एनआरएन यूकेको आधिकारिक कार्यालयको उद्घाटन

एनआरएन यूकेको आधिकारिक कार्यालयको उद्घाटन


IMG_3055.JPGलण्डन । २९ सेप्टेम्बर, २०१३को सहमतिअनुसार १४-१५को लागि चुनिएका अध्यक्ष महेन्द्र कँडेलको सभापतित्वमा र महासचिव राजकुमार त्रिपाठीको सञ्चालनमा रहेको एक भेलामा गैरआवसीय नेपाली संघ यूकेको दक्षिण पूर्व लण्डनको विलविचमा आधिकारिक कार्यालयको उद्घाटन गरिएको छ । सो उद्घाटन कार्यक्रममा संस्थाको प्रमुख संरक्षक प्रो. सूर्य सुवेदीको प्रमुख आतिथ्य रहेको थियो भने लेबर पार्टीको तर्फबाट दक्षिणपूर्व लण्डन ग्रिविच बोरोह इल्थाम क्षेत्रबाट आगामी २०१६ मा हुने चुनावमा लेबर पार्टीबाट उठ्दै गरेका म्याथ्यु पेनिकोक र अर्का लेबर एमपी तथा स्याडो स्पोर्टस् मिनिस्टर क्लाइभ एफर्टको विशेष आतिथ्यलगायत हाउन्स्लो क्षेत्रको एक वडा हानवोर्थ पार्कका उपमेयर विष्णु गुरुङ्ग, गिनिज बुक अफ वल्र्ड रेकर्डमा सबैभन्दा होँचा व्यक्तिको रुपमा नाम दर्ता गराएका चन्द्र बहादुर डाँगीका साथै अन्य नेपाली संघसंस्थाका प्रतिनिधिहरुको पनि आतीथ्य रहेको थियो ।

संस्थाकी उपाध्यक्ष शान्ता थापा कुँवरबाट अतिथिहरुलाई खादा ओढाएपछि समाजका अर्का उपाध्यक्ष सूर्य नेम्वाङ्गले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै संस्थाको बारेमा आफ्नो सानो मन्तव्य राखेका थिए । संस्थाका सल्लाहकार सुरेशजँग शाहीले आफ्नो सानो मन्तव्यमा संस्थाको उत्तरोत्तर प्रगतिको लागि नयाँ अध्यक्षलाई शुभकामना दिएका थिए । यतीको वर्तमान अध्यक्ष उमेश मोक्तानलाई शुभकामना मन्तव्य दिनको लागि भनिएको आफ्नो मन्तव्यको क्रममा त्यसरी समय नछोट्याउन अनुरोध गर्दै आफ्नो मन्तव्यलाई छोट्याएका थिए । त्यस्तै प्रवासी नेपाली मञ्चका अध्यक्ष र गैरआवासीय नेपाली संघ यूकेका पूर्व महासचिव रामशरण सिंखडाले आफ्नो अर्थात् गैरआवासीय नेपाली संघभित्रको आन्तरिक कलहको बारेमा विदेशी पाहुनाहरुका सामु उदाङ्गो पार्नु भनेको बाँदरले आफ्नो घाउ आफै कोट्याएजस्तै हो भन्दै कसैले त्यसो नगर्न अनुरोध गर्दै प्रो. सूर्य सुवेदीको बेलायतबासी नेपालीहरुलाई एकतामा राख्नका लागि उनीबाछट गरिएका कार्यहरुको अनुदार गर्ने प्रकारका चर्चापरिचर्चाको घोर विरोध गरी मन्तव्य सकेका थिए । त्यस्तै अर्का वक्ताको रुपमा डा. पुरुषोत्तम पौडेलले एनआरएनए यूकेको आधिकारिक कार्यालयको उद्घाटन हुने दिन बेलायती नेपालीहरुका लागि ठूलो उपलब्धि हो भनेका थिए । बेलायती गैरआवासीय नेपाली संघभित्रको असहमतिलाई सुल्झ्याउने हो भनी आई.सी.सी. अध्यक्ष शेष घले बेलायतमा आएर दुबै तर्फका कुराहरु सुनेर हल निकाल्नेतिर लाग्नुपर्ने आवश्यकता रहेको मन्तव्यको अन्त्यमा बताएका थिए । कालजङ्ग लामा, विष्णु बहादुर गुरुङ्गले आआफ्नो सानो मन्तव्य राखेपछि लेबर पार्टीका युवा नेता म्याथ्यु पेनिकोकले २०० वर्षको इतिहासको महत्वको बारेमा संक्षिप्तमा बोल्दै नेपालीहरुलाई राजनीतिमा चासो लिन आग्रह गर्दै कार्यालयको उद्घाटनको लागि शुभकामना दिएर आफूलाई आगामी वर्षको आम चुनावको लागि प्रचारप्रसारमा जानको लागि हतार भएको भन्दै मन्तव्य सकेका थिए भने अर्का वक्ताको रुपमा लेबर पार्टीका छाया खेलकूद मन्त्री क्लाइभ एफर्टले इथिनिकल डाइभर्सिटीको कदर गर्दै नेपाली समुदायको बारेमा र नेपाली समाजको बारेमा विस्तृतमा बोल्दै नेपालीहरुलाई सेवा गर्न आफू हर्दम तयार रहेको बताएका थिए । भूपू गुर्खाहरुको त्याग र सेवाको मुक्त कण्ठले प्रशंसा गर्दै क्लाइभले कार्यालय उद्घाटनको लागि शुभकामना दिएका थिए ।

nrnukसंस्थाका प्रमुख अतिथि प्रमुख संरक्षक प्रो. सूर्य सुवेदीका हातबाट कार्यक्रमका सभापति तथा एनआरएनए यूकेका अध्यक्ष महेन्द्र कँडेल, तथा विशेष अतिथि एमपी क्लाइभ एफर्टका उपस्थितिमा पत्रकारितामा राम्रो गर्नेहरुमा त्रेय वाचस्पति रेग्मी, नवीन पोखरेल र राजेन्द्र भट्टलाई र समाजमा राम्रा काम गर्नेहरुमा किरण थेवे, शंकर दाहाल, रेशम र ज्ञान शेरचनलाई खादा ओढाएर सम्मान गरिएको थियो ।

प्रमुख अतिथि तथा प्रमुख संरक्षक सूर्य सुवेदीले आफ्नो मन्तव्य दिने क्रममा नेपालीहरु एक ठाउँ मा भेला हुन सक्ने स्थानको रुपमा खोलिन थालिएको गैरआवासीय नेपाली संघ यूकेको कार्यालयलाई एकताको रुपमा लिएको बताउँदै वास्तवमा गैरआवासीय नेपाली संघ यूकेमा कुनै प्रकारको अन्तरकलह वा असहमित नरहेको, समाजमा जान्ने र बुझ्ने अनि सम्पूर्ण आफ्नो स्वस्थ मानसिक अवस्थामा रहेर समाजकै उज्जवल प्रगतिको लागि राम्रो गरौं भन्दै सबैले मानेर गरिएको सम्झौता पत्रमा हस्ताक्षर गरेकोले र सो सम्झौतामा बताइएअनुसार अध्यक्ष, महासचिव र कोषाध्यक्ष मात्र बाँकी रहेको एक वर्षको लागि छानिएको र बाँकी सम्पूर्ण सदस्यहरुको उही कार्य समिति रहेकोले पनि संस्था दुई नभएको स्पष्ट हुन्छ र त्यसैले यहाँ ऊवाला र त्योवाला एनआरएनएको संस्था नभएको बताएका थिए । आईसीसीको तर्फबाट कसरी भर्खरै अर्को खालको प्रेस वक्तत्व आयो, त्योबारे भविष्यले बताउला भन्दै सोबारे आफूले नबोल्ने, आईसीसीको विरुद्धमा बोल्नु भनेको नेपाली समाजलाई नै अन्डरमाइन गर्नु हो भनेका थिए तर समाजले हामी यसरी चल्छौं, यसरी काम गर्छौं भन्दै सहमति गरिए त्यसको लागि कसैले अनुमोदन गर्नु र नगर्नुको मतलब नहुने विचार व्यक्त गर्दै संस्थाको आफ्नो कार्यालयको उद्घाटनले बेलायती नेपाली समाजलाई प्रगतिको अनि एकताको राम्रो बाटोमा लान्छ भन्ने आफूलाई लागेको मान्दै शुभकामना दिएका थिए ।

त्यसको लगत्तै गैरआवासीय नेपाली संघ यूकेको नयाँ पदाधिकारी अध्यक्ष महेन्द्र कँडेल, महासचिव राजकुमार त्रिपाठी र कोषाध्यक्ष ठाकुर शर्मालाई प्रमाणपत्रसहित खादा प्रमुख अतिथिको हातबाट प्रदान गरिएको थियो । मन्तव्यको क्रममा अन्तिममा बोल्दै गैरआवासीय नेपाली संघ, बेलायती नेपाली समाजमा विस्तारित एकत्रीत रुपमा आफ्नो कार्यकाललाई अगाडि बढाउने प्रण गर्दै कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष कँडेलले नेपालीहरुको मुख्य स्थलको रुपमा दक्षिण पूर्वी लण्डनस्थित ग्रीनविच रहेको जहाँ सबैभन्दा ज्यादा नेपालीहरु रहेकोले त्यहाँ एक केन्द्रको रुपमा गैरआवासीय नेपालीहरुको भेटघाट स्थलको रुपमा राखिने दृढता व्यक्त गर्दै मन्तव्य सकेका थिए । विश्वका होँचा व्यक्तिलाई चन्द्र बहादुर डाँगीलाई सम्मान व्यक्त गर्न प्रमुख अतिथि प्रो. सुवेदीको हातबाट खादा ओढाइएको थियो र साथमा कार्यक्रम सञ्चालक त्रिपाठीबाट डाँगीलाई सहयोग गर्नका लागि सबैलाई आग्रह पनि गरिएको थियो । अन्त्यमा सल्लाहकार भोजप्रसाद गुरुङ्गले सबैलाई सम्मान दिएका थिए ।

दोस्रो चरणको कार्यक्रमको लागि सो कार्यक्रम स्थलको तेस्रो तलास्थित संस्थाको आफ्नो कार्यालयको समुद्घाटन प्रमुख अतिथि तथा विशेष अतिथिबाट गरिएको थियो, त्यसको लगत्तै ग्राउण्ड फ्लोरमा नै खानाको प्रवन्ध गरिएको थियो र सोपश्चात् यही पन्ध्र तारिख गैरआवासीय नेपाली संघ यूकेको केन्द्रले जारी गरेको एक प्रेस विज्ञप्ति जसले योगेन्द्र बहादुर क्षेत्रीको अध्यक्षतालाई वाँकी रहेको वर्षको लागि भ्यालिड भएको र त्यसैगरी सो कार्यभारलाई सुचारु राख्न भनिएको थियो बारे छलफल तथा प्रश्न उत्तर गरिएको थियो । गैरआवासीय नेपाली संघ यूकेको कार्यकारी समितिको हकमा आफ्नो साथमा महासचिव र सचिवबाहेक अन्य नरहेको सो समूहलाई कसरी संस्थाको एक वर्षको बाँकी कार्यकाल सञ्चालन गर्ने काम लगायो केन्द्रले भन्ने आश्चर्यको रुपमा हेरिएको थियो । कार्य समितिले नै छोडेको अवस्थामा बेलायती नेपाली समाजको चाहानाअनुसार सम्झेर क्षेत्रीले हट्नुमा नै श्रेयस्कर हुने सबैले मानेका थिए सो कार्यक्रममा ।

uk1212पत्रकारहरुसँगको सानो बसाइको क्रममा प्रो. सुवेदीले २०१३मा भएको चुनावमा डा. हेमराज शर्माको र डा. पुरुषोत्तम पौडेलको अध्यक्षतामा गठित निर्वाचन आयोगबाट भएको दुइटा अधिवेशनमा गरिएको चुनावसम्वन्धी खर्चहरुलाई कटाएर बीसबीस हजार एनआरएनए यूकेको कोशमा राख्ने सम्झौता भएको र त्यसैअनुसार एक एक वर्षको लागि अध्यक्ष बनी संस्था चलाउने प्रतिवद्धता जारी गर्दै गरिएको सहमतिलाई संविद्यावद्ध मात्र आफूले आफ्नो नितान्त समय खर्चेर गराएको हो र आर्थिक हिनामिनासम्वन्धी मामिलाको लागि सोबेला नै भूपू अध्यक्ष सूर्य गुरुङ्गको अध्यक्षतामा एक आर्थिक समिति तयार गरिएको र त्यही समितिलाई सो विषयमा सोध्न भन्ने जवाफ खासगरी आर्थिक गतिविधिको प्रश्नमा दिएका थिए भने महेन्द्र कँडेलले प्लम्स्टेडमा भएको निर्वाचन आयोगबाट पारित गरिएअनुसार सदस्य शुल्क उच्च भएको भन्दै त्यसलाई प्रति व्यक्ति जम्मा चार पाउण्ड राखिएको र आफूले ६,४०० सदस्यहरु तयार पारेको बताएका थिए । साधारण सदस्य शुल्क पनि नबुझाउने कतिपय समाजका व्यक्तिहरुलाई एनआरएनएभित्र आर्थिक हिनामिना भएको भन्न नसुहाउने बताउने कँडेल धेरैअघि मेरोयूकेसँग खासगरी गैरआवासीय नेपाली संघ यूकेभित्र विद्यमान रहेको प्रचलन (नयाँ सदस्यहरु बनाउँदै आफैले तिनको पैसा राखिदिने) को विरोध पत्रकारहरुले गर्नुपर्ने बताएका थिए, जो निक्कै नै सान्दर्भिक मानिएको थियो । अध्यक्ष कँडेलमाथि लागेको आर्थिक हिनामिनाको आरोपको लागि किन योगेन क्षेत्रीले यो समय रोजे ? किन उनले पूरा एक वर्षको दौरानमा त्यो कुरा उठाएनन्, यो पत्रकारहरुले नै खोज्नुपर्ने कँडेलको धारणा रहेका थियो । गत १५ तारिख, एनआरएनए आईसीसीको वैठक नै नबसी, आफ्ना उपाध्यक्ष, महासचिवहरुलाई जानकारी नै नदिई एक्लै नै जस्तो गरी अध्यक्ष शेष घलेको तर्फबाट निकालिएको प्रेस विज्ञप्ति अमान्य यस कारणले पनि छ कि त्यसमा हस्ताक्षर नै छैन र यो विधानविपरीत छ र त्यसलाई गैरआवासीय नेपाली संघ यूकेले नमान्ने बताउने कँडेललाई ९० प्रतिशतभन्दा बेसी कार्यकारीलगायत एनआरएनएबाट आफूलाई साथ भएको अन्तिममा बताएका थिए । कार्यालय सचिव राखेर एक विधिवत कार्यालयको उद्घाटन गरिएको गैरआवासीय नेपाली संघले यो वर्षको अवधिमा धेरै नै परोपकारी कार्यहरु गर्ने, फण्ड राइजिङ्गका कार्यक्रमहरुको तर्जुमा गर्ने, नयाँ महिला विभाग खोलिएको र सोले महिलासम्वन्धी कार्यहरु तदारुकताका साथ गर्ने आदि कार्य योजनाहरुउपर काम भइसकेकोले महेन्द्र कँडेलको अध्यक्षताले अगुवाइ गर्ने समितिले निक्कै फलदायी कार्यहरु आफ्नो अवधिमा गर्नेमा आफू विश्वस्त रहेको महासचिव आरके त्रिपाठीले बताएका थिए ।

विलविचमा राखिएको गैरआवासीय नेपाली संघ बेलायतको कार्यक्रमलाई रेडियो राइनोले प्रत्यक्ष प्रशारण गरेको थियो ।
-रञ्जित बस्नेतसहित