जेलेन्स्कीसँग वार्ता गर्न चिनियाँ विशेष प्रतिनिधि कीएभमा

जेलेन्स्कीसँग वार्ता गर्न चिनियाँ विशेष प्रतिनिधि कीएभमा


युक्रेनमा जारी युद्ध अन्त्यका लागि बेइजिङ नेतृत्वको वार्तालाई अघि बढाउन चीनका तर्फबाट विशेष दूत कीएभ पुगेका छन् । रुससँगको द्वन्द्व सुल्झाउने बेइजिङको योजनालाई बढावा दिन चीनका विशेष दूत ली हुई युक्रेनको राजधानी पुगेका हुन् ।

सन् २०२२ को फेब्रुअरीमा मस्कोले आक्रमण गरेपछि युद्धग्रस्त देशको भ्रमण गर्ने उच्चपदस्थ चिनियाँ कूटनीतिज्ञ ली चिनियाँ नेता सी चिनपिङसँग जेलेन्स्कीले टेलिफोनमा कुरा गरेको तीन हप्तापछि कीएभ पुगेका हुन् ।

गत मङ्गलबार मात्र युक्रेनलाई ‘मध्यस्थताका लागि पहल’को आवश्यकता नरहेको यूक्रेनी अधिकारीले बताएका थिए भने चीनले चाहिँ युक्रेनी सङ्कटको राजनीतिक समाधानका लागि सबै पक्षसँग संवाद गर्ने उद्देश्यले भ्रमणको आयोजना गरिएको जनाएको छ ।

चीनलाई तटस्थ मध्यस्थकर्ताका रूपमा प्रस्तुत गर्ने लक्ष्य लिएका र मार्चमा मस्कोको भ्रमण गरेका सीले क्रेमलिनले आफ्नो छिमेकीमाथि गरेको आक्रमणको निन्दा गर्न इन्कार गरेको भन्दै आलोचना हुँदै आएको छ ।