✍ सुरेश सुवेदी, काठमाडौं
सूर्यविनायक नगर अस्पताल भक्तपुरमा कार्यरत ईश्वर नगरकोटी आफैं मेडिकल डाक्टर हुन् । पछिल्लो समय नगरकोटीको ध्यान काममा ‘फोकस’ हुन सकेको थिएन । स्वभाव परिवर्तन भएर मानिसहरूको सम्पर्क पनि झिँझो लाग्ने, त्यसै पनि थकाइ लागेको महसूस हुने र, एक्लै बस्न मन लाग्ने भएको थियो ।
सोही अस्पतालमा काम गर्ने काठमाडौं कलंकीनिवासी डाक्टर चन्दा कार्कीलाई पनि आफ्नो ‘इनर्जी’मा कमी आएको महसूस भयो । परिवार र साथीभाइले पनि बानी-ब्यवहारमा परिवर्तन आएको सुनाउथे । आफूले काम गर्ने अस्पतालको ल्याबमा परीक्षण गरे । रिपोर्टचाहिँ सबै ठिक छ.. ! तर काममा इच्छा नलाग्ने, बढी सोच्ने, निन्द्रा नलाग्ने समस्या भइरह्यो । फेरि परीक्षण गरे । फेरि पनि सबै ठिक देखियो ।
एमडी गर्ने सोचमा रहेका डाक्टरलाई बडो तनाव भयो । स्वभावहरू परिवर्तन भएको महशुस भयो । ’कन्फिडेट लेवल’ पनि घट्यो ।
मनोविद् एवम् युनिक मेडिटेसनकी प्रशिक्षक सोनी उप्रेती कार्की मनसम्बन्धी समस्यालाई भौतिक ल्याबमा पहिचान गर्न नसकिने बताउँछिन् । ‘भावनात्मक समस्या हो, समाधानका लागि भावनात्मक विधि नै उपयोगी हुन्छ’- सोनीको भनाइ छ ।
क्रोनिक हुन्छ मनोरोग
तनाव व्यवस्थापन गर्न नसक्दा मात्र होइन बिरामीको व्यवहारलाई नजिकबाट हेर्नेलाई पनि यस्तो समस्या देखिने मनोविद् एवम् प्रशिक्षक सोनीको भनाइ छ । उनका अनुसार जब भावनात्मक रूपले प्रभावित आफन्तलाई नजिकबाट देखिन्छ, यसका केही प्रभाव नजिकका आफन्तलाई पनि शुरु हुन्छ ।
मनोरोग तहगत रूपमा हुने सोनीको भनाइ छ । यो क्रमिकरूपमा जटिल बन्ने प्रकृतिको हुन्छ । यसका लक्षणहरू क्रमशः तनाव, बढी सोच्ने, डराउने, निन्द्रा नलाग्ने, कब्जियत हुने, सरसफाइमा इच्छा नलाग्ने, श्वास फेर्न कठिन हुने अनि बिस्तारै शरिरका अन्य भित्री अङ्गहरू वा मानिसक अवस्थामा नै असर गर्ने किसिमको हुन्छ ।
मेडिकल टेष्ट रिपोर्टमा केही समस्या नदेखिने, तर बेचैन हुने । बिस्तारै शारीरिक कष्ट शुरु हुने गर्दछ । मान्छेको स्वभावमा आउने परिवर्तन नै मनोरोगका लक्षण हुन् ।
हाम्रो दिमागले केही न केही कुरा सोचिरहन्छ भने त्यो सामान्य भयो, तर एउटै कुरा बारम्बार सोचिरहन्छ भने त्योचाहिँ समस्या नै हो । ‘त्यसपछि जानेर नजानेर त्यो व्यक्तिले अलि फरक शारीरिक व्यवहार देखाउन थाल्छ । बिस्तारै दैनिक क्रियाकलापमा असर पर्दै जान्छ ।’ उनी भन्छिन्, लामो समय एउटै विचार बारम्बार आउँदा एन्जाइटी र डिप्रेसन जस्तो मानसिक समस्या देखिन सक्छ ।
उपचार
नियमित औषधी सेवन गर्नु मात्र यसको उपचार होइन । यसका लागि सरल विधिहरू छन् । युनिक मेडिटेसन कलंकीकी प्रशिक्षिका सोनी उप्रेती कार्कीको दाबी छ, ‘विधिपूर्वक गरिने साधनाले यो समस्या बाट मुक्ति मिल्छ ।’
तर समस्या जटिल बनाउने वा बनेपछि मात्र चासो राख्ने आमप्रचलन रहेको छ । अधिकांश मानिसहरू श्वास फेर्न कठिन भएपछि मात्रै आउने गरेको सोनीको अनुभव छ ।
नेपाल हेल्थ रिसर्च काउन्सिलले अनुमति दिएको वैकल्पिक उपचार विधिको माध्यमबाट उपचार गराइने प्रशिक्षिका सोनीको भनाइ छ । उनका अनुसार ओमकार ध्यानको माध्यमबाट उपचार हुनेगरेको हो । डाक्टर नगरकोटीको अनुभवमा यो विश्वासिलो विधि छ । यस्तै, डाक्टर कार्कीलाई पनि यो ध्यान साधनापछि आफ्नो ‘इनर्जी’मा बढोत्तरी भएको विश्वास छ । डाक्टर कार्कीले भनिन्- ‘एमडीको कोर्ष अगाडि बढाउने हो ।’
नियमित औषधी सेवन गर्नु मात्र मनोसमस्याको उपचार होइन । विधिपूर्वक गरिने साधनाले पनि यो समस्या बाट मुक्ति मिल्छ ।
प्रतिक्रिया