निर्माण सुरु भएको एक दशकसम्म पनि बालाजु-त्रिशूली सडक सम्पन्न भएको छैन । निर्माणाधीन बालाजु-त्रिशूली ५५ किमी र त्रिशूली-छहरे ११ किमी मध्ये बालाजु-त्रिशूलीअन्तर्गत साँढे चार किमी मात्रै सडक निर्माण भएको छ ।
लामो समयसम्म निर्माण व्यवसायीले काम नगर्दा अवरुद्ध सडकको ठेक्का गत वर्ष तोडिए पनि कानुनी अड्चनका कारण नयाँ ठेक्कामा जान नसक्दा निर्माण रोकिएको बालाजु-त्रिशूली-छहरे-बिदुरसडक योजनाका इन्जिनियर सागर भण्डारीले बताए । उनका अनुसार विसं २०७०/७१ मा निर्माण कम्पनीसँग सडक निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।
बालाजुदेखि पीपलटारसम्मको सडक निर्माणको जिम्मेवारी आइपीएल र सैलुङ कन्स्ट्रक्सनलाई दिइएको थियो । पटक-पटक अवधि थप हुँदासमेत काम नभएपछि गतवर्ष ठेक्का तोडेको उनले बताए । अहिले बाँकी खण्डमा ठेक्का व्यवस्थापनको प्रक्रियामा अगाडि बढाउन लागिएको जानकारी उनले दिए ।
मुड्खु–तिनपिप्ले खण्डमा कालोपत्र भएपछि अहिले तिनपिप्लेबाट रानीपौवा खण्डको निर्माण बाँकी रहेको योजनाले जनाएको छ । ‘यसअघि काम गरेको निर्माण कम्पनीको मुद्दा चलिरहेको छ भने रानीपौवादेखि पिपलटारसम्म खण्डको पनि मुद्दा अदालतमा विचाराधीन छ’, इन्जिनियर भण्डारीले भनेका छन् ।
वर्षाको समयमा आवागमनमा निकै सास्ती हुने गरेको स्थानीयको भनाइ छ । अहिले सडक बिग्रिएको ठाउँमा काठमाडौँस्थित डिभिजन सडक कार्यालयले मर्मत गरिरहेको छ ।
इन्जिनियर भण्डारीले वर्षाको समयमा पनि आवागमन नरोकिने गरी मर्मत भइरहेको उल्लेख गर्दै भने, ‘तीनपिप्लेबाट-रानीपौवा १२ दशमलव ५१ किमी र रानीपौवा-पिपलटार ३३ दशमवलव ६९ किमी गरेर झण्डै ५५ किमी लम्बाइ छ । बालाजु-त्रिशूली ५५ किमी र त्रिशूली-छहरे ११ किमी गरी यस यो योजनाले ६६ किमी सडक निर्माण गर्नुपर्ने छ ।’
प्रतिक्रिया