उफ.. मानव तस्करहरू !

उफ.. मानव तस्करहरू !


✍ गीता बजगाईं (अमेरिका)

लुछेर देशको माटो
नासेर पुर्खाको इज्जत
धज्जी उडाएर राष्ट्रिय अस्मिता
भौतिक सुख-सुविधाप्राप्ति
र, सम्पन्नताको मोहमा
मान्छे हुनुको अस्तित्व नै
निमिट्यान्न पार्दै
गाडिएका छन् लोभको सिनोमा
गिद्ध बनेर
बहुरुपी
मानव तस्करहरू !

कठै !
यी हल्काराहरूलाई
के थाहा
जमिनबाट आकाशिँदै
उडेको जहाज
पुनः जमिनमा नै
अवतरित हुनुपर्छ भनेर
अनि यिनीहरूलाई के पत्तो
रोटेपिङका पिर्काहरू
फेदबाट टुप्पोमा पुगेर
घुम्दै फिर्दै
फेरि
फेदमा नै आइपुग्छ भनेर
यिनीहरूका सर्वनाश गर्ने खोपडीमा
कसले जिउनुको अर्थ…
सृजना र प्रेम भरिदिने ?
लुकाइ,
छिपाइ
ढाँटी
छली
निचोरी
बटुलेको धन
कसैले नदेखे पनि
यो ब्रह्माण्डले थाह पाउने छ
र, एक दिन खोस्नेछ भनेर ।
जिउनुको अर्थ र
संसारिक इतिहासमा
कहिल्यै नमेटिने र
नपखालिने कालो पोत्ने छ भनेर ।
अचम्मको कुरा त
बुद्ध चेतनाको दियो जलेको
मेरो देशको चेतनाले
चेत गुमाइ
पुतनाको लासले
जलेको खरानी हेरे झैँ
धनको मदहोससँगै ‘हामी’ जलाएपछि
जन दुश्मनहरुले
खाली अगाडिका
सुनको कलसमा सजाइएका
माल मात्र देख्ने रहेछन्
विश्वासको स्वास र
जीवनका आँशु नदेख्ने रहेछन्
केवल स्वार्थ मात्र
हेर्नेलाई के पत्तो
दाँयाबाँया
तलमाथि
र पछाडि पनि
मेरो विश्वासभित्र विशाल तप्का छ।
आफ्नो सर्वोच्च शिरलाई
आफैँले जोगाउनुपर्छ भनेर
बेइमानीको पराकाष्ठा नाघेका
लुटाहाहरूद्वारा
शिक्षा
स्वास्थ्य
उद्योग धन्दा
व्यापार व्यावसाय
प्रशासन
कानुन
सबै क्षेत्रहरूमा
दिनदाहाडै असहाय लुटिएको चित्कार छ
जताततै तस्ककरहरूकै
बोलबालाले गर्दा
देश प्रेम र मानवताको हाहाकार छ।
त्यसैले त
सर्वसाधरण मान्छेहरू
हिमाल पग्लिएर
नदी बनेझैँ
आँखा पगालेर
छाँगा भइ पछारिँदै
ठोक्किँदै झर्न
बाध्य भएका छन्
आज
राष्ट्रिय स्वाभिमान
कौडीमा बेचिएको छ
जेनतेन सँगालेको
इज्जतको बाँध फुटेर
स्वाभिमानको उचाइबाट
दुर्गन्धित खोलो बगेको छ
सार्वभौम नागरिक
अनागरिक बनेका छन्
निःस्वार्थीहरूका
पेट चाउरिएका छन्
स्वार्थीहरूका
कोखा फुकेका छन्
स्वदेश होस्
या विदेश
जहाँसुकै
मान्छे हॅँ भनेर बॅाच्ने आधारहरूमा
कालो पोतिएको छ
मुन्टो भुइँतिर जोतिएको छ
तस्करीहरूले
सल्काएको आगो
डडेलो बनेर
विश्व नै धुवाँको मुस्लोभित्र हराएको छ
गहिरो चोट लिएर आक्रोश पलाएको छ
उफ !
नरभक्षक
तस्करहरूलाई देख्दा
लाज लागेर पनि
आफ्नै छाया नजिक आउन डराएको छ
यस्ता देशमाराहरूलाई
हरेक महलबाट थुतेर
कुनाकाप्चाबाट खोजेर
जनसागरको बीच
तान्दै
न्यायालयअगाडि
उभ्याएर नाङ्गेझार पार्नुपर्छ
सिरमा टोपी ढल्काइ
धोती फुस्किएको
पत्तो नपाउने तस्करहरूलाई
थुकको नदी बनाएर बगाइदिनुपर्छ