आर्थिक मन्दीले निम्त्यायो विकृति : दिनदहाडै हुन थाल्यो चोरी !

आर्थिक मन्दीले निम्त्यायो विकृति : दिनदहाडै हुन थाल्यो चोरी !


जनताले तिरेको कर नेता र सरकारी कर्मचारीको आवश्यकता मात्र पूरा गर्दै सकियो । तलबभत्ता, सरकारी गाडी, विदेश भ्रमण गरेर सरकारले उठेको कर सकायो । नपुगेर विदेशीसँग हात थाप्ने काम भयो ।
✍ अनुशा थापा

केही समयअघि राजधानीको चाबहिलस्थित एक पसलमा व्यवसायीको क्रुर हत्या भएको थियो । एउटा सुनको सिक्रीका लागि सरस्वतीनगरमा दिनदहाडै महिलाको ज्यान लिइयो । यता, बैंकका कर्मचारीले समेत बचतकर्ताको खाताबाट रकम निकालेको घटना सार्वजनिक भयो । शेयर र घरजग्गामा डुबेर जुवाको लत लागेका ती हाकिमले पैसा चोरे । यो घटना एभरेष्ट बैंकको हो । माछापुच्छ्रे बैंकबाट पनि खाताबाटै पैसा हरायो । पछिल्लो समय गाउँदेखि शहरसम्म चोरी ह्वात्तै बढेको छ ।

दिँउसै चोरी गर्न थालिएको छ । दुई वर्षअघि यतिका चोरीका घटना सुनिँदैन्थ्यो । अहिले त बैंकका कर्मचारी नै चोर बनेका छन् । ग्राहकका खाताबाटै रकम चोर्न थालिएको छ । सार्वजनिक यातायातमा पाकेटमाराहरू ह्वात्तै बढेका छन् । घरमा पनि चोर पस्न थालेको छ । यस्तो किन भयो त ? चोरीका घटना एकाएक बढ्नुको कारण के ?

अहिले अधिकांश मान्छे बेरोजगार छन् । मन्दीका कारण रोजगारी गुमेको छ, काम लगाएकाले पनि तलब दिन सकिरहेका छैनन् । सहकारीमा काम गरिरहेका ६ लाख जनशक्ति रोजगारविहीन बनेका छन् । ठेकेदारहरू काम लगाउँछन्, तलब दिँदैनन् । व्यापार व्यवसाय गर्नेहरूलाई पनि उत्तिकै सास्ती छ । दिनभरि पसल कुरेर बस्यो, बोहनी पनि हुँदैन । पसल, निजी संघसंस्थालगायत अन्य क्षेत्रमा काम गरिरहेकाहरूको अवस्था पनि नाजुक भएको छ । सरकारले धमाधम करारका कर्मचारी निकाल्न थालेपछि उनीहरू पनि बेरोजगार भएका छन् । अहिले बजारलाई आर्थिक मन्दीले छपक्कै छोपेको छ ।

सहकारी डुबेपछि बचतकर्ताहरूको रोइलो लागेको छ भने बजार प्रतिनिधिहरूको त रोजगार नै छिनिएको छ । यहाँ घरायसी काम गर्नेहरू धेरै छन् । घरायसी काम गरेर आफ्नो घरखर्च टार्नेहरू यतिबेला मर्कामा परेका छन् । कि कामबाट निकाल्छन् कि तलब घटाउँछन् ! अनि कसरी आफ्नो गुजारा गर्ने ? मजदुरी गरेर बिहानबेलुका हातमुख जोर्नेहरूलाई पनि के खाऊँ के लाऊँ ? भन्ने अवस्थाले गाँजेको छ । एकातिर काम छैन्, अर्कोतिर काम गरेपनि तलब पाएका छैनन् ।

निजी संघसंस्थाले पनि आफूलाई नाफा भएसम्म कर्मचारीलाई तलब खुवाउने हो । आफैं घाटामा रहेको बताउँदै निजी क्षेत्रले धमाधम कर्मचारी हटाइरहेको छ । उसै त पहिले थोरै तलब दिन्थ्यो, अहिले त कामबाटै हटाइरहेको छ । होटल, रेष्टुरेण्ट, पसलहरूमा रोजगारी गरिरहेकाहरू पनि तनावमा परेका छन् । व्यापार नभएपछि साहुले धमाधम कामबाट निकालिरहेको छ, उनीहरूलाई कहाँ जानु र के खानु भएको छ । बेरोजगारी र महँगीले इमान्दारलाई पनि चोरी गर्नुपर्ने बाध्यता सिर्जना गरेको छ ।

बिहानबेलुका खानै पऱ्यो, त्यसको लागि पैसा छैन । अनि अन्तिम विकल्पका रुपमा चोरी गर्छन् । लुगा थोत्रा पुराना लगाए पनि हुन्छ । घर नभएपनि चल्छ । गाडी नचढे पनि हुन्छ । तर, खानु त पऱ्यो । दुई-तीन दिन खान पाएन भने मान्छे बेहोस हुन्छ । एक दिनभन्दा उता भोक खप्न पनि सकिँदैन । खान नपाएपछि दुइटा विकल्प हुन्छ- कि माग्ने कि त चोर्ने । भोक लाग्यो भनेर माग्दा पनि यहाँ दिनेहरू कमै हुन्छन् । खान नपाएपछि चोर्नुबाहेकको विकल्प नै रहँदैन ।

राज्यले जनतासँग कर लियो, सरकारमा जानेहरूले जनताबाट भोट लिए । देशको जनसंख्या भन्न राज्यले सिक्यो, तर जनताले पाउनुपर्ने कुनै हकअधिकार दिन सकेन । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता आधारभूत हकको संरक्षणसमेत राज्यले गर्न सकेन । आफ्नो दायित्वबाटै सरकार पन्छियो । देशमा उद्योग कलकारखाना छैन । जग्गा सबै घर र बाटो गर्दागर्दै सकिसक्यो ।

विदेशी ऋण निरन्तर उकालो लागिरहेको छ । एक जना नेपालीको टाउकोमा एक लाख रुपैयाँ ऋण पुग्नै लागिसक्यो । जनताले तिरेको कर नेता र सरकारी कर्मचारीको आवश्यकता मात्र पूरा गर्दै सकियो । तलबभत्ता, सरकारी गाडी, विदेश भ्रमण गरेर सरकारले उठेको कर सकायो । नपुगेर विदेशीसँग हात थाप्ने काम भयो । नेपालीहरू भेंडाबाख्रा झैँ विदेशमा बेचिएका छन् । उनीहरूले पठाएको विप्रेषणले तिनको घरपरिवार धानिएको छ । राज्य त्यसबाटै जसोतसो सञ्चालन भएको छ ।

राज्यकै कारण आज समाजमा यत्रो बेतिथि निम्तियो । सबैलाई रोजगारीको सुनिश्चितता गर्न सकेको भए दिँउसै चोरेर हिँड्नुपर्दैनथ्यो । नागरिकता दिँदैमा र नागरिक भन्दैमा राज्यको कर्तव्य पूरा हुँदैन नि ! थोरै सुनको लागि व्यक्तिको ज्यान लिने घटना कति कहालीलाग्दो छ ! सुन लगाएर हिँड्नु खतरा भएको छ । अब राज्यले यस्ता घटनालाई कसरी रोक्छ ? बेरोजगारीले समाजलाई कस्तो अवस्थामा पुऱ्याएको छ ? यो त स्पष्ट भइसकेको छ ।

सुनको लागि एउटा व्यक्तिको ज्यान गयो, एउटा जेल पऱ्यो । दुवै नेपाली थिए तर बेरोजगारीले त त्यो भनेन । राज्यका कारण समाजमा जटिल अवस्था बनिसकेको छ । सरकारले कि खान नपाएकालाई खान दिनुपऱ्यो, रोजगारी नभएकालाई रोजगारी दिनुपऱ्यो । कि भत्ताको व्यवस्था गर्नुपऱ्यो । भोट लिने, कर उठाउने, जनता भन्ने अनि हकअधिकार केही नदिने ? यहाँ पाँचदेखि १५ हजारमा महिनाभर काम गर्नेहरू छन् । त्यो पनि समयमा पाइदिए त हुन्थ्यो ।

काम गऱ्यो, तलब पाउनकै सास्ती हुन्छ । महँगी बढेको बढ्यै छ । घरधनीले हरेक तीन महिनामा भाडा बढाउँछ । यातायात व्यवसायीले वर्षमा चारचोटि गाडीभाडा बढाउँछ । तर, भाडा घटेको बेला घटाउँदैन । अनि कसरी गुजारा गर्ने ? काम लगाउने अनि तलब नै नदिने, यस्तो पनि हुन्छ ? कसैले जबर्जस्ती काम देऊ भनेका त थिएनन् । आफ्नो फाइदाका लागि काममा राख्ने अनि तलब नदिने । अनि नचोरेर के गर्ने ? चोर्नलाई बाध्य नै बनाइयो !

तलब नदिनेलाई सरकारले कानुनको दायरामा ल्याउनुपर्थ्यो । तर, सरकारले त्यसो गर्न पनि सकेन । कसैले काम लगाएबापत अनिवार्य १५ हजार रुपैयाँ तलब दिनुपर्ने प्रावधान छ । यद्यपि, कसले टेर्ने ? हरेक क्षेत्रमा श्रमशोषण छ । यातायातमा काम गर्ने मजदुरहरूले दुईदेखि पाँच हजार रुपैयाँ तलब पाउँछन् । होटल, रेष्टुरेण्टमा पनि त्यस्तै छ । अनि कसरी घरखर्च चलाउने ? धनीहरूले गरिबलाई भोकभोकै मर्नुपर्ने बाध्यता बनाइदिएका छन् । आम्दानी हुने र नहुनेले उति नै पैसा तिरेर सामान किन्नुपरेको छ ।

तलब थोरै छ भने घरधनीले भाडामा छुट दिँदैन । पसलेले सस्तोमा सामान दिँदैन । सबै वर्गका लागि सामानको दर उति नै छ, तर तलब त बराबर छैन । सरकारले आर्थिक अवस्था कमजोर भएकालाई राशन कार्डको व्यवस्थापन गर्नुपर्थ्यो । विडम्बना ! त्यो पनि गर्न सकेन् । धनीहरू देखासिकी गर्न महँगा-महँगाा सिक्री लगाएर हिँड्छन् । गरिबहरू तिनलाई मारेर जेल जान्छन् । धनी र गरिबबीचको अन्तर बढ्दै जाँदा मुलुकमा धेरै विकृति निम्तिन थाल्यो ।

पैसा हुनेहरूले गरिबको शोषण गर्न थाले । सार्वजनिक सवारी साधनमा पाकेटमाराको संख्या ह्वात्तै बढेको छ । अब सरकारले यसलाई कसरी न्यूनिकरण गर्ने भन्नेमा ध्यान पुऱ्याउनुपर्छ । हरेक क्षेत्रमा डामाडोल बनेको छ । राज्यले अर्थतन्त्रलाई ट्र्याकमा नल्याउँदाको कुनै विकल्प त दिनुपऱ्यो । गोजीमा पैसा नभएपछि नेपालीहरू अत्तालिएका छन् । बिहान खायो भने बेलुका के खाऊँ भन्ने अवस्था सिर्जना भएको छ । यो संकटको घडी हो । सबैले हातेमालो गरेमा यस संकटबाट बाहिर निस्किन सकिएला ।

यसका लागि मानवताको भावना चाहिन्छ । कुनै पनि उपाय नदेखेपछि कतिपयले आत्महत्याको बाटो रोजेका छन् । बैंक, फाइनेन्सले कर्जा तिर्न च्याप्नु भएन । घरधनीले भाडा तिर्न भन्दै तनाब दिन भएन । संकट सबैलाई परेको छ, त्यसैले सबैजना मिलेर धैर्य गरौँ । अहिले बजारमा विकृति बढ्नुको कारण आर्थिक मन्दी नै हो । सरकारले आर्थिक मन्दी हटाउन आफ्नो ठाउँबाट सक्दो प्रयत्न गर्नुपर्छ । बुढापाकाले भन्छन्, ‘बरु मागेर खाऊँ, चोरेर नखाऊँ !