प्रहरी मेरो साथी – १

प्रहरी मेरो साथी – १


माइक्रो क्यामरामार्फत सबै रेकर्ड गराइ सार्वजनिक गराउने मेरो प्रयास सफल हुन सकेन । अन्यथा अहिले नक्कली भुटानी शरणार्थी मामलामा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिवको पर्दाफास पहिल्यै हुने थियो ।
✍ सागर सुवेदी

शीर्षक देखेर पाठकहरूको मनमा नेपाल प्रहरीले जनतासँग प्रहरीलाई घुलमिल गराउने हेतुले ल्याएको कार्यक्रम लाग्न सक्छ, तर मैले लेख्न खोजेको चाहिँ प्रहरी मेरो साथी, अर्थात् पङ्क्तिकारको साथी !

नेपाल प्रहरीका प्रहरी निरीक्षक (पछि महानिरीक्षक) अच्युतकृष्ण खरेलको नाम सुन्दै हुर्कंदा प्रहरी सङ्गठनप्रति मेरो साह्रै आकर्षण थियो । यसको बर्दी अनि काँधमा चम्केका फुली मेरा सपना थिए । विधिको विडम्बना भनौँ या भाग्यको लेखा, म प्रहरी बन्ने बाटोमा समेत पुग्न सकिनँ । कारण थियो- २० वर्षको उमेरमै परदेश भासिनुपर्ने परिस्थिति । तर, क्यालेण्डरका पाना फर्किंदै जाँदा आफै प्रहरी बन्न नसके पनि प्रहरी बनेकाहरू मेरा साथी बने ।

आफ्ना थुप्रै साथीहरू काम गर्ने सङ्गठन, जनताले न्याय प्राप्त गर्ने पहिलो ढोका, राज्यको कानुन कार्यान्वयन गराउने निकाय भएकै कारण कम्तिमा यो सङ्गठनलाई दह्रो, चेनमा चल्ने, अनुशासित र निष्पक्ष कार्य मुल्याङ्कन भएर सबैप्रति समान दृष्टिकोण रखिदियोस् भन्ने अन्तरचाहना मलाई सदैव भइरहने नै भयो ।

आज, कुनै माथिल्ला हुन् या तल्लो तहका अधिकृत, तिनलाई अन्याय पऱ्यो कि लेखकै माध्यमबाट आफ्नो ऐक्यवद्धता जनाउन थालेको पनि वर्षौं भइसक्यो, झन् असली पुलिसिङ गर्ने अधिकृत अन्यायमा परेको महसूस हुँदा आमजनताले थाहा पाउनुपर्छ भन्ने आधारमा लेखमार्फत राज्य र जनतालाई जानकारी दिन खोजियो । लेख्दै जाँदा सङ्गठनको सुधारका पक्षमा लेखेको भएर होला थुप्रै प्रहरी कर्मचारीसँग भर्चुअल… समग्रमा भन्दा प्रहरी मेरो साथी भयो । ती साथीहरूमध्ये कति अझै सङ्गठनमा छन् भने कति रिटायर्ड भएर समाजको सेवा गरिरहेका छन् ।

जो नजिक हुन्छ त्यसैले दुःख बुझ्ने/देख्ने हो । प्रहरी सङ्गठनमा केही मेरा साथी छन् जसको दुःखलाई नजिकबाट देखेको छु, महसूस गरेको छु, डिजिटल युगमा जहाँ रहेता पनि कसको कार्यसम्पादन कस्तो र कसको खुबी कस्तो भन्नेमा थोरधेर जानकार पनि रहने गर्दछु ।

मेरा जति प्रहरी साथी भए या बनाउने प्रयास गरेँ, सबै आफ्ना हाकिमको कोपभाजनमा परेका या राज्यद्वारा जानी-जानी अन्याय गरिएकाहरू मात्र हुन्थे, राज्यका ‘दलाल’हरूलाई पैसा बुझाएर कमाण्ड लिएका, बढुवा भएका, मालदार ठाउँमा हाकिम बनेकाहरूलाई मैले कहिल्यै साथी बनाउने प्रयास गरिनँ । जतिलाई सम्पर्क गरेँ ती सबै अब्बल खुबी भएका, ब्याचका अब्बलभित्र परेका तर आफ्ना हाकिम र राज्यका दलालहरूको कारण अन्यायमा परेका प्रहरी कर्मचारी थिए । केही राम्रा हुन् भन्ने लागेर सहयोग गर्ने प्रयास गरेँ तर तिनले आफ्नो हैसियत पद पाएपश्चात देखाइदिए पनि !

समग्रमा भन्दा उनीहरूमाथि अन्याय पर्दा मैले सकेजति वकालत गरेँ, उनीहरूमाथि परेको अन्यायको विवरण सम्बन्धित ठाउँमा पुऱ्याउने प्रयास पनि गरेँ, उनीहरूको न्यायका लागि चर्को आवाज पनि प्रयोग गरेँ । सुनुवाई भयो भएन त्यो तिनै प्रहरी साथीहरूले बुझुन् ।

मैले माथि भनेजस्तै जब नागरिकको न्याय प्राप्त गर्ने पहिलो ढोकामा रहेको, कानुन कार्यान्यनको गराउने निकाय रहेको सङ्गठनको अधिकृत या जवानको मनोबल गिर्नु भनेको जनतालाई शान्तिसुरक्षा दिन नसक्नु या कानुन कार्यान्वयन गर्न नसक्नु भन्ने बुझाइ थियो, जब प्रहरीको मनोबल गिर्छ तब उसले कसरी राज्य र जनताको सुरक्षा गर्न सक्छ भन्ने मेरो तर्क थियो ।

राज्यले आठ घण्टाको तलब दिएर २४ घण्टा काम गराएको नेपाल प्रहरीलाई उसको मानवअधिकारलाई सम्मान गरेको छैन । राष्ट्रिय आपतकालीन अवस्थाबाहेक राज्यले कसैलाई पनि दैनिक ८ र हप्तामा ४० घण्टा भन्दा बढी काम लगाउन पाउँदैन, भलै विश्वका केही मुलुकमा यो समय केही घण्टा घटी र बढी छ । बिनाकारण प्रहरीलाई लगातार काम लगाउनु भनेको उसको मानवअधिकारको हनन हो भन्ने मेरो तर्क हो । त्यसैमा उसले पाउने राशन र आवास अनि सरुवा र बढुवामा पनि सदैव अन्याय गरिरहेको छ । प्रहरी मेरो साथी भएको कारण उसको सङ्गठनले उसलाई र उसका सहकर्मी कर्मचारीहरूमाथि भएको अन्यायमा मैले बुझेका अन्तराष्ट्रिय नियमहरू र प्रहरीले राज्यबाट पाउनुपर्ने/पाउने सुविधाका बारेमा भलाकुसारी चलिरहन्थ्यो ।

राज्यले आफ्नो मान्छे नहुने र पैसा बुझाउनसमेत नसक्ने प्रहरीलाई सधैं अन्याय गरिरहेको देखिन्थ्यो । केही वर्षपहिला एक अब्बल प्रहरी अधिकृतमाथि मेरो नजर पऱ्यो । जिल्ला कमाण्डमा उसले देखाएको इमानदारीबाट जिल्लावासी खुशी देखिन्थे । यो विषय मैले संजालमार्फत देखिरहेको थिएँ । उसको कामले उसको परिचय दिइरहेको थियो तर उसले मलाई अझै चिनेको थिएन । केही समयपश्चात उसलाई बिनाकारण कमाण्डबाट फिर्ता बोलाइयो र जगेडामा राखियो । लगत्तै बढुवामा उसको नाम नै आएन, आफ्नो ब्याजको अब्बल हुँदाहुँदै पनि उसको खुबीको कसैले कदर गरेन । मैले बाहिर बुझ्दा उ आफ्नो खुबीमा ढुक्क भएको देखिन्थ्यो भने म एक अब्बल प्रहरी अधिकृतको मनोबल पुनः एकपटक गिर्दैछ भनेर डराइरहेको थिएँ । उसँग मेरो परिचय थिएन तर पनि उसको न्यायको लागि यसै विषयलाई लिएर मैले एक लेख लेखेँ । लेख प्रकाशित भएपश्चात उसले मलाई नै फेसबुकबाट ब्लक गरिदियो । उसको अन्यायमा लेख्ने व्यक्तिलाई किन ब्लक गरेछ भनेर उसको ब्याचीमार्फत मैले बुझ्ने कोशिस गरेँ । ब्लक गर्नुको कारण उसले आफूलाई अन्याय परेको विषय मेडियासम्म पुऱ्यायो भनेर तत्कालिन महानिरीक्षकले कारवाही गर्लान् भन्ने डर रहेछ । तर सत्य भन्दा, मैले कसैको आग्रहमा उक्त लेख लेखेको थिइनँ, मात्र उसमाथि परेको अन्यायलाई सम्बोधन गर्ने प्रयास गरेको थिएँ । पछि सुत्रमार्फत् थाहा भयो कि उसको कमाण्ड खोस्न ३० लाख प्रयोग गरिएको रहेछ । मैले उक्त लेखमा प्रस्ट लेखेको थिएँ कसले त्यो पैसा लिएर उसको कमाण्ड खोस्ने काम गरेको थियो ।

समयले कोल्टे फेर्दै गयो । आज उ कहाँ छ मलाई थाहा छ, तर उसको डर हटाउन मैले आजसम्म सकेको छैन जस्तो लाग्छ । उ सम्पर्कमा पनि छैन, तर मलाई थाहा छ उ एक अब्बल र केही फरक गरौँ भन्ने अधिकृत हो ।

माथि शीर्षकमा नै मैले भनिसकेको छु, प्रहरी मेरो साथी ! माथि त मैले नभेटेको, नचिनेको र बोलचालसमेत नभएको साथीको कुरा गरेँ, तर यो साथीचाहिँ अत्यन्त नजिकको र एकअर्कालाई एकदम बुझेको थियो । सरुवाको पालो आयो सधैं सेकेण्ड इन कमाण्ड । बढुवाको पालो आयो जसले पनि पैसा माग्ने ! साथी भन्थ्यो, सागरजी आजसम्म कुनै नेताको घरमा गइनँ, अब पनि जान्न । बरु म मेरा पूर्वहाकिमहरूलाई मेरो विषय अवगत गराउँछु तर बढुवा र सरुवाको लागि नेताकहाँ जान्न । उसले यसो भन्दा मलाई अझ बढी चिन्ता हुन्थ्यो, यस्तो अब्बल अधिकृत ठाउँमा बसेर काम गर्न पाउने हो र कसैले दबाब नदिने हो भने जनताले महसूस गर्न सक्ने पुलिसिङ गराउने खुबी उसँग थियो ।

पढाइमा, अनुसन्धानमा र कमाण्डमा पनि अब्बल, मैले मेरो साथी भनेर भनेको होइन, यो सबै मैले देखेको आधारमा भनेको, तर उसको हातमा कमाण्ड थिएन, भर्खर बढुवा भएकाहरूले इन्चार्ज पाउँदा उ ६ वर्ष सिनियर हुँदासमेत इन्चार्ज पाएको थिएन । उ सरुवाको लागि कुनै नेताको ढोकामा जान्न भन्ने, पैसा त म एक रुपियाँ दिन सक्दिनँ भन्ने, यता बढुवाको नाम लिस्ट बन्दैछ भन्ने खबर मेरा गोप्य सुत्रले सुनाइरहेको हुन्थ्यो । बढुवाको लिस्ट सधैं गृहमन्त्रीको आदेशमा, उनका छोरा छन् भने छोरा, छोरा नभएका गृहमन्त्री छन् भने उनका स्वकीय सचिवमार्फत हुन्थे । छोरा नामका दलालहरू र स्वकीय सचिवहरू त्यही बढुवाको लिस्ट हेर्दै बढुवाका आकाङ्क्षीहरूबाट असुल गर्न ब्यस्त हुन्थे । यसरी अनुमानित हिसाब हेर्दा जिल्ला इन्चार्ज परिवर्तन हुँदा गृहमन्त्रीको छोरा या पिएको हातमा दश-बीस करोड रुपैयाँ आइसकेको हुँदोरहेछ । कति पैसा कुन पदको लागि डिल गरिन्छ र त्यो पैसा कहाँ-कहाँ बाँडिन्छ, सबलाई प्रस्टै थाहा हुने रहेछ, तर बोल्न सबै डराउने ।

उभन्दा जुनियर ब्याची बढुवा भइ उसको हाकिम बनेर उसैको कार्यालय आयो र उसले सल्युट गरेर स्वागत गऱ्यो भनेको सुन्दा मलाई साह्रै नमज्जा लाग्यो । भलै उसको तर्क थियो प्रहरी चेन आफ कमाण्डमा चल्ने संस्था हो, यो सङ्गठनमा ‘को’ सिनियर या जुनियर भन्दा पनि ‘कसको’ काँधमा कति फुली भन्ने आधारमा सल्युट र आदेश पालन गर्ने हो भनेर मलाई सान्त्वना दिएजस्तो गरिरहन्थ्यो । तर पनि उसले ब्यक्त गरेका शब्दले मलाई उसले महसूस गरेको पीडालाई बुझाउँथ्यो ।

त्यही दुःखानुभूतिको कारण मैले मेरो प्रहरी साथीलाई जानकारी नदिइ कुनै एक गैरआवासीय व्यक्तिलाई तत्कालिन गृहमन्त्री रहेका बालकृष्ण खाणसमक्ष उ गएको बेला उसको अन्यायको बारेमा बोध गराउन अनुरोध गरेँ । तत्कालिन गृहमन्त्री खाणले यो कुरा सुनेको नसुनेझैँ गरी आफ्नो पिएसँग भेट गरी सम्पूर्ण कुरा गर्न भनेर भनेछन् । त्यसपछि ती गैरआवासीय व्यक्तिले मन्त्रीका पिएसँग भेट गरी सोही कुरा राखेछन् । पिएको काम मन्त्रीलाई सहयोग गर्ने नभएर पैसा उठाउने रहेछ भन्ने विषय त्यो दिन ती गैरआवासीय व्यक्तिले मलाई झस्किँदै बताउँदै थिए । सरुवाको रेट त उनले मलाई बताएनन् तर नेपाल राज्यको यो अवस्था बुझ्दा उनी राम्रैसँग झस्केछन् । मलाई रेट थाहा पाउनु थियो, पछि माइक्रो क्यामरा लिएर सबै रेकर्ड गर्ने गरी बुझाउने प्रयास गरेको थिएँ, तर मैले विश्वास गर्ने व्यक्ति भेट्न नै सकिनँ र मेरो यो विषयलाई बाहिर ल्याउने प्रयास विफल भयो । सफल हुन्थ्यो भने अहिले नक्कली भुटानी शरणार्थी मामलामा प्रहरी हिरासतमा रहेका खाणका स्वकीय सचिवको पहिला नै पर्दाफास हुने थियो । ती गैरआवासीय साथीले मलाई बताउन हिच्किचाए पनि मैले अरु व्यक्ति प्रयोग गरेर सोधखोज गर्दा थाहा पाएँ कि जिल्ला डीएसपीको सरुवा रेट २५ लाख रहेछ ।

प्रहरी मेरो साथी न बढुवामा पऱ्यो न उसको सरुवा नै भयो । उसलाई कुनै खुम्चिने ठाउँमा पठाइयो र, आजसम्म त्यहीँ कार्यरत छ ।

(बाँकी अर्को लेखमा)