मार्क्सेली चिन्तन बिर्सेर कम्युनिष्टहरू सिंहदरबारतिर !

मार्क्सेली चिन्तन बिर्सेर कम्युनिष्टहरू सिंहदरबारतिर !


वास्तवमा समकालिन समाजका जडताका कारणहरूलाई छिचोल्ने आशाका विपरीत नेपालका कम्युनिष्टहरू आधारभूत मार्क्सली चिन्तनलाई पूरै बिर्सेर सिंहदरबारतिर लागिसकेको छ । त्यसैले वैचारिक आधारमा मार्क्सवाद पनि नेपाल छोडी हिँडेको छ ।
✍ जेपी आनन्द

विश्वप्रसिद्ध पत्रिका ‘न्यूजविक’ले वि.सं. २०४८, जेठ १३ को अन्तर्वार्ता स्तम्भमा नेकपा एमालेका महासचिव मदन भण्डारीलाई रोजेको थियो । पत्रिकाको अन्तिम पृष्ठमा हरेक सप्ताह विश्वका चर्चित तथा चर्चाका पात्रहरूको अन्तर्वार्ता लिइने क्रममा जानेबुझेसम्म नेपालबाट पहिलो पटक कुनै व्यक्ति रोजाइमा परेको हुनुपर्छ । ‘इन नेपाल कार्ल मार्क्स लिभ्स’ शीर्षकमा प्रकाशित त्यस साक्षात्कार पछि एमालेका नेता कार्यकर्ताहरूलाई मदन भण्डारीको कार्ल मार्क्ससँग नै तुलना गर्ने अवसर मिलेको थियो । खुब प्रचार गरियो ।

सन् ९० को दशक, सोवियत रूस, पूर्वी युरोप तथा विश्वका अन्य कतिपय भागबाट साम्यवादी शासनको लगभग श्रृङ्खलावद्ध परित्यागको दशक थियो । चीनमा साम्यवादी शासन रहेपनि सुधारको जोडले तियानमेन स्क्वाइरमा ठूलो घटना भएको थियो । चिनियाँ कम्युनिष्ट पार्टीले ठूलो चुनौतीहरूको सामना गरिरहेको थियो । भारतमा कम्युनिष्टहरूले चुनाव जितेर केही प्रदेशहरूमा सरकार बनाउन सफल भएका थिए, जुन लहर सन् ९० को दशकमा आएर ओरालो लाग्न थालेको थियो । यसरी पोलेण्डमा प्रजातन्त्र, सोवियत संघको विघटन, अफगानिस्तानबाट रूसको वापसी, चीन र दक्षिणपूर्वी मुलुकहरूमा साम्यवादी शासनमा देखिएका चुनौतीलाई पश्चिमा बौद्धिकहरूले ९० दशकको नव जागरणको रूपमा हेरेका थिए । ‘पेरेस्त्रोइका’ र ‘ग्लास्नोस्त’ जस्ता शब्दहरू संसदीय प्रजातन्त्रको चाहनाका पर्याय जस्तो भएको थियो ।

ठिक यही बेला नेपालमा दुईवटा ध्यानमा राख्नुपर्ने घटनाहरू देखियो । पहिलो, दुई शताब्दीदेखि कसिलो सामन्ति शासनको रूपमा रहेको नेपाली राजतन्त्रको गाठो हलुको भएको थियो । पञ्चायती व्यवस्था समाप्त भएर मुलुक संवैधानिक राजतन्त्रको दिशामा अगाडि बढेको थियो । उदार प्रजातन्त्रको दिशामा । दोस्रो, पहिलोको ठिक विपरीत नेपालमा कम्युनिष्टहरू बलियो भएर आएको देखियो । संसारमा सबैतिर कम्युनिष्टहरू सकिन लागेको बेला यहाँ भने कम्युनिष्टहरूको यसरी विकसित भएको रूपले नेपाली समाजको सोचका बारेमा पश्चिमा जगतमा एक प्रकारको कौतुहलता जगाएको थियो- संसारभर कम्युनिष्टहरू ओरालो लागेको बेला नेपालमा कम्युनिष्टहरूको अभ्युदयको कारण जान्नु कौतुहलता भएको थियो । पश्चिमाहरूको यही कौतुहलताले न्युजवुकलाई मदन भण्डारीकहाँ पुऱ्याएको धेरैको विचार देखिएको थियो । यसो सोच्नेहरू नै शायद ठिक धारमा थिए ।

कम्युनिष्टहरू खुशी थिए, मदन भण्डारीको रूपमा मार्क्सको नेपालमा अवतरण भयो भनेर । वि.सं. २०४८ ताका नेपाली राजनीतिक परिदृश्यमा कम्युनिष्ट प्रादुर्भावका बारेमा मेरो छुट्टै राय छ । यद्यपि, त्यसबारे यहाँ चर्चा गर्नु जरूरी छैन । कुरो नेपालमा मार्क्सको अवतरणको हो । यहीँनेर नेपाली कम्युनिष्टहरूले दिग्भ्रमितपन देखाए । मदन भण्डारीलाई मार्क्सको रूपमा अतिरञ्जनासहितको प्रचार गरिरहेका कम्युनिष्टहरूले मार्क्सले परिकल्पना गरेका चिन्तनहरूलाई यसपछि एक एक गरी छोड्दै गए । जसरी भएपनि यहाँ साम्यवादीहरू तङ्ग्रिएर आउनुलाई सकारात्मक नै मान्नु पर्दछ । तर, कम्युनिष्टहरूका लागि साम्यवादका वैचारिक अवधारणाहरूलाई छोड्दै सत्ता निरन्तरताका रणनीति मुख्य कार्यभार बनाएको देखियो ।

यस दुई दशकमा नेपाली कम्युनिष्टहरूले पुँजीवादी विकासको मोडेललाइ अपनाए । अंकल शा’म तिर ललायित भए । मार्क्सवादका एक मुख्य आधारभूत तर्क ‘वर्ग’को साटो ‘पहिचान’लाई पछ्याउँदै गए । आज यिनीहरू कहीँकतै मार्क्सवादका आधारभूत मान्यता ‘वर्ग’लाई समाज विश्लेषणको विषय बस्तु बनाएको देखिँदैन ।

हालैको एक उदाहरण लिऊँ । प्रदेश १ को नयाँ नामाकरण ‘कोशी’ भएको छ । नेकपा एमालेले यसमा वर्गीय चिन्तनलाई प्रमुखता दिएन, पूरै प्रदेश १ मा कम्युनिष्टहरूका लागि संगठन तथा वर्गीय ऐक्यवद्धताको करिडोर हुन सक्ने ‘वर्ग’को चिन्तन अहिले ‘पहिचान’को हठमा ठोक्किएको छ । के यो सत्य होइन कि आजका नेपाली कम्युनिष्टहरू ‘मानव जातिको इतिहासको अध्ययन’ भन्दा ‘जातीय संस्कृति’लाई सर्वाधिक महत्व दिइरहेका छन् । खस-आर्य संस्कृतिको जगेर्ना माक्र्सेली चिन्तन भन्दा भिन्न अहिले कम्युनिष्टहरूको आधार भएको छ । ‘सार्वभौम मूल्यहरू’को सम्वर्द्धन भन्दा पनि नेपाली कम्युनिष्टहरू ‘विभेद’को रणनीतिमा भोटको राजनीति खेल्दैछ । वास्तवमा समकालिन समाजका जडताका कारणहरूलाई छिचोल्ने आशाका विपरीत नेपालका कम्युनिष्टहरू आधारभूत मार्क्सली चिन्तनलाई पूरै बिर्सेर सिंहदरबारतिर लागिसकेको छ । त्यसैले वैचारिक आधारमा मार्क्सवाद पनि नेपाल छोडी हिँडेको छ ।