युवा वर्गलाई आफूप्रति खिच्न ओशो छोटो समयमा नै सफल हुनुभएको थियो । वहाँको भनाइ थियो- ‘बिहान उठ, रोटीको लागि भौँतारिदै दिनभर कुँद, थाकेर घरमा आऊ, बच्चाहरूको माग पूरा गर, श्रीमती या श्रीमानको शारीरिक भोक पूरा गर, फेरि भोलि उठ, उस्तैगरी काममा दौड, यसरी तनाव नै तनावमा कतिन्जेल तिमी अरुलाई खुशी राख्न सक्छौ ? कहिले जीवन बाँच्छौ ? कुनै पनि पुरुषले श्रीमतीलाई र श्रीमतीले पुरुषलाई सधैंभरि यौन सुख दिन सक्दैनन् !’ आधुनिक संसारको तनावयुक्त मानिसहरूलाई हत्या/आत्महत्याको नियतिबाट रोक्न वा दुरुत्साहित हुन रोक्न वहाँको ‘अपराधिक हुनुभन्दा जड हुनु बुद्धिमानी हुन्छ’ भन्ने सन्देश पनि मननयोग्य छ । परम्परागत सामाजिक, धार्मिक मान्यतालाई तोड्दै वहाँले यहाँसम्म भन्नुभएको छ कि ‘श्रीमान्-श्रीमतीले एक अर्काको शारीरिक स्वार्थ पूर्ति गर्न असमर्थको अवस्थामा दुवैले दुवैलाई अरुसँग शारीरिक सम्बन्ध राख्ने स्वतन्त्रता दिनुपर्छ ।’ यसरी भएपनि आफ्नो वैवाहिक सम्झौता र पारिवारिक व्यवहारलाई निरन्तरता देउ भन्ने वहाँको सुझाव छ । सुन्दा असहज तथा विरोधाभास मात्र होइन सत् प्रतिसत गलत लाग्ने नै भयो, तर सांसारिक मनोविज्ञानको गहिराइमा पुगेर मनन गर्ने हो भने वहाँको भनाइमा सत्यता छ । हुन पनि आज समाजमा यौन अतृप्तिकै कारण हत्या/आत्महत्याका र अवैध सम्बन्धहरूको घटनाले विश्वलाई गाँजेकै छ । हाम्रो समाज आफ्नो लागि होइन अर्कोको लागि बाँच्ने मानसिकताले प्रभावित छ, त्यसैले वहाँको यो कथन असहज लाग्छ । आफ्नो लागि बाँच्नेले मात्र अर्कोको बाँच्ने अधिकार र स्वतन्त्रताको सम्मान र रक्षा गर्न सक्छ, त्यसबेला उसले अर्को साथीलाई स्वतन्त्रता दिन्छ । वहाँको यस्तै अद्भुत वैचारिक क्षमताकै कारण कम उमेरमा नै दार्शनिक विचारक व्यक्तित्वको रुपमा संसारमा स्थापित हुनुभयो । तत्कालिन समयको हाम्रो समाजमा वहाँ एक प्रकारको ‘अराजक स्वतन्त्रता’को प्रवर्तक हुनुहुन्थ्यो । आधुनिक विचारधाराका प्रेमिलहरूको लागि वहाँ प्रेरक र सम्मानित हुनुहुन्थ्यो । यौनकुण्ठा (अभाव/अतृप्ति)को कारण हत्या/आत्महत्या जस्ता सामाजिक विकृति न्यूनीकरण गर्न वहाँलाई पछ्याउने समुह बढ्दै गयो ।

भलै वहाँको प्रवचन गीता, बुद्ध दर्शन, सन्त तुलसीदास, महावीर जैन, दिगम्बर जैन, सुकरात आदि आस्था दर्शन विचारकहरूले स्थापित गरेका ब्यवहारहरूको वरिपरि नै किन नहोस्, तर वहाँ हिन्दु धर्म क्रमविरुद्ध अनेकौँ तर्कहरू प्रस्तुत गरेर विवादित हुनु भयो । उदाहरणको लागि वहाँले इश्वर अर्थात् भगवान भनेकै ‘भग’ अर्थात् महिलाको योनी र, ‘वान’ अर्थात् पुरुषको लिङ्ग नै सृष्टिको जड (आधार स्रोत) हो मात्र भन्नुभएको नभइ शिवलिङ्ग नै पुरुष-महिलाको जनेन्द्रिय हो, त्यसलाई ढोग्नु अस्लिलतालाई ढोग्नु हो समेत भन्नुभयो र विवादित हुनुभयो । हिन्दु आस्थावादी वा अनुयायीको विरुद्धमा वहाँ यसरी प्रस्तुत हुनुहुन्थ्यो- ‘हाम्रो तीर्थ मन्दिर मुर्तिहरू पुजाकोठा सबै उपद्रवको जड हो । यी सबै अधर्मका अड्डा हुन् ।’ वहाँको यस आशयको प्रवचनले भारतमा ठुलो विवाद भयो त्यसकै कारण ओशो हिन्दु धर्मगुरुहरूप्रति सधैं आक्रामक रहनुभयो । जसको कारण वहाँ विवादित हुँदै गर्दा १९८० मा मोरारजी देशाई नेतृत्वको सरकारले ओशोलाई आश्रमको विविध गतिविधिमाथि प्रश्न मात्र उठाएको थिएन पाँच मिलियन कर तिर्न आदेश पनि दिएको थियो । यसै समयमा (सन् १९८१) वहाँ अमेरिकाको ओरेगन राज्यस्थित वास्को (वासको) काउन्टीमा पुग्नुभयो र त्यहाँ रजनिशपुरम नामको आश्रम निर्माण गर्नुभयो ।

बिग मुड्डी रेंच एयरपोर्ट नामको निजी विमानस्थलसहितको ‘रजनिश पुरम’ रजनीश आश्रम निर्माणको सुरुदेखि नै स्थानीय नागरिकसँग विवाद भएको थियो । त्यहाँभित्र हुने गतिविधिलाई स्थानीयवासीले रुचाएका थिएनन् । वहाँको रजनीश एयर नामको आफ्नै निजी विमान थियो । रजनीश फाउन्डेसन संस्थाको नाममा रहेको रजनीशपुरम आश्रमको ब्यवस्थापनको जिम्मेवारी सो संस्थाको प्रेसिडेन्ट ‘मा आनन्द शिला’को थियो । ओशो र मा शिलाको अवैध सम्बन्ध थियो भनिन्छ । ओशोले उनलाई विश्वास गर्नु र सबै सम्पतिको जिम्मेवारी दिनुको कारण पनि एकअर्काप्रतिको अगाध प्रेम सम्बन्ध नै थियो । गुजरातमा जन्मेकी शिला अम्बालाल पटेलले आफ्ना पति स्विस नागरिक हर्रिस सिल्भरमासलाई इन्जेक्सन दिइ मारेर पछि रजनीशको अनुयायी बनेकी भनिन्छ ।

ओशोको रजनीशपुरम ध्यानकेन्द्रमा गैरकानुनी (लागुऔषध र हातहतियारको कारोबार) र व्यभिचारपूर्ण गतिविधिको काम हुने आशंकामा वास्को काउन्टीको नागरिक र स्थानीय प्रशासनसँग विवाद चुलिँदै गएको थियो । त्यसैबीच १९८४ मा डलास शहर जहाँ रजनीशपुरम ध्यानकेन्द्रको स्थानीय प्रशासनिक इकाई थियो त्यहाँ स्थानीय निर्वाचन हुँदै थियो । निर्वाचनको क्रममा मतदाता र अधिकारीलाई समेत प्रभाव पार्ने गरी ७५१ जनालाई खानामा विषाक्त पदार्थ मिसाइ खुवाइएको थियो । निर्वाचनमा आफ्नो पक्षको नेतृत्वलाई विजयी गराई आश्रम वा ओशोविरुद्धको अवरोधलाई आफ्नो पक्षमा सहज बनाउने उद्देश्यले त्यो अपराधिक काम भएको थियो । एफबीआईको अनुसन्धानपश्चात यो घटना रजनीशकै निर्देशनमा मुख्य भूमिकामा आनन्द शिलाको हात रहेको प्रमाणित भयो । रजनीशको ध्यान केन्द्रलाई स्थानीयले अवैध गतिविधि हुने भन्दै सुक्ष्मरुपमा निगरानी गरी प्रमाणहरू जुटाइरहेका थिए । यो घटनालाई एफबीआईले FIRST AND BIG BIOTERRORIST ATTACK IN USA HISTORY भनेको थियो । घटनापछि माँ शिला आनन्द (SHEELA BINSITIEL)लाई मास फुड पोइजनिङ (BIOTERROR ATTACK) लगायत ASSULT, ILLIGLE WIRE TAPPING ARSON र IMMIGRATION FRAUD आदि ३४ वटा मुद्धा लगाइयो र रजनीशलाई समेत दोषी ठहऱ्याइयो । माँ शिला आनन्दलाई विभिन्न सजाय गरी ७० वर्षको जेलसजाय तोकिए पनि करिव पाँच वर्षको जेलबसाइ असल आचरण गरेको भनेर जेलबाहिर पे रोलमा छोडियो र पछि ग्रिनकार्ड खारेज गरेर स्विजरल्याण्ड फिर्ता पठाइयो । उता रजनीश भने अमेरिका छोडेर भाग्ने प्रयासमा आफ्नो निजी विमान लिएर हिँडेका थिए । उनलाई नर्थ क्यारोलिना राज्यको चार्लोटे विमानस्थलबाट पक्राउ गरियो । ३५ मुद्धामध्ये दुई मुद्धामा उनी दोषी प्रमाणित भए । १० वर्ष SUSPENDED SENTENCE र ४ लाख डलर जरिवानासहित ५ वर्ष अमेरिका छिर्न नपाउने गरी अमेरिकाबाट निस्कासित गरियो ।

यी विविध कारण मात्र नभइ ओशोलाई अमेरिकाबाट लखेट्नुमा अमेरिकन राज्यसंयन्त्रको दूरदर्शिता पनि हो भन्नेहरू छन् । कारण, वहाँको नसाजस्तै लट्ठ बनाउने विलक्षण प्रवचनले युवा र सम्भ्रान्त परिवारहरूमा लत बढ्दै गएमा अमेरिकाको सामाजिक अवस्थामा नकारात्मक प्रभाव बढ्ने डर थियो । पछि वहाँले अर्को ३०/४० वर्षमा अमेरिका पागलहरूको बस्ती हुने विवादस्पद अभिव्यक्ति पनि दिनुभएको थियो ।

हो, मृत्यु प्राकृतिक, स्वाभाविक र अनिवार्य छ । जन्मदै तय भएको मृत्युको बारेमा चिन्ता गर्नु मुर्खता हुन्छ । तर, मानिस मात्र होइन घरेलु वा जंगली जनावरसमेत आफ्नो समुहको सदस्यले देहत्याग गर्दा दुःख मनाउने, आँशु झार्ने गर्छ । भनिन्छ, रुखरबिरुवा समेतलाई आफन्तको वियोगको असर पर्छ । तर हालै ओशो अनुयायीहरूको एउटा समुहले आर्यघाटमा चितासँगै नाचगान गरेर मानवीय संवेदनहीनता दर्शाइ ओशो विचारको अपमान गरेका छन् ।

भारत फर्कन अनिच्छुक ओशोलाई २१ देशले अनुमति नदिएपछि बाध्य हुनुपरेको थियो । माँ शिला आनन्द केही समय जर्मन बसेर नया पतिसँग स्विजरल्याण्ड फर्किन् । त्यहाँ उनले दुई नर्सिङ होम किनेर ब्यवसाय सुरु गरिन् । उनका नयाँ पतिको एड्सका कारण देहावसान भएको थियो । त्यहाँ पनि विविध गैरकानुनी काम गरेकोले दोषी ठहर गर्दै जेल परिन् । उनको त्यो अपार सम्पतिको स्रोत लागुऔषध र हतियारको ब्यापार थियो भन्नेहरूलाई शिलाको अदृश्य सम्पतिले बल पुऱ्याएको हो ।

अमेरिकाबाट निस्कासित भएपछि ओशो सन् १९८६ को जनवरीमा ३ हप्ता नेपाल बसेर हिमाञ्चलस्थित वहाँको मेडिटेसन केन्द्रमा फर्कनुभयो । वहाँका हज्जारौँ अनुयायीहरूले विमानस्थलमा स्वागत गरेका थिए । कतिपयले वहाँ स्थायी रूपमा नेपालमा बस्ने आशंका व्यक्त गरेका पनि थिए र विवाद उठेको थियो, तर वहाँ नेपालको कुनै ठाउँमा बस्ने आफ्नो योजना नरहेको भन्दै फर्कनुभएको थियो ।

पछि ओरेगनको सरकारले कब्जा गरेको रजनीशपुरम आश्रमको सम्पूर्ण सम्पति १९९९ मा स्थानीय युवा इशाई संस्थालाई दियो । उनै अनेकौँ अपराधमा दोषी पहिलो ‘माँ’ सम्बोधन गर्ने/गराउने महिला शिलालाई पछ्याउँदै नेपाली महिलाहरू पनि आफ्नो नामको अगाडि ‘माँ’ लेख्न प्रेरित छन् । ओशोका रोल्स रोयसलगायत अति महँगा कार थियो । उसैबेला पनि सुनिन्थ्यो उनको टोपीमा जडित हिराको मूल्य १२ करोडको थियो । घडी त्यस्तै २-३ करोडको हिराजडित थियो । निजी विमान र विमानस्थलको सम्पतिको स्रोत लागुऔषध र हतियार नै हो भन्ने गरिन्छ । यथापि, रजनीश भने यो सबै मेरा भक्तहरूले उपहार दिएको भन्ने गर्थे । अनुसन्धन गर्दा उनलाई त्यो महँगो कार घडी टोपी जहाज उपहार दिने कोही भेटिएको छैन । महर्षि विश्वविद्यालय खोल्न, स्वामी विवेकानन्दलाई सम्मान गर्न, विश्वकै ठुलो इस्कोंन मन्दिर निर्माण गर्न, वृन्दावन जस्तो विशाल अध्यात्मिक निर्माण गर्न उदार हुने अमेरिकी राज्य संयन्त्र ओशोप्रति अनुदार हुनुमा वहाँको गैरकानुनी गतिविधि नै थियो भन्न सकिन्छ ।

यो पङ्क्तिकारले स्कुल/कलेजको उमेरमा नै चर्चाको शिखरमा रहनुभएका ओशोको प्रवचन संकलित पुस्तकहरू पढेको हो । अहिले थप प्रवचनहरू श्रब्य (अडियो)मा सुन्दै गर्दा वहाँको जीवनसंघर्षका कथा वहाँकै शब्द सापट लिएर भन्नुपर्दा साँच्चिकै सृष्टिकर्ताले कसैलाई पनि सम्पूर्णतामा जन्म दिएका छैनन् । बुद्धले घर छोडेर हिँड्दा, महाबिर जैनले घर छोडेर हिँड्दा, जिजस बेपत्ता हुँदा धेरैले पागल भनेका थिए ! ओशो भन्नुहुन्छ- एक्लो हिँड, खुशी सुख आनन्द आफैभित्र खोज, बाहिर त तिम्रोमा रहेको उनीहरूको स्वार्थअनुकुल हुँदा झुठो हाइ-हाइ मात्र मिल्ने हो । खुशी/सुख कसैले दिँदैनन्, सबै आफ्नै खुशी र सुखको आशक्तिमा डुबेका हुन्छन्, उनीहरूले तिमीलाई थोडै दिन्छन् ! ओशोकै भनाइ छ कि कसैले दिने उज्यालोको विश्वास नगर, कुनैबेला उसले पिठ्युँ फर्कायो भने तिमी अलपत्र पर्छौ, आफ्नो पुरानो स्थानमा फर्कनसमेत असमर्थ हुन्छौ । तसर्थ एक्लै अँध्यारोमा हिँड, प्रकाशको प्रतीक्षा गर र आफ्नो प्रयास सफल भएकोमा आनन्द लेउ । ओशोका अनुयायीहरू अझै नेपाल भारतलगायत केही देशमा छन् सायद धेरै पुस्तासम्म यो निरन्तरित हुन्छ । नेपालमा पनि एलिट वर्गको बाहुल्यता रहेको ओशो तपोवन ध्यान केन्द्रलगायतले साइबाबा पाइलटबाबाहरूको झैँ शिक्षा स्वास्थ्य गौरक्षा आदिमा आवद्धता देखाएको पाइँदैन । अपवादको रुपमा प्राकृतिक दैवीप्रकोप परेको समयमा पीडितहरूलाई सहयोग प्रदान गरेको छ ।

वहाँका नेपाली अनुयायीहरूको केन्द्र ‘ओशो तपोवन’ विश्वका विभिन्न देशका मानसिक तनावग्रस्त भएर आत्महत्याको सर्वोकृष्ट विकल्प बनेको ओशो मार्ग ध्यानको शिविर हो भनेर बुझ्न गाह्रो पर्दैन । हुन पनि मनोविद्हरूको अनुसन्धान÷अध्ययन भन्दै स्वयम् ओशोले भन्नुभएको छ- ‘आत्महत्याको उच्चतम विकल्पहरूमा लागुऔषध, मदिरापान, धुम्रपान, यौनसमागम र सन्यास वा बैराग्यताको पहुँचमा पुग्नु नै हो ।’ यी विषयहरूले तत्कालको तनाव आवेगको सोचलाई परिवर्तन गरी हत्या/आत्महत्याको सोचलाई सकारात्मक वा निषेध गर्छ । त्यसैले ध्यानकेन्द्रमा मन खोलेर रुने, हाँस्ने, नाच्ने, कराउने, लडिबुडी खेल्दै मनको पीडा ओकल्ने गर्छन् । बाइबल (चर्च)मा झैँ यस्तो भिडमा आफ्नो पीडा व्यक्त गर्दा वा आफूबाट भए/गरेको गल्तीको पश्चाताप गर्दा मनलाई शान्ति मिल्छ भन्ने विश्वास गरिन्छ/हुन्छ । ओशोको प्रवचनमा हिन्दु धार्मिक गुरुहरू झैँ आदर्श वचन वा सुझाव-सल्लाहभन्दा बढी मनोविज्ञान र मानिसको अन्तःष्करण छुने गरी ब्यवहारिक चेतना पाइन्छ । जन्म/जीवन/मृत्युको नस-नससम्म छुने वहाँका तार्किक प्रवचनले मानिस मन्त्रमुग्ध हुन्छन् ।

ओशो भन्नुहुन्छ कि कोही-कसैको श्रीमान्-श्रीमती एकअर्काको विश्वास जित्न असफल हुन्छन् । एकअर्काको मनोभावना बुझ्न असफल हुन्छन् र, एकअर्काको शारीरिक भोक तृप्त पार्न असमर्थ हुन्छन् भने एकले अर्कोलाई स्वतन्त्रता दिएर अपराध (हत्या/आत्महत्या) रोक्न सहायक बन्न सक्छौ । अपराधी हुनुभन्दा जड हुनु प्राकृतिक हुन्छ । एक विलक्षण प्रतिभाका धनी महान् विचारक ‘यौन गुरु’ आखिर स्वयम् सुरुदेखि नै यौन विषयमा नै रुमलिएर रहस्यमय प्रस्थान गर्न पुगे । त्यस्तै, वहाँका अनुयायीहरू पनि केही मानविय सामाजिक परम्पराका विपरीत मृत्यु उत्सव मनाउने गर्छन् वा हालै त्यस्तै एउटा भिडियो जुन आर्यघाटमा देखियो, यो पूर्ण पागलपनको द्योतक थियो । बुद्ध महावीर जिजस शास्त्र स्वयम् ओशोले पनि मृत्यु उत्सव मनाउन भन्नुभएको छैन, न त वहाँले कसैको मृत्यु उत्सव मनाउनुभयो न वहाँकै मृत्यु उत्सव मनाइयो । फेरि यो अचेतन मानसिकता किन ?

हो, मृत्यु प्राकृतिक, स्वाभाविक र अनिवार्य छ । जन्मदै तय भएको मृत्युको बारेमा चिन्ता गर्नु मुर्खता हुन्छ । तर, मानिस मात्र होइन घरेलु वा जंगली जनावरसमेत आफ्नो समुहको सदस्यले देहत्याग गर्दा दुःख मनाउने, आँशु झार्ने गर्छ । भनिन्छ, रुख-बिरुवा समेतलाई आफन्तको वियोगको असर पर्छ । तर हालै ओशो अनुयायीहरूको एउटा समुहले आर्यघाटमा चितासँगै नाचगान गरेर मानवीय संवेदनहीनता अर्थात् ‘मर्नुभन्दा बहुलाउनु जाति’ भन्ने उक्ति चरितार्थ गरेर ओशो विचारको अपमान गरेका छन् । केही ‘एलिट पागल’हरूले ‘आत्महत्याको सर्वोकृष्ट विकल्प बहुलाउनु’ अपनाएको देख्न पाइयो । तर त्यहाँ तीमध्ये कसैको नातेदार, आफन्त, साथी मरेको र जलाइएको थिएन, त्यसैले त्यो पागलपन सम्भव भयो । अन्यथा मानव र अध्यात्म मन कोमल हुन्छ, संवेदनशील हुन्छ, मृत्युमा चिन्ता नगर्न सक्छ तर महोत्सव मनाउन सक्दैन । अनुयायीहरूमा यस्तो पागलपन वा गलत व्याख्या हुँदै जाने सत्य ओशोले स्वयम् भन्नुभएको थियो ।

वहाँको जीवनयात्राका घटना-परिघटना र वहाँका प्रवचनहरूमा गहिरिएर अध्ययन मनन गर्ने हो भने वहाँको जीवनयात्रा वहाँ स्वयम्ले हाम्रो लागि भनेर दिनुभएको प्रवचन ज्ञान शिक्षाको ब्यवहारिक तालमेल भएको छैन । २१ वर्षकै उमेरमा आफ्नो विलक्षण तार्किक क्षमता र सशक्त विचारकको रुपमा हिन्दु दार्शनिक बन्न सफल भए । अंग्रेजी र मनोविज्ञानको शिक्षामा गोल्डमेडलिष्ट रजनिसको जीवन भने सार्वजनिक रूपमा चर्चित हुन थालेदेखि नै कतै करछली कतै लागुऔषध कारोबार, कतै हातहतियार कारोबार, बिनाअनुमति हतियार राख्ने जस्ता गम्भीर असामाजिक अनैतिक अपराधिक गतिविधिमामा प्रत्यक्ष-परोक्ष रूपमा जोडिन पुग्नुभयो र दण्डित हुनुभयो । ओशो गुरुलाई एक दार्शनिकको रूपमा विश्वमा चिनिन्छ तर वहाँले आफूलाई अमेरिकाबाट लखेटिएपछिको कुण्ठा स्वामी विवेकानन्दलगायत हिन्दु आस्थाका विद्वान् ऋषिहरूलाई ‘गुलाम’हरू मात्र भन्नु भएन जिजसलाई समेत मासु/रक्सी खाने झुठा मान्छे भन्नुभएको छ । वहाँले बुद्ध र महावीरको बाहेक बाँकीको चर्को विरोध गर्नुभएको र म नै सत्य हुँ, बाँकी सबै झुठ हुन् भन्ने वहाँको मानसिकता देखिन्छ । यसले मनोवैज्ञानिकहरूले भन्ने गरेको हरेक दार्शनिक एक प्रकारको पागलपनको परिणति हो भन्ने कथन वहाँमाथि पुष्टि हुन्छ ।

अर्को सोचनीय त के भने वहाँ आफ्नो प्रवचनमा भन्नुहुन्थ्यो कि तिमीलाई कुनै विषयमा निर्णय गर्न द्विविधा भए तिम्रो इच्छा र विवेकलाई अगाडि राख्नु अनि विवेकले जे भन्छ त्यही गर्नु ! वहाँ जिउँदो हुनुहुँदो हो त सोध्ने थिएँ कि गुरु हजुरसँग जोडिएका यी तमाम विवादित र दण्डनीय भएका विषय गुरुको विवेकको आदेशमा भएको हो ?

अनि फेरि घोत्लिन्छु- वहाँको अर्को सन्देश वहाँले अन्य धर्मगुरु सन्त-महन्त अध्यात्मिक वाचकहरूलाई लक्षित गरी भन्नुभएको थियो कि ती गुरुहरूले तिमीहरूलाई त्यही ज्ञान वा शिक्षा दिनेछन् जुन स्वयम् उनीहरूको जीवनमा काम लाग्न सकेको हुँदैन । फेरि सोध्ने थिएँ कि गुरु अनि हजुरले दिनुभएको शिक्षा हजुरकै जीवनमा लागु भयो त ? वा, यी विवादित कर्महरूलाई नै आनन्दको मार्ग ठान्नुभयो ? ओशो गुरुको जीवनयात्रामा जोडिएका विवादित र कानुनले दोषी ठहऱ्याएका कर्महरू र वहाँको प्रवचनमा व्यक्त सन्देशमा डुबुल्की मार्ने हो भने वहाँको विचारको वा दर्शनको सार ‘जे जस्तो अवस्था आइपर्छ जसरी पनि बाँच तर हत्या/आत्महत्या नगर’ र बाँच्नु नै ठुलो कुरो हो जड भएर बाँच पागल भएर बाँच तर बाँच भन्ने बुझ्न गाह्रो छैन । अध्यात्मिक धार्मिक मानविय सेवाको विवेकभन्दा ‘जड जीवन’ विकल्प हो भन्ने बुझ्न कठिन छैन । ईश्वरीय प्राकृतिक सांस्कृतिक सामाजिक नैतिक मुल्य र मान्यताविरुद्धका वहाँको सशक्त तर्कहरू ब्यवहारिक र सांसारिक छैनन् । वहाँकै सन्देश ‘धर्मगुरुहरूले तिमीहरूलाई मुर्ख बनाउने छन्’लाई सापट लिएर सोध्नुपर्ने हुन्छ- गुरु ! हजुरले पनि कहाँ छोड्नुभयो र मुर्ख बनाउन ? र, हजुरका अनुयायीहरू ‘मृत्यु महोत्सव’ गर्छन्, अब के सोच्नु ? हजुरका अनुयायीहरूको यो कर्म मुर्खता हो कि पागलपन ?