एमाले नेता टोपबहादुर रायमाझी बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ

एमाले नेता टोपबहादुर रायमाझी बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ


नक्कली भूटानी शरणार्थी प्रकरणमा परेर फरार रहेका नेकपा (एमाले)का सचिव तथा सांसद टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ रायमाझीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् । “हाम्रो टोलीले उहाँलाई बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिसकेको छ”, उनले भनेका छन् ।

रायमाझीविरुद्ध जिल्ला अदालत काठमाडौंले यही वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएदेखि नै उनी फरार रहेका थिए ।

सोही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने यही वैशाख २० गते नै पक्राउ गरेको थियो ।