'गोर्खा च्यानल' इन्टरनेट टीभी शुरु गरिँदै

'गोर्खा च्यानल' इन्टरनेट टीभी शुरु गरिँदै


gurkha-channelलन्डन । आउँदो महिनाको ७ तारिखबाट औपचारिक रुपमा शुरु गर्न लागेको गोर्खा च्यानलको बारेमा सो च्यानलसँग आवद्ध अमन गौचन, राजेन्द्र भट्ट, वाङ तामाङ, दीप राना र विमला सेनेले हिजो मँगलबार लण्डनको ह्यारोमा एक पत्रकार भेला गरी जानकारी गराएका छन् । केही वर्ष अगाडिबाट सञ्चालनमा आइरहेको गोर्खा टीभीको मातहतमा गार्खा च्यानल रहको सो सभामा बताइएको थियो । नेटको मद्दतबाट चौबीसै घण्टा प्रसारण गरिने गोर्खा च्यानललाई भविष्यमा स्याटलाइटको माध्यमबाट पनि प्रसारण गरिने सञ्चालकहरुले बताएका छन्, जसको सञ्चालन गर्न, प्रविधिमा अमन गौचन, प्रशासनमा दीप राना, निर्माणमा प्रमुखमा राजेन्द्र भट्ट, बजार व्यवस्थापनमा वाङ तामाङ र च्यानल व्यवस्थापनमा विमला सेने रहने बताइएको छ ।
सो च्यानलले आधाभन्दा बढी सामांग्री बेलायत केन्द्रित रहे पनि विश्वभरका गैरआवासीय नेपालीहरुका चासोका विषयहरु पनि च्यानलले समेट्ने बताएको छ, अमेरिका, अष्ट्रेलिया, जापान, हङकङ र खाडी मुलुकमा आफ्ना प्रतिनिधिहरु राखी सो देशहरुबाट नेपाली समुदायका दैनिक गतिविधिलगायतका समाचारहरुलाई प्राथमिकता साथ च्यानलमा प्रसारण गरिने र नयाँ पुस्ताका युवाहरुलाई तिनको रुचीअनुसारका गतिविधिहरु पस्कनका लागि ती पुस्ताहरुलाई पनि साथमा लिने व्यवस्थापक पक्षले जनाएका छ ।
हाल सफलताका साथ प्रसारण भइरहेको राजेन्द्र भट्टको लोकप्रिय नमस्ते युरोप आउँदो महिनाबाट गार्खाच्यानलअन्तर्गत आउने हुँदा सो च्यानलले छिट्टै नै गति लिने विश्वास गर्न सकिन्छ ।