विदेश भनेको विदेशै हो बाबै !

विदेश भनेको विदेशै हो बाबै !


जब मानिस देखावटी बन्दै जान्छ नि नातागोताको अर्थ पनि नरहने अवस्था आउँदोरहेछ । मान्छेलाई देखावटी आडम्बरले बेचैन बनाउँदोरहेछ । हिजोआज मनिसलाई एउटै भ्रम के छ भने यी सबै शान, मान र बैभव विदेश भासिएकाले मात्र पूरा गर्न सक्छन्, नेपाल बस्नेको त यी सब कुरामा पहुँचै पुग्दैन !
✍ सुन्दर शर्मा

एकसुरमा गमला गोडमेलमा ब्यस्त थिएँ । भर्खरै फोहोरको गाडी आएकोले गेट खुल्लै थियो । मर्निङ वाक गरेर फर्कने बाक्लै देखिन्थे बाटोमा । यत्तिकैमा एक महिला गेटभित्र पसिन् र चारैतिर नजर घुमाउँदै बोलिन्- ‘कति मज्जाको गार्डेन रहेछ । दुबो, फूल, धुपीका बिरुवा सबै एकापसमा मिलेर बसेका । थकाइ मार्ने चौतारो रहेछ बहिनी तपाईंको बगैँचा ।’

उनी थाकेकी थिइन् सायद । त्यो बुझेर कुर्सीमा बस्न इशारा गरेँ । सुस्केरा हाल्दै बसिन् ।

उनले बयान गरेझैँ गार्डेन साँच्चिकै रमणीय देखिन्छ । फूलहरू कुनै फुलेका त कुनै कोपिला हालेर बसेका । हिउँदे वर्षाले धुलोमैलो पखालेर बोटबिरुवा टिलिक्क सफा देखिएका छन् । आँप, हलुवावेद, केरा, नासपाती र आरु फलेका छन् भने अम्बा फुल्न आँटेको छ । हेर्दै आनन्द लाग्ने, हेरिरहुँझैँ लाग्ने । वसन्तरितुको अमुल्य उपहार जस्तै छ हाम्रो गार्डेन ।

ती महिलालाई कहिलेकाहीँ वाकिङमा भेटाउँथे । पानी पिउनुहुन्छ दिदी भनी सोध्दा ‘हुन्छ’को इशारा गर्दै टाउको हल्लाइन् । पानी पिउँदै गर्दा उनी प्याट्ट बोलिन्- ‘श्रीमान्, छोराछोरी विदेशमा होलान् है ?’ ‘सबै नेपालमै छन्’ भन्दै उत्तर फर्काएँ । आश्चर्यचकितको नजरले उनले मतर्फ हेरिन् । ‘नेपाली कमाइले पनि यति राम्रो घर गार्डेन सजाउने पैसा पुग्छ र भन्या ?’- उनको जिज्ञासा ।

यो सुन्दा मेरो मथिङ्गल तातिसकेको थियो, रिस उठिसकेको थियो । तर पनि मुस्कुराउँदै भनेँ- ‘नेपालमा काम गर्नेले केही गर्नै सक्दैनन्, यहाँ बस्नेको जिन्दगी चल्नै सक्दैन भन्ने सोच किन पालेको दिदी ? यहाँ बस्ने मानिस के सबै बेकार हुन्छन् ? विदेश जानेजति सबै नम्बरी सुन हुन् ? के नेपालमा बस्नेजति सबै बेखुसी छन् ? बोल्नुस् दिदी !’

‘विदेश भनेको विदेशै हो क्या बहिनी ! यहाँ त के छ र ? नेपाल र विदेशको तुलना कसरी हुन सक्छ ?’- बोलिन् उनी ।

दिदीको उत्तरमा सङ्कुचित सोच, कमजोर चेतनास्तर ब्यवहारिक कुसंस्कार छर्लङ्गै देखिन्थ्यो । उनलाई हेर्दै म फिस्स हासेँ मात्र । एकमनले त भन्दै थियो यी बुढियाको मुख सियो–धागोले सिलाइदिउँ कि !

‘यो घर-बगैंचाको सौन्दर्य र तपाईंसँग पनि परिचित भएँ, विश्राम पनि गरेँ, अब जान्छु’ भन्दै जसरी आएकी थिइन् त्यसैगरी फर्किन् पनि ।

म चाहिँ आफैसँग सम्वाद गरिरहेँ- ‘कस्तो सोच हुर्काउँदैछौँ हामी । नेपालमा बस्नेले त केही गर्नै सक्दैन भन्ने । के विदेश पलायन हुँदैमा जादुजसरी सबै समस्या छिनमै दूर हुने हो र ? के विदेशमा परिश्रमबिना नै डलर फल्छ ? यस्तै-यस्तै प्रश्नले टाउको भारी भइरह्यो, मथिङ्गल फनफनी घुमिरह्यो ।

एकदिन एक नातेदार मान्यजन पाल्नुभयो । उहाँ उच्च ओहदाको सरकारी जागीरे, बौद्धिक मान्छे । खानापछि गफिन थाल्यौँ । उहाँको सुझाव थियो- ‘अब बाबुनानीलाई तुरुन्तै विदेश पठाइहाल ।’ यो कुरा सुनेर हामी बुढाबुढी मुखामुख गऱ्यौँ । म प्यात्त बोलिहालेँ- ‘किन जानुपऱ्यो विदेश ? यहीँ भनेजस्तो पढाइअनुसारको काम गरिरहेका छन् । ऊनीहरू खुशी र सन्तुष्ट छन् । आफ्नै भूमिमा सुनौलो भविष्य खोजिरहेका छन् र सफल पनि भइरहेका छन् भने किन जानुपऱ्यो विदेश ?’

उहाँको उत्तर पनि उस्तै आयो- ‘विदेश भनेको विदेशै हो । यहाँ के छ र ! नेपाल र विदेशको तुलना कसरी हुन्छ ?’

म अवाक हुँदै सोच्छु- यो बौद्धिकता त अरुलाई देखाउने दाँत मात्र रहेछ । विदेश जानैपर्छ भन्ने कुसंस्कारले हाम्रो समाजमा कसरी जरो गाड्दैछ भन्ने सोच्दा नै विरक्त लागेर आउँछ ।

सँगै पढेका साथीहरूको जमघट थियो एक रेस्टुरेन्टमा । रमाइला गफमा गफिँदै थियौँ । एकैछिनमा साथीहरू आ-आफ्ना सन्तानका कुरा तँछाडमछाडका साथ गर्न थाले । एउटीले अमेरिका पठाएँ भन्छे, अर्कीले अष्ट्रेलिया भन्छे अनि अर्कीले युरोपको रवाफ देखाउँछे । बाफ् रे बाफ् ! छोराछोरी विदेश पठाएर नोबेल पुरस्कार नै जिती विश्वरेकर्ड राख्न सफल भएजसरी चर्काचर्का गफ गर्न थाले ।

जमघटमध्येमा म र अर्की एउटी मात्र नेपालमै सन्तान, श्रीमान् भएका परेछौँ । अमेरिकावालीले हुर्मत लिने झैँ गरी सोध्छे– ‘हैन हो साथी ! कसरी पुऱ्याउँछेस् घरखर्च नेपाली कमाइले ? अर्की अष्ट्रेलियावालीले मस्तिष्क नै खल्बलिने गरि बोल्छे- ‘तिमीहरूले जिन्दगी जिउनै जानेनौँ क्या साथी ! जहिल्यै ‘पुगेस् पुगेस्’कै चटारोमा जिन्दगी बित्नेभो तिमीहरूको । यहाँ बसेका सन्तानले कति कमाउलान् ? बढीसेबढी मासिक एक लाख । के हुन्छ त्यो लाखले ? बिहे गर्दा भोज मात्र करोडले पुग्दैन । त्यसै आदर्शका कुराले जीवन चल्दैन क्यारे । बेलैमा सोचेनौ भने दुःख पाउने निश्चित छ ।’

मेरो मथिङ्गल तातिसकेको थियो, अब भने फनफनी घुम्न पनि थाल्यो । रिसले आँखा नदेखि ब्यक्तिगत विचार पोखेँ- ‘मेरा सन्तान यहीँ नेपालमै प्राप्त कामले तिम्रा सन्तान भन्दा खुशी र सन्तुष्ट छन् भने किन आपत्ति ? सन्तानले आफ्नै माटोमा भविष्य खोज्न दिलोज्यान लगाएका छन् भने तिमीहरूको टाउकोदुखाइ किन ? हेर.. सुख र सन्तुष्टि भनेको आफूले महसूस गर्ने कुरा हो । आफूभित्र खोज्ने कुरा हो । अरुसँग तौलेर प्राप्त भएको सन्तुष्टि क्षणिक हुन्छ । सन्तुष्टिको कुनै तौल हुँदैन, त्यसैले तौलनु ब्यर्थ छ ।’

सन्तान पढेर भ्याएका हुँदैनन् हामी नानाथरी सामाजिक दबाब दिन थाल्छौँ । घरपरिवारबाट नै आडम्बर र देखासिखीमा रमाउन बाध्य पार्छौं । यस्तो अवस्थामा सन्तानले कसरी र कोबाट उचित संस्कार सिक्ने, बाबुआमा नै तिमीहरू जस्ता भएमा । शिक्षाले चेतना प्रदान गर्छ भनेको ब्यर्थ रहेछ । धिक्कार छ हाम्रो विदेशमुखी संस्कार र समृद्धिलाई । जुन संस्कारले हाम्रो स्वतन्त्रता खोसेर हामीलाइ बन्दी बनाउँछ त्यो संस्कार कसरी आधुनिक ठहरिन्छ ? उत्तर दिन सक्छौ ? माहोल शान्त, सबै भावुक र स्तब्ध देखिए । बोल्न कोही सकेनन् ।

बैशाख महिना बिहेको लगन कति-कति । निम्तो मान्न कहाँ-कहाँ पुग्नु ! मंसिर र माघको बिहेले हैरानी कटाएको थियो । बैशाख लाग्न पाएको छैन रातो कार्डको ताँती लाग्दैछ । हिजो आज त आफन्तको बिहे भनेर खुशी हुने भन्दा पनि तर्सिने जमात ठुलो छ । उहिले-उहिले आफन्तको बिहेबारीमा आफ्नोपनको आभास हुन्थ्यो, आत्मीयता र मिठास बाँडिन्थ्यो । तर अहिले देखावटी कुसंस्कृतिले बिहे अरुको हुन्छ, निम्तालुलाई पसिना छुट्छ, सकस हुन्छ । यसको कारण हो देखावटी आडम्बर !

मेरी एक मात्र फुपुको छोरीको बिहेको निम्तो पनि टुप्लुक्क दैलोमा आइपुग्यो । फुपु अलिक देखावटीपनमा रमाउने खाले हुनुहुन्छ । उहाँका सन्तान विदेश भएका र फुपाजु पनि विदेशीकै डलरवाला अफिस चलाउने भएरै होला सायद, यहाँ कुनै अवसर र भविष्य छैन, यहाँ बस्नै हुँदैन जस्ता कुराले उहाँको मस्तिष्कलाई कब्जा गरेको छ । त्यसैले उहाँलाई लाग्छ कि आरामदायी जीवन बिताउनु छ भने जो कोही विदेश जानैपर्छ । फुपाजुको डलरको कमाइको कारणले पनि होला फुपुलाई आडम्बरी र देखावटी गर्न बल पुगेको ।

अब लाग्छु बिहेको निम्तोतर्फ । निम्तोसँगै फुपुका केही सुझाव भनौँ कि आदेशात्मक सूचना… फोनबाट प्राप्त भयो । यदि वैवाहिक कार्यक्रममा उपस्थित हुनु छ भने मेरी फुपुका सुझावसहितका आदेश मान्नैपर्ने हुन्छ । फुपु फोनमा भन्दै हुनुहुन्थ्यो- इन्गेजमेण्ट पार्टी, मेहेन्दी हल्दी कार्यक्रममा उही सारी र गहना दोऱ्याउने होइन नि फेरि ! उतिबेला श्रीमान्लाई विदेश पठाउ भन्दा मानेको होइन । अहिले फेरि छोराछोरीलाई विदेश पठाउ भन्दा पटक्कै मानेको होइन । अहिले साथीभाइ र आफन्तको सामु इज्जत राख्नेगरी कसरी प्रस्तुत हुने हो ? हो यस्तै बेलामा देखिने र देखाउने हो । अरुका अगाडि ठाँटबाँटले हिँडेमा आफन्तको हेर्ने दृष्टि नै फरक हुन्छ बाबै, कसैले हेप्न सक्दैन । नेपालको कमाइले घरखर्छ चलाउने कि आफ्ना रहर पूरा गर्ने ? मैले उहिले भनेकै त हो नि विदेश भनेको विदेशै हो । विदेशसँग तुलना हुनै सक्दैन भनेर । …!’- फूपू फत्फताउँदै हुनुहुन्थ्यो ।

म सोच्न थालेँ- हेर.. जब मानिस देखावटी बन्दै जान्छ नि नातागोताको अर्थ पनि नरहने अवस्था आउँदोरहेछ । मान्छेलाई देखावटी आडम्बरले बेचैन बनाउँदोरहेछ । हिजोआज मनिसलाई एउटै भ्रम के छ भने यी सबै शान, मान र बैभव विदेश भासिएकाले मात्र पूरा गर्न सक्छन्, नेपाल बस्नेको त यी सब कुरामा पहुँचै पुग्दैन !

नेपालमा यस्तै कुसंस्कृतिले सृजना गरेको डरलाग्दो वातावरणको भूमरीमा नराम्रोसँग पर्दैछन् कैयौँ आधुनिकता मन पराउने चेहरा । यस्तै आडम्बरयुक्त आवश्यकता पूरा गर्न पनि विदेश भासिनुपर्ने बाध्यता छ कैयौँ परिवारमा । के लाउने र कसरी अरुभन्दा भिन्न देखिने भन्ने घनचक्करमा कैयौँ मनहरू रुमल्लिरहेका छन् । उनीहरूको दिमागमा यस्ता आवश्यकता पूरा गर्न विदेश जानैपर्छ भन्ने मन्त्र गडेको छ ।

विदेश जानै हुँदैन भन्न खोजिएको पटक्कै होइन, जानुपर्छ । उचित शिक्षा लिनु र काम गर्नु राम्रो हो । मनले मानेमा उतै घरजम बसाउन पनि सकिन्छ । तर नेपाल बस्नै हुँदैन, यहाँ केही छैन, यहाँ बस्नेजति सबै बेकार छन् भन्दै यहाँ बस्नेलाई अपमान गर्न त भएन नि । अवसर जहाँ पनि हुन्छन् । खोजी गर्ने तत्परता र दृढता चाहिन्छ । यहाँ केही छैन भन्नचाहिँ मिल्दैन नै ! हो विदेशमा जस्तो काम गर्ने स्वच्छ वातावरण, एक समान नियम-कानुन, जनताप्रति वफादार सरकारी निकाय, राम्रो तलब–भत्ता आदि जस्ता कुराको सुविधा छैन यहाँ । तर यहाँ बस्नै हुदैन भन्न त भएन नि ! कोही योग्य नागरिक नबस्ने हो भने हाम्रो जन्मभूमिको चौतर्फी विकास कसले गरिदेला ?

अस्ति भर्खरै अष्ट्रेलियामा मेरो छिमेकीको छोरोको कार दुर्घटनामा मृत्यु भयो । लाश नेपाल पठाउनको लागि ‘गो फण्ड’मार्फत रकम जम्मा गर्नुपऱ्यो । छोरो बाहिर गएपछि बाबुआमाको यहाँ सुनिनसक्नु र देखिनसक्नुको फुर्तिफार्ति थियो । उनीहरू बार-बार भन्ने गर्थे- ‘छोराछोरी विदेशमा.. दिनमै कति कमाउँछन् कति !’ यस्तै बकम्फुसे कुराहरू बढाइचढाइ बखान गर्दै हिँड्दै विदेश भनेको त विदेशै रहेछ बाबै, नेपालसँग कसरी तुलना होला भनी सुनाउँथे । अहिले प्रष्ट भयो विदेशमा त डलरको बोट रहेछ टिप्नलाई । त्यही भएर वर्षौं विदेश बसेको ब्यक्ति मर्दा लास पठाउन पनि चन्दा उठाउनु पर्ने ! अचम्मको कमाइ हुँदोरहेछ विदेशमा, गजबको आम्दानी हुदोरहेछ विदेशमा !

अन्तमा,
नेपालमै पढेर प्राप्त गरेको शैक्षिक योग्यताले डिभी भर्ने, जिआरइ, टोफेल, आइएलटिएसमा उच्च अङ्क ल्याएर विदेश उड्ने । अनि त्यहीँ मातृभूमिलाई धारेहात लाउँदै नेपालको पढाइ नै खत्तम छ भन्ने । यो कस्तो संस्कार हो ? यहीँको माटोले हाम्रा सन्तानको आत्मबल बढाएको हो, क्षमतावान बनाएको हो र पो विदेश उड्न सक्षम भएका हुन् । अनि त्यही जन्मभूमिलाई सराप्दै यहाँ केही छैन, बस्नै हुँदैन भन्ने मन्त्र कसरी कण्ठ पार्न सकेका ?

रमाउन र खुशी हुनलाई आलिशान महल, रुपैयाँ पैसा, तडकभडक जीवनशैली र सुकिला अनुहारले मात्र पुग्दैन, गोधुली साँझको मधुरो सिरसिर हावामा रमाउने कैयौँ छन् । जङ्गलभित्रका हरिया रुखहरू, चराचुरुङ्गीको चिरबिर चिरबिर, निरन्तर सुसेल्दै नागबेली बगिरहने नदीनाला र झरनाहरू, चाँदी झैँ सेता-चम्किला हिमाल र मैदानमा झुलिरहेका धानका बोटहरूसँग मितेरी लाउँदै नाप्न र तौलन नसकिने अनगिन्ती खुशी बटुल्न सकिन्छ… मनमा शान्ति छ भने ।