मिडियामा के हुँदैछ ?

मिडियामा के हुँदैछ ?


कुनै क्षेत्र असुरक्षित भए त्यो क्षेत्र किन असुरक्षित छ, कसका कारणले असुरक्षित छ ? भनेर प्रश्न उठाउने र खोजी गर्नुपर्ने मिडियामै काम गर्ने पत्रकार तथा सञ्चारकर्मीहरूले आफ्नै सहकर्मी र सिनियरहरूबाट असुरक्षित महसूस गर्छन् भने त्यसलाई निकै गम्भीरतापूर्वक लिनुपर्ने हुन्छ । हाम्रा समाचार कक्षहरू नै सुरक्षित भएनन् भने हामीले अरुको सुरक्षाका लागि उठाएको आवाजको विश्वास कसले गर्ला ?
✍ बबिता बस्नेत

वि.सं. २०६२ मा सञ्चारिका समूहले ‘सञ्चारकर्मी महिलाको अवस्था’ विषयमा देशब्यापी अनुसन्धान गरेको थियो । महिला पत्रकार र सञ्चारकर्मीलाई लिएर मुलुकभरी गरिएको यो पहिलो अनुसन्धान थियो । वन्दना राणा, डा. ज्ञानु पाण्डे, हरिकला अधिकारी, दीपा गौतम र डा. कृष्ण भट्टचनको ‘टीम’ले गरेको उक्त अध्ययनमा प्रत्यक्ष सहभागी नभएपनि संस्थाको तात्कालिन महासचिवको हैसियतमा मैले यो अनुसन्धानमा प्रश्नावली बनाउँदादेखि समूहगत छलफलसम्मको प्रक्रियालाई नजिकबाट हेरेकी थिएँ । मुलुकका पाँच विकास क्षेत्रका ४८ जिल्लालाई समेटेर २ सय २४ जना महिला पत्रकारसँग प्रत्यक्ष भेटेर गरिएको उक्त अध्ययनले देखाएको तथ्याङ्कमध्ये हामीलाई झस्काउने तथ्याङ्क आफ्नै सहकर्मीबाट हुने यौनहिंसाको थियो । सहभागीमध्ये मोफसलमा ६.७ प्रतिशत र राजधानीमा २.७ प्रतिशत महिला पत्रकारहरूले आफ्ना सहकर्मी पत्रकारहरूबाट यौनहिंसा हुने गरेको बताएका थिए । राजधानी र राजधानीबाहिर गरी यो सङ्ख्या ९.४ प्रतिशत हुन जान्थ्यो । राजधानीमा भन्दा जिल्लाको अवस्था थप चुनौतीपूर्ण थियो । ‘यसको परिणाम स्वयम् महिला पत्रकार तथा सञ्चारकर्मीमाथि के पर्ला ?’ सँगै ‘मिडिया क्षेत्रमा यौन हिंसा छ भन्ने सन्देश बाहिर गएपछि आफ्ना छोरी, बुहारी, या भनौँ महिला सदस्यलाई कसले मिडियामा काम गर्न पठाउला ?’ अनुसन्धानको निष्कर्ष आएपछि सबैभन्दा पहिला मेरो मनमा लागेको कुरा थियो ।

ब्यवसायिकता, उच्च चेतनास्तर, सभ्यतालगायत समयले ल्याएको समानतामुखी परिवर्तनसँगै यो सङ्ख्या घट्दै जानुपर्ने थियो तर त्यस्तो देखिएन । पूर्वी नेपाल र सुदूरपश्चिमको मिडियामा काम गरेका दुई महिला पत्रकारले केही दिनअघि मिडियामा आफ्नै सहकर्मीबाट भएका यौनहिंसाको बारेमा बोलेर र लेखेर मिडिया क्षेत्र महिलाका लागि सुरक्षित नभएको प्रमाण दिएका छन् । कुनै क्षेत्र असुरक्षित भए त्यो क्षेत्र किन असुरक्षित छ ? कसका कारणले असुरक्षित छ ? भनेर प्रश्न उठाउने र खोजी गर्नुपर्ने मिडियामै काम गर्ने पत्रकार तथा सञ्चारकर्मीहरूले आफ्नै सहकर्मी र सिनियरहरूबाट असुरक्षित महसूस गर्छन् भने त्यसलाई निकै गम्भीरतापूर्वक लिनुपर्ने हुन्छ । हाम्रा समाचार कक्षहरू नै सुरक्षित भएनन् भने हामीले अरुको सुरक्षाका लागि उठाएको आवाजको विश्वास कसले गर्ला ?

नेपाली महिला पत्रकार र सञ्चारकर्मीहरूले अहिले ‘अनलाइन’ र ‘इन पर्सन’ दुवै रुपमा विभिन्न प्रकारका हिंसा भोगिरहेका तथ्याङ्क सार्वजनिक भएका छन् । मिडिया एड्भोकेसी ग्रुप (म्याग) ले सन् २०२२ मा गरेको अध्ययनमा ८८ प्रतिशत महिला पत्रकारहरूले आफूले अनलाईन हिंसा महसूस गरेको बताएका थिए । महिला पत्रकारका लागि पेशागत र ब्यक्तिगत सुरक्षा उनीहरूले गर्दै आएको कामको निरन्तरतासँग जोडिएको छ । पत्रकारिता पेशामा महिलाहरूको निरन्तरतामा रोकावटको कारण मध्येको एक यौनहिंसा पनि हो भन्ने उदाहरण पूर्व र सुदूरपश्चिमका दुई महिला पत्रकारले भोगेका घटनाले स्पष्ट पारेको छ । उनीहरूले आँट गरेर बोले, लेखे तर यस्तो आँट नगरी घटनालाई चुपचाप सहेर बस्ने कति होलान् ? दुःखद पक्ष के छ भने यति आँट गर्नका लागि उनीहरूले अब म यो पेशामै बस्दिनँ भन्ने निष्कर्षमा पुग्नु प¥यो । यदि मिडिया हाउसमा पत्रकारको हिंसालाई गम्भीरतापूर्वक लिने नीति र उजुरीको संयन्त्र हुँदो हो त उनीहरूले पेशा छोड्ने नभइ हिंसा गर्नेचाहिँ मिडिया हाउसबाट बाहिरिने अवस्था आउने थियो । राजधानीमा रहेका केही मिडिया हाउसबाट यस्ता घटनामा हिंसा गर्नेलाई मिडिया हाउसले पुनः उक्त मिडियामा फर्कन अयोग्य हुने गरी निष्काशन गरेका केही उदाहरण छन् । तर ती घटनालाई सार्वजनिक जानकारीमा भने ल्याइएन । यदि ल्याइएको भए अरुको लागि पाठ हुन सक्थ्यो ।

विभिन्न जिल्लामा नवप्रवेशी कतिपय महिला पत्रकार तथा सञ्चारकर्मीहरूलाई मिडिया सञ्चालक र आफ्नै सहकर्मीहरूबाट हिंसा हुने गरेको महिलाकेन्द्रित भेटघाट र छलफलहरूमा चर्चा हुने गरेको छ । अहिले टेलिभिजन मिडियामा स्थापित पूर्वकी एक पत्रकारले एउटा छलफलमा भनेकी थिइन्- स्थानीय रेडियोमा समाचारवाचक आवश्यक रहेको विज्ञापन देखेपछि मैले निवेदन दिएँ । अन्तरवार्ताका क्रममा रेडियो सञ्चालकले ‘म तिमीलाई काम दिन्छु, तिमी मलाई के दिन्छ्यौ ?’ भनेर सोधे । म भरखर पहाडबाट तराई झरेकी, के भनेको हो केही बुझिनँ र भनेँ- ‘सर, मसँग अहिले केही छैन, घर गएको बेला हामीकहाँ घिउ र तामा राम्रो पाउँछ, यता ती कुराहरू चिज हुँदोरहेछ म सरलाई ल्याइदिन्छु ।’ अनि उनले मेरो जिउमा हात राख्दै भने- ‘हैट लाटी ! मैले कहाँ त्यस्तो भनेको हो त… ल..ल…काम गर बुझिहाल्छौ ।’ पछि उनको मप्रतिको नियत राम्रो नभएपछि केही दिन काम गरेर मैले छोडिदिएँ ।

कतिपय साथीहरू भन्छन्, हिजोआज सुधारिएको हिंसा बढ्दो छ । यो सुधारिएको हिंसा भनेको के हो ? कस्तो हो ? उनीहरूको जवाफ थियो- सही नियतले बोलेको हो कि गलत नियतले थाहा नहुने गरी कुरा गर्ने, भेट्ने प्रस्ताव राख्ने । ‘तपाईंलाई त मैले यस्तो सोचेको थिइनँ’ भनेपछि ‘ल… मैले कहाँ त्यस्तो भन्न खोजेको हो र ?’ भन्ने ।

यसको अर्थ सबै रेडियो या अन्य मिडिया सञ्चालकहरू उस्तै छन् भन्ने होइन । सबै समाचारकक्ष सुरक्षित छैनन् भन्ने पनि होइन तर जतिले महिला पत्रकार र सञ्चारकर्मीमाथि यौनहिंसा गरेका छन्, गलत मनसाय राखेर काममा राखेका छन्, ती घटना शून्यमा झर्नुपर्छ । तर समयक्रममा घटना बढिरहेका छन् । कतिपय साथीहरू भन्छन्, हिजोआज सुधारिएको हिंसा बढ्दो छ । यो सुधारिएको हिंसा भनेको के हो ? कस्तो हो ? उनीहरूको जवाफ थियो- सही नियतले बोलेको हो कि गलत नियतले थाहा नहुने गरी कुरा गर्ने, भेट्ने प्रस्ताव राख्ने । ‘तपाईंलाई त मैले यस्तो सोचेको थिइनँ’ भनेपछि ‘ल… मैले कहाँ त्यस्तो भन्न खोजेको हो र ?’ भन्ने । कसैलेचाहिँ ‘मलाई सर नभन्नु साथी भन्नु’ भन्ने । म त सर नै भन्छु भन्यो भने म तिम्रो साथी हुन योग्य छैन र ? भन्ने । यस्ता कुरामा हिंसाको प्रमाण केही हुँदैन तर कार्यालय गएर ती ब्यक्तिसँग सहज रूपमा कुरा गर्न सक्ने अवस्था पनि हुँदैन । उनैसँग समाचारका बारेमा छलफल गर्नुपर्ने भएकाले नभेटी पनि हुँदैन ।

यस्ता घटना आफ्नै मिडिया हाउसमा कार्यरत पत्रकारबाट मात्र नभइ अन्य मिडिया हाउसमा काम गर्ने पत्रकारबाट पनि हुने गरेका छन् । २०७९ साल श्रावण १२ गते अनलाइन हिंसाको अध्ययनको क्रममा काठमाडौंमा कार्यरत महिला पत्रकारसँग गरिएको छलफलमा दश वर्षदेखि मिडियामा कार्यरत एक पत्रकारले भनेकी थिइन्- ‘२०७९ बैशाख महिनाको कुरा हो, मैले दाइ भन्ने र मान्ने गरेका एक पत्रकारले भेटौँ न, चिया कफी खाउँ भनेर फेस बुक म्यासेन्जरमा म्यासेज पठाउनुभयो, मैले ‘हुन्छ नि दाइ’ भनेपछि ‘कहाँ जाने ? धुलिखेल कि नगरकोट ?’ उहाँको प्रश्नले मलाई स्तब्ध बनायो । दाइ भनेर आदर गरेको मान्छेले कसरी यस्तो भन्न सके ? सारै नराम्रो लाग्यो र लेखेँ- दाइ, हजुरलाई म धेरै आदर गर्छु, यस्तो लेख्नुहोला भन्ने सोचेको थिइनँ । म्यासेज ‘सिन’ भएको करिब दश मिनेटपछि उनले लेखे- मैले तिमी र म दुई जना मात्रै जाउँ भनेको कहाँ हो र ? अरु साथीहरू पनि जान्छन्, ठाउँचाहिँ तिमी रोज पो भनेको त…! सायद त्यो कुरालाई मैले कसरी लिन्छु भनेर उनी परीक्षण गर्न चाहन्थे । मैले नबुझे जस्तो गरेर अहिले हजुरहरू जानु म पछि जान्छु दाइ भने । त्यसपछि एउटा कार्यक्रममा भट्दा उनले मलाई खासै चिने जस्तो गरेनन् । ’ कतिपय समाचार श्रोत, पाठक, श्रोता र दर्शकबाट पनि महिला पत्रकार तथा सञ्चाकर्मीहरूले हिंसा भोग्दै आएका छन् ।

घटना धेरै छन्, हिंसाका प्रकार पनि अनेक छन् । समाचार कक्ष या मिडिया हाउसमा हुने सबै प्रकारका हिंसा निर्मुल गर्नका लागि नेपाल पत्रकार महासङ्घ, मिडिया हाउसको नेतृत्वमा रहेका ब्यक्तिहरू, प्रेस काउन्सिल र राज्यले तत्काल केही कदमहरू चाल्नु आवश्यक छ । हामीसँग यौन या अन्य प्रकारका हिंसाको उजुरी गर्नका लागि मिडिया हाउसभित्रै संयन्त्रको आवश्यकता छ । ‘इन हाउस मेकानिजम’ हुँदा उजुरी गर्न सहज हुन्छ । सबै पत्रकारको छाता सङ्गठन भएकाले पत्रकार महासङ्घको भूमिका महत्वपूर्ण छ । हिंसाको उजुरी परेका पत्रकारको सदस्यता बदर गर्नेदेखि सुरक्षाका सवालमा अन्य धेरै काम गर्नसक्छ, गर्नुपर्छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्ता घटनालाई सम्बोधन गर्नका लागि मन्त्रालयमै संयन्त्र खडा गर्न सक्छ, गर्नुपर्छ ।

समानताको अभियानबाट आफ्नो राजनीतिक करियर सुरु गर्नुभएकी नेता रेखा शर्मा अहिले मन्त्री हुनुहुन्छ । महिला पत्रकारको पेशागत निरन्तरतामा उहाँले विशेष जोड दिने गर्नुभएको छ । निरन्तरतासँग सुरक्षाको सवाल निकै टड्कारो भएर आएको छ । सुरक्षित कार्यस्थलका लागि मन्त्रालयले पत्रकार महासंघ, महिला र मिडियाको क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधि, प्रेस काउन्सिलका प्रतिनिधि लगायतको बिशेष कार्यदल बनाएर काम गर्न सक्छ । मिडियामा लैङ्गिक उत्तरदायी नीति र त्यसको कार्यान्वयन अत्यावश्यक देखिएको छ । केही मिडिया हाउसमा भएका यौन हिंसाका घटनाका कारण सबै मिडियालाई हेर्ने दृष्टिकोण उस्तै बन्नु हुँदैन, त्यसका लागि सबै मिडिया हाउसहरूले नीति र ब्यवहारमै पत्रकार तथा कर्मचारीहरूलाई सुरक्षाको अनुभूति दिलाउनुपर्छ । झट्ट सुन्दा, पढ्दा सङ्ख्यात्मक रुपमा घटना थोरै हुन सक्छन् तर जसले भोगेको छ उसका लागि त जिन्दगीसँग जोडिएको कुरा हो ।