सफल मान्छे

सफल मान्छे


✍ रामचन्द्र ढकाल ‘कोमल’

कस्तो जित दियौ दैव, सधैं हार मान्नुपर्ने
पीडा दिने मान्छेको नै, सबै भार धान्नुपर्ने
सधैं आउँछ सताउँछ, दोष मात्रै देखाउँछ
उसैलाई सधैंभरी, ठुलो भनी मान्नुपर्ने ।

एक थियो साथी मेरो, झुटोमात्र बोल्थ्यो सधैं
उसैलाई अरूसामु, सत्यवादी बन्नु पर्थ्यो
भाँचिएको मनलाई, काम्रो बाँधी फकाइरहेँ
टुनामुना के पो गऱ्यो, छान्दा उही छान्नुपर्ने ।

दशैँ आयो उसैलाई, राम्रो राम्रो चाहिने रे
चुक्ली मात्र गर्छ सधैं, कुरा काट्न पाइने रे
मिल्दो कुरा हुँदैहुन्न ,के के भन्छ भन्छ उ त
समाजमा मपाइँ अझै, आफैं ठुलो ठान्नुपर्ने ।

खाँदै खान्न भन्छ सधैं, घुसखोरी बन्नु हुन्न
देख्ने गरी दाम बाबै, कहीँकतै गन्नु हुन्न
भन्छ सधैं अघाएको, अभिनय गर्छ पनि
उसैलाई लुकाएर, कालो धन तान्नुपर्ने ।

अहो कति मिठा कुरा, कसम् पनि खान्छ ठुलै
यसो गरेँ उसो गरेँ, धाक पनि दिन्छ खुबै
छुट्टीएको हुन्न मिनेट धरी हात लाउँछ संगै
उसैलाई चोखो बनी, गफ ठुलो हान्नुपर्ने ।

दिल्ली जान्छ बेलायत, कता कता डुल्छ पनि
पढ्छु भन्छ पुस्तकहरू, दराजमा हुल्छ पनि
दिक्क भएं अब टाढा, बस्छु भन्छ सुनाउँछ
छेपारो झैं कुरा सबै, यहीँको नै जान्नु पर्ने ।