भूटानी शरणार्थीको सवाल र महेन्द्रीय दृष्टिकोण

भूटानी शरणार्थीको सवाल र महेन्द्रीय दृष्टिकोण


०६२/६३ को आन्दोलनबाट लोकतान्त्रिक परिपाटी स्थापित भए पनि नेपालीहरूमा रहेको परम्परागत राष्ट्रिय भाव- ‘प्याट्रियोटिज्म’ भने पूरै स्खलित हुँदै गएको छ । ससम्मान नागरिक भएर बाँच्नुभन्दा शरणार्थी भएर विदेशिनु नेपाली जनताको प्राथमिकता बन्दै गएको छ । राजा महेन्द्रका पालामा ससम्मान नेपाल आउन रोज्ने नेपालीहरू ‘नेताजी’हरूका पालामा भने नेपाल छोड्न उद्यत् छन् । आखिर किन, के यो देश अवसानउन्मुख हो त अब ?
✍ उज्वल उत्सर्ग

राणा शासन पतन भएको पनि त्रिहतर वर्ष भइसकेको छ, अर्थात् सात दशक । सात दशक लामो कम्युनिष्ट शासनमा सोभियत संघले योजनावद्ध विकासको अवधारणा ल्याएर विश्वलाई चकित तुल्याइदिएको थियो । करिव त्यति नै समयावधिदेखि शासन गरिरहेका चिनिया कम्युनिष्टहरूले मुलुकको कायापलट नै गरि दिएका छन । सोही समयावधिदेखि लोकतान्त्रिक परिपाटीमा चल्दै आएको भारत पनि राजनीतिकरूपमा स्थिर छ । दुर्भाग्य भन्नुपर्छ, नेपालचाहिँ यो समयावधिमा केवल राजनीतिक प्रयोगशाला बनेको छ । यो सात दशकमा करिव आधा दर्जन संविधान, करिव तीन दर्जन प्रधानमन्त्रीहरू र अनेकौँ शासन व्यवस्था नेपालले भोगेको छ । ती मुलुकहरूको तुलनामा नेपालको हैसियत, निर्णायकत्व र वैभव झन्-झन् कमजोर हुँदै गएको छ । भुटानी शरणार्थी प्रकरणले त झन् नेपालको अन्तर्राष्ट्रिय छवि पूरै धुलिसात भएको छ । यस घटनाले नेपाली जनता, यहाँका राजनीतिक एवम् प्रशासनिक संयन्त्रलाई हेर्ने वैश्विक दृष्टि पूरै नकारात्मक हुने निश्चित छ ।

शरणार्थी बनाइ आफ्नै नागरिकहरूको सौदा गर्ने नेपाली नेताहरूको घिनौना हर्कतको आलोचना जति गरे पनि कमै हुन्छ । अपारदर्शिता, भ्रष्टाचार र बेथितिबाट मुलुकको कान्तिक्षय गराएर लोकतन्त्रको खोलमा आफ्नो कर्तुतहरूको ढाकछोप गर्ने यी छद्मभेषी नेताहरू भन्दा त अलोकतान्त्रिक ट्याग लागेका राजा महेन्द्रकै सम्मान उच्च हुँदै गएको चर्चा हुन थालेको छ । प्रसङ्ग हो– नेपाली मुलका प्रवासी शरणार्थीहरूलाई राजा महेन्द्रले गराएको ससम्मान पुनःस्थापनाको ।

सन् १९१४ मा भएको प्रथम विश्वयुद्धमा नेपालका तत्कालीन प्रधानमन्त्री चन्द्र शम्शेरले लाखौँको संख्यामा नेपालीहरूलाई ब्रिटिश गोर्खा सेनामा भर्ना गराइ ब्रिटेनको खुलेरै पक्षपोषण गरेका थिए । उक्त सेनाहरूले जापानविरुद्ध बर्मामा विजय हासिल गरेपश्चात् बर्मामा नै स्थायीरूपमा बस्न थाले । यसप्रकार नेपालीहरूको प्रवासन बर्मासम्म पुगेको थियोे । तर सन् १९६० को दशकमा जनरल उ ने विन्सले बर्मामा सैनिक सत्ता स्थापना गरेपछि तहाबाट गैरबर्मिज निष्कासनको अभियान शुरु भयो र, यसको शिकार नेपाली मुलका बर्मेलीहरू पनि हुन पूगेका थिए । बर्मा छाडी उत्तरपूर्वी इण्डियाको कष्टकर पहाडी भू-भागमा भट्किरहेका नेपालीहरूको ब्यथा साँच्चै नै हृदयविदारक थियो भनि केही बर्मेली शरणार्थी बताउने गर्दछन् । यही मौकामा नेपालका राजा महेन्द्रको बर्माको राजकीय भ्रमण भएको थियो । उक्त भ्रमणमा राजाले बर्मामा बसोबास गरिहेका नेपालीहरूसँग पनि औपचारिक भलाकुसारी गरेका थिए । उक्त भेटमा बर्मा छोड्न विवश नेपालीहरूको अवस्था एकदमै जटिल भएको जानकारी उनले पाए । नेपालीहरूको मात्र नभइ विश्वभरि छरिएर रहेका समस्त नेपाली मूलका मानिसहरूका संरक्षक हुने सुविचारले राजा महेन्द्रले उनीहरूको ससम्मान नेपालफिर्ती एवम् पुनःस्थापनाको राष्ट्रिय अभिभारा उठाए । त्यसताका इजरायल पनि भर्खर–भर्खर स्वतन्त्र राष्ट्र घोषित भएको थियो । उक्त राष्ट्रले पनि संसारभरि छरिएर रहेका यहुदी मूलका मानिसहरूलाई ससम्मान इजरायलमा पुनःस्थापना गराएको थियो । आज तिनै यहुदीहरूमा प्रखर इजरायली राष्ट्रवाद छ । उनिहरूको यही देशभक्तिपूर्ण भावले शत्रुराष्ट्रहरूको माझ रहेर पनि इजरायलले आफ्नो सीमा रक्षा गर्न सकेको छ ।

नेपालमा पनि राजा महेन्द्रले बसोबास गराएका तिनै बर्मेली नेपालीहरूले देशको सिमा जोगाएका केही घटना नसुनिएका होइनन् । विराटनगरको रानी, नवलपरासीको सुस्ता, भैरहवा सुनौल तथा कञ्चनपर जिल्ला जस्ता कैयौँ सिमावर्ती क्षेत्रहरूमा रहेका उनीहरूले बिनाबर्दीको सेना भएर देशको सिमा रक्षा गरिरहेका घटनाहरू सुन्दा राजा महेन्द्रको दूरदर्शितालाई दिलदेखि सम्मान गर्न मन लाग्छ । जागिरको सिलसिलामा यो स्तम्भकारको बसाइ केही समयका लागि नेपालको पूर्वी क्षेत्र विराटनगरमा भएको थियो । उक्त शहरमा बसोबास गरिरहेका केही स्थानीयहरूको भनाइमा कुनै बेला कुनै राजनीतिक आन्दोलनको नाममा भइरहेको पराइहरूको अतिक्रमणलाई यिनै बर्मेली नेपालीहरूले कडा प्रतिरोध गरेका थिए । केही वर्षअघि मात्र नेपाली सिमा अतिक्रमण रक्षार्थ कञ्चनपुरवासी गोविन्द गौतमले बलिदानी दिनुपरेको थियो । पञ्चायतकालमा डा. हर्क गुरुङको जनसांख्यिक प्रतिवेदनले नेपालको खुला सिमामा बढ्दो गैरनेपालीहरूको उपस्थितिले जुनसकै बेला पनि अराष्ट्रिय गतिविधिहरू हुन सक्छ भनी आँकलन गरेको थियो । यही सम्भावनालाई मध्यनजर गरी राजा महेन्द्रले सिमाक्षेत्रमा नेपालीभाषीहरूलाई बसोबास गराउने र गैरनेपालीहरूको जनसंख्यालाई नियन्त्रण गर्ने उद्देश्यले पहिलो पटक नेपाल नागरिकता अध्यादेश २०२० जारी गराएका थिए ।

१९औँ शताब्दीदेखि नेपालीहरूको प्रवासन उत्तरपूर्वी भारतको सिक्किम, असम, मेघालय, भुटानदेखि म्यानमारसम्म पैmलिएको मानिन्छ । भारतको नागाल्याण्ड, असम र मेघालयमा जातिय द्वन्द्वबाट पीडित कतिपय नेपालीहरू गुपचुपरूपमा नेपाल आइ नेपालमै पुनः बसोबास गरिरहेको पाइन्छ । तर भुटान राज्यबाटै खेदिएका नेपालीहरूलाई नेपालमै पुनर्वास गर्न किन सकिएन भन्ने कुरा महत्वपूर्ण छ । यसको गहिरो अध्ययन गर्दै जाँदा सिक्किमको भारतमा भएको विलयसम्म पुग्नुपर्छ । सिक्किममा सन् १९७५ मा भएको लोकतान्त्रिक राजनीतिक गतिविधिहरूले बिधीवतरूपमा सिक्किमलाई भारतमा विलय गराएको थियो । भलै यसको नेतृत्व सिक्किम मूलका नेता काजी लेण्डुप दोर्जीले गरेका थिए, यसमा नेपाली मूलका सिक्किमेलीहरूको योगदान पनि उल्ल्ोख्य रहेको थियो ।

सन् १९९० को दशकमा नेपालमा पनि जनआन्दोलनमार्फत बहुदलिय व्यवस्था घोषणा गर्न नेपालको राजतन्त्र बाध्य हुन पूग्यो । र, सोही दशकमा दक्षिण भुटानमा रहेका नेपाली भुटानीहरूले पनि लोकतान्त्रिक आन्दोलनको शंखनाद गरे । नेपालीहरूका कारण राजनीतिक परिवर्तनपश्चात जसरी सिक्किम देशको अस्तित्व मेटियो ठिक त्यसैगरी नेपालीहरूकै कारण भुटानको पनि अस्तित्व मेटिने त होइन भन्ने एउटा संशय तत्कालिन भुटानी राजा जिग्मेसिग्मे वाङचुकलाई पर्न गयो । त्यसपछि उनिले नेपालीहरूको जातीय सफाइ अर्थात् ‘इथनिक क्लिन्जिङ्क’ गर्न शुरु गरे । भारतको आडभरोसामा राजा जिग्मेले भुटानी नेपालीहरूलाई घिसारेर नेपालको सिमामा पु¥याइ बिचल्ली अवस्थामा छाडिदिए । भारतले उक्त तमासा हेरिरह्यो भने भूराजनीतिका कारण नेपाल चुपचाप बस्न विवश भयो । यसप्रकार लोकतन्त्रको तृष्णाले भुटानी-नेपालीहरूको उठिबास भयो ।

हाम्रो नेपाली समाजमा घरमा दुःख पाएकी छोरीलाई माइतीपक्षले व्यवस्थापन गरी माइतमै पाल्ने चलन छ । ठिक त्यसैगरी दुःख पाएका बर्मेली नेपालीहरूलाई राजा महेन्द्रले नेपालमै व्यवस्थापन गरिदिएका थिए । तर विडम्बना भन्नुपर्छ कि लोकतन्त्रका लागि दुःख पाएका भुटानी-नेपालीहरूलाई नेपालको कुनै पनि लोकतान्त्रिक सरकारले नेपालमै व्यवस्थापन गर्न सकेन ।

सन् २०११ ताकाको कुरा हो क्यानाडाको भ्यानकुवर भन्ने शहरमा यो स्तम्भकारको भेटघाट एक जना नेपाली मूलका भुटानी शरणर्थीसँग भएको थियो । सुवेदी थरका उक्त वृद्ध शरणार्थीसँग भएको कुराकानीबाट थाहा भयो कि उनिहरूको पहिलो रोजाइ आफ्नै मुलुक भुटान फर्किनु नै थियो । तर भारत र राजा जिग्मेका अगाडि नेपालको जोड नचल्ने भएकोले भुटान फर्किन तत्काल सम्भव नरहेको हुँदा आफ्नै पुर्ख्यौली मुलुक नेपालमा नै अन्ततः बसोबास हुने उनीहरूको अपेक्षा रहेको थियो । उनी भन्दै थिए राजा महेन्द्रले बर्माबाट खेदिएका नेपालीहरूलाई नेपालमै बसोबास गराएको सुनेका थियौँ । श्सायद हाम्रो पनि बसोबास अब नेपालमै हुने होला भनि अपेक्षारत थियौँ । तर न भुटान स्वदेपिर्ती भयो न त पुर्ख्यौली मुलुक नेपालमा नै पुनःस्थापना भयो । यसको ठिक विपरीत बडो अनपेक्षित तवरले अमेरिका क्यानाडा लगायत तेश्रो मुलुकमा हाम्रो व्यवस्थापन भयो भनी नेपाल सरकारको निरीहता र राजा महेन्द्रको तारिफमै उनिले घण्टौ खर्चिएका थिए । यसबाट सहजै अनुमान गर्न सकिन्छ कि नेपाल र नेपालीका संरक्षक उनै सामन्ती राजाहरू पो रहेछन् ! उनकै पालामा बरु नेपालीहरूले असल अभिभावकत्व र भरपर्दो संरक्षकत्व पाएका रहेछन् । कास ! महेन्द्र अहिले हुने थिए भने मुलुकले थप केही सिमारक्षक पाउँथ्यो होला । भारतीय बौद्धिक व्यक्तित्व एवम् वरिष्ठ कुटनीतिज्ञ महेन्द्र पी लामाले समेत नेपाली शासकहरूमा राजा महेन्द्रको देशभक्ति भाव, दूरदर्शिता र कुटनीतिको खुलेरै प्रशंसा गरेको छन् । उनको तुलना वर्तमानका यी शासकहरूसँग गर्नै नसकिने भाव झल्किन्थ्यो लामाको भनाइबाट । हो पनि ‘कहाँ राजा रामचन्द्र कहाँ गंगू तेली’ !

भुटानको वाङचुक राजपरिवार भन्दा पनि पुराना मानिएका नेपाली मुूलका भुटानीहरूलाई स्वदेशफिर्ती ‘रिप्याट्रिएशन’ गराउन नसक्नुमा नेपालको लोकतान्त्रिक शासन व्यवस्थाको निरीह कुटनीति भन्न सकिन्थ्यो । तर अहिले पर्दाफास भएको नक्कली भुटानी शरणार्थी ‘स्क्याम’ भने नेपालका राजनीतिजीवीहरूको सरासर बदमासी हो भनि प्रष्ट भएको छ । भुटानीहरूको उचित व्यवस्थापन हुन नसक्नु केवल कुटनीतिक कमजोरी नभएर नेताहरूकै नियतपूर्ण कमजोरी थियो भनि अब ठोकुवा गर्न सकिन्छ । ०६२/६३ को आन्दोलनबाट लोकतान्त्रिक परिपाटी स्थापित भए पनि नेपालीहरूमा रहेको परम्परागत राष्ट्रिय भाव- ‘प्याट्रियोटिज्म’ भने पूरै स्खलित हुँदै गएको छ । ससम्मान नागरिक भएर बाँच्नुभन्दा शरणार्थी भएर विदेशिनु नेपाली जनताको प्राथमिकता बन्दै गएको छ । राजा महेन्द्रका पालामा ससम्मान नेपाल आउन रोज्ने नेपालीहरू ‘नेताजी’हरूका पालामा भने नेपाल छोड्न उद्यत् छन् । आखिर किन, के यो देश अवसानउन्मुख हो त अब ? प्रश्न बडो गम्भीर छ । जय नेपाल ! जय राष्ट्रवाद !!