‘अखण्ड भारत’ले सम्झाएको ‘विशाल नेपाल’को प्रशङ्ग

‘अखण्ड भारत’ले सम्झाएको ‘विशाल नेपाल’को प्रशङ्ग


भारतले हाल संसद्मा राखेको अखण्ड भारतको नक्सामा समेटेका भूभागभन्दा विशाल नेपालको अवधारणाले समेटेका भूभागहरू आधिकारिक र प्रमाणिक रहेका छन् । त्यसैले तत्काल विशाल नेपालको नयाँ नक्सा तयार गरेर नेपालको संसद्का साथै सबै जिल्ला प्रशासन कार्यालयहरूमा राखिनु बाञ्छित देखिएको छ ।
✍ डा. केशव देवकोटा

छिमेकी भारतको नयाँ संसद् भवनमा गत जेठ १४ गते अखण्ड भारतका नाममा टाँगिएको एक नक्साचित्रमा नेपालका विश्व सम्पदासूचीमा परेका लुम्बिनी र कपिलवस्तु तथा विराटनगरसहितका कतिपय ऐतिहासिक ठाउँहरूको नाम पनि समावेश गरिएपछि विवाद सिर्जना भएको छ । जसमा पाकिस्तानका तक्षशिलासहितका विभिन्न राज्य र शहरहरू समेत समावेश गरिएका छन् । सो घटनाको पाकिस्तानी विदेश मन्त्रालयले तत्काल प्रतिवाद गरिसकेको छ भने नेपालमा प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री जेठ १७-२० मा भारत भ्रमणमा पुगेर पनि कुनै प्रतिवाद भएन, न त हालसम्म भइरहेको छ । बरु उल्टै नेपालको कालापानी र लिपुलेक तथा लिम्पियाधुरा बंगलादेश जाने बाटोसँग सट्टापट्टा गर्ने र नेपालको भारतद्वारा मिचिएको ६० हजार हेक्टर जमिन भारतलाई नै छाडेर फाष्ट ट्रयाकबाट सीमा सम्झौता गर्ने प्रशङ्ग आएपछि नेपालको सडकदेखि सदनसम्मको वातावरण तातिएको छ । जसले स्वतः सन् १८१६ अघिको विशाल नेपालको भूभागलाई सम्झना दिलाएको छ, नेपालको संसद्मा पनि विशाल नेपाल (ग्रेटर नेपाल) को नक्सा राख्नुपर्ने आवाज उठेको छ ।

कुनै समय पूर्वमा टिष्टादेखि पश्चिममा सतलजसम्म पुगेको नेपालको भूमि कथित सुगौली सन्धीपछि मेची र महाकालीमा खुम्चिन पुगेको हो । सुगौली सन्धिअनुसार नेपाल मेचीदेखि महाकालीसम्म सीमित गरिएपनि त्यसको पनि सुनिश्चितता गरिएको थिएन । जसले गर्दा कालापानी–लिम्पियाधुरा, सुस्ता, मेची क्षेत्र, टनकपुर, सन्दकपुर, पशुपतिनगरसहित ५४ स्थानमा सीमा विवाद अद्यापि रहरिहेकै छ । सन् १८१५ को डिसेम्बर २ मा ब्रिटिश इन्डिया र नेपालका अधिकारीबीच सीमा विवाद समाप्त गर्नका लागि भएको भनिएको सुगौली सन्धी तीन महिनापछि मात्र कार्यान्वयनका लागि भन्दै सन् १८१६ को मार्च चारमा नेपालको मकवानपुरमा नेपालका तर्फबाट चन्द्रशेखर उपाध्याय र ब्रिटिश इन्डिया कम्पनीका तर्फबाट जनरल डेविड अक्टरलोनीले सन्धीका दस्तावेज एक अर्कालाई सुम्पिएको देखिएको छ । साथै स्मरणीय के पनि छ भने हाल नेपालसँग विवादित भूभागबारे सन् १८३० पछि मात्र आधिकारिक दस्तावेज तयार भएको देखिएको छ । यस आधारमा १८३० अघिसम्म पनि उक्त भूभागहरू नेपालकै अधीनमा रहेको बुझ्न सकिने अवस्था छ । यसले पनि सो सन्धी शुरुमै विवादित रहेको स्पष्ट हुन्छ ।

सुगौली सन्धी हुनुअघि पूर्वमा दार्जिलिङ र टिष्टा, दक्षिण-पश्चिममा नैनीताल, पश्चिममा कुमाउ, गढवाल, वासहरजस्ता क्षेत्र नेपालको अधीनमा रहेका थिए । ती क्षेत्रलाई नेपालले अढाइ दशकको अवधिमा विभिन्न समयमा भएका युद्धमार्फत जितेको थियो । समुद्रगुप्तको इलाहावादको एउटा अभिलेखमा नेपाल भन्ने देश कामरुप र कर्तीपुरको बीचमा पर्छ भन्ने उल्लेख छ । त्यसअनुसार नेपाल हाल भारतमा रहेको आसाम र कुमाउ गढवालसम्म रहेको स्पष्ट हुन्छ ।

मध्यकालमा पश्चिमका खस मल्ल राजाहरूले कुमाउ र गढवाल जितेका र ३०० वर्षसम्म शासन गरेका विभिन्न प्रमाणहरू पनि रहेका छन् । भीमसेन थापाको पालामा कुमाउ गढवालभन्दा पनि अघिबढेर नेपालले बाह्र अठार ठकुराई भन्ने राज्यहरूलाई समेत जितेर सतलज नदीसम्म आफ्नो सीमा बिस्तार गरेको थियो । ईसापूर्व हजार वर्षपहिलाको अथर्ववेद र कौटिल्यको अर्थशास्त्रमा पनि विशाल नेपालका बारेमा ब्याख्या गरिएको पाइन्छ । लुम्बिनीमा स्थापित सम्राट अशोकको २२०० वर्ष पुरानो स्तम्भ ‘अशोक स्तम्भ’मा समेत लुम्बिनी नेपालको भएको उल्लेख छ । नेपालसँग सुगौली सन्धी गर्ने इष्ट इण्डिया कम्पनी (बेलायत) ले सन् १९४७ अगष्ट १५ मा भारत छाडेपछि उसले सुगौली सन्धीमार्फत कब्जा गरेको नेपालको भूभाग पनि फिर्ता गरिसकेको अवस्था रहेको छ । नेपाल र भारतका बीचमा भएको सन् १९५० को सन्धीको अनुच्छेद ८ मा पनि ‘यसअघि ब्रिटिश इन्डियासँग भएका जति पनि सम्झौता थिए, ती सबै रद्द भएको मानिने छ’ भन्ने उल्लेख छ । तर भारतका पछिल्ला शासकहरूले नेपालको उक्त भू–भाग जबर्जस्त उपयोग गरिरहेका छन् ।

त्यतिले मात्र नपुगी उनीहरूले सिङ्गै नेपालमा गिद्देदृष्टि लगाएको अवस्था छ, जुन कुरा हालै भारतीय संसद् भवनमा राखिएको अखण्ड भारतको नक्सामा नेपालका भूभागहरूसमेत अङ्कित गरेबाट स्पष्ट हुन्छ । नेपालका शासकहरूले संयुक्त राष्ट्रसंघ लगायतलाई गुहारेर अझै पनि सुगौली सन्धीमार्फत गुमेको आफ्नो भूभाग स्थापित गराउन सक्ने अवस्था छ, तर त्यस्तो प्रयाससम्म पनि हुन सकिरहेको छैन । भारतले नेपाली भूमिलाई समेत समेटेर ‘अखण्ड भारत’को नक्सा आफ्नो संसद् भवनमा राखेका कारण नेपालले पनि अब ‘विशाल नेपाल’को नक्सा आफ्नो संसद् भवनमा राख्नु अनिवार्य भएको छ । जसका लागि संसद्मा रहेका प्रतिपक्षी दलहरूले अभियान र आन्दोलन थाल्नु जरुरी देखिन्छ ।

अंग्रेजहरूले सन् १८१४ नोभेम्बर १ देखि नेपालमाथि आक्रमण शुरु गरेको देखिन्छ । नेपाल र अंग्रेजबीच पाँचवटा (महाकाली पारिका दुई र महाकाली पूर्वका तीनवटा) किल्लामा लडाइँ भएको थियो । महाकालीपूर्व नेपालले आफूलाई अडिग राखेको थियो, जसले गर्दा अंग्रेजहरू छिर्नै सकेनन् । पश्चिमतर्फकोे लडाइँ भने नेपालले हारेको थियो । त्यसपछि मात्र सुगौली सन्धीको प्रशङ्ग आएको थियो । जुन सम्झौताबाट नेपालले महाकालीदेखि सतलजसम्मको क्षेत्र गुमाउनु परेको हो । नेपाल पूर्वतर्फ टिष्टादेखि ७० किलोमिटर पूर्व नगरकट्टासम्म पुगिसकेको थियो, जसमा सिक्किमको तीन चौथाइ भाग नेपालतर्फ नै थियो ।

आश्चर्यको विषय के छ भने सुगौली सन्धीको सक्कलप्रति हालसम्म पनि फेलापरेको छैन । भनिन्छ, सो सन्धीमा नेपालकातर्फबाट तत्कालीन राजा वा प्रधानमन्त्रीको हस्ताक्षर छैन । जसमा अनाधिकारिक ब्यक्ति चन्द्रशेखर र गजराज मिश्रको हस्ताक्षर मात्रै छ । तिनलाई वार्ता गर्न मात्र पठाइएको थियो, सन्धीमा हस्ताक्षर गर्ने लगायतका अधिकारहरू दिइएको थिएन, जसले गर्दा सुगौली सन्धीको वैधानिकतामाथि समेत प्रश्न उठेको छ । सुगौली सन्धीका कतिपय ठाउँमा बेलायत सरकार र कतिपय ठाउँमा इष्ट इन्डिया कम्पनी भनेर लेखिएको पाइन्छ । त्यसैले यो सन्धीको जवाफदेही हालको बेलायत सरकार नै हुनुपर्नेमा द्विविधा रहन्न । नेपालका शासकहरूले पहल गर्ने हो भने बेलायत सरकार जवाफ दिन बाध्य हुने अवस्था छ ।

पछिल्ला दिनमा नेपालका विशाल नेपालका अभियन्ताहरूले ब्रिटिश शासकहरूसँग अनौपचारिक कुरा गर्दा उनीहरूले नेपालले आफ्नो गुमेको भूभाग प्राप्त गर्ने पहल गरेको खण्डमा आफूहरूले स्पष्ट बोल्ने उत्तर दिएका विवरणहरू पनि बाहिर आएका छन् । जंगबहादुरले चार जिल्ला बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फर्काउन सकेको घटनाले पनि नेपालले सुगौली सन्धीबाट गुमाएको अन्य भूभाग पनि फिर्ता हुन सक्छ भन्ने मान्यता रहेको छ । इतिहासकारहरूका अनुसार नेपाल विस्तार हुँदा यसले ओगटेको क्षेत्रफल दुई लाख चार हजार ९ सय १७ वर्ग किलोमिटर थियो भने हालको क्षेत्रफल एक लाख ४७ हजार १८१ वर्ग किलोमिटर रहेको छ । पछि फिर्ता आएका भूभागबाहेक सुगौली सन्धीबाट नेपालले झण्डै ६० हजार वर्ग किलोमिटर भूभाग गुमाएको अवस्था छ । हालको भारत नामक जुन देश छ, त्यो भारतीयहरूले नभएर ब्रिटिशहरूले बनाइदिएको हो । अर्थात् भारतको एकीकरण नै उनीहरूले गरिदिएका हुन् । भनिन्छ- ब्रिटिश आउनुअघि त्यहाँ ६३० वटा भन्दा बढी राज्य थिए ।

दोश्रो विश्वयुद्ध जितेको खुसीयालीमा ब्रिटिशले १९४७ अगष्ट १५ मा भारतलाई स्वतन्त्र गरिदिएका थिए । त्यसअघि उनीहरूले पाकिस्तानलाई पनि स्वतन्त्र भएको घोषणा गरेका थिए । बेलायती संसद्ले सन् १९४७ को जुलाई १८ मा भारत स्वतन्त्रता ऐन पारित गरेको थियो । ग्रेटर नेपालको अभियान चलाउँदै आएका फणिन्द्र नेपालले विभिन्न आलेखहरूमा उल्लेख गर्नुभएअनुसार नेपालले आफ्ना गुमेका भूभागहरू प्राप्त गरेमा नेपालको भूगोल बढेर दुई लाख चार हजार ९१७ वर्ग किलोमिटर पुग्नेछ । भूगोल र जनसंख्या दुवै आधारमा विश्वका ठूला देशहरूको सूचीमा नेपाल माथि उक्लिने छ । नेपालको पूर्वी सीमाना भुटान र बंगलादेशसित जोडिने छ । टिष्टा नदी नेपालमा पर्ने छ । टिष्टा बगेर ब्रम्हपुत्रमा मिसिन्छ । ब्रम्हपुत्रबाट समुद्रसम्मको पहुँच हुन्छ । यसरी नेपाललाई आफ्नै पारवहनको स्थायी मार्ग प्राप्त हुने छ ।

सुगौली सन्धीअगाडि नेपालको भूभागभित्र पर्ने हालको भारतको उत्तराखण्ड, हिमाञ्चल प्रदेश राज्यका साथै साना, साना पञ्जाबी पहाडी राज्यहरूका सतलज नदी र त्यसको पारीसम्मका भूभाग कांगडा सम्म, पूर्वतर्फ सिक्किम, दार्जिलिङ र टिष्टा नदीसम्मका भूभागहरू ‘विशाल नेपाल’अन्तर्गत रहेका छन्, जसको कूल क्षेत्रफल ३,३४,२५० वर्ग किलोमिटर रहेको छ । भारतले हाल संसद्मा राखेको अखण्ड भारतको नक्सामा समेटेका भूभागभन्दा विशाल नेपालको अवधारणाले समेटेका भूभागहरू आधिकारिक र प्रमाणिक रहेका छन् । त्यसैले तत्काल विशाल नेपालको नयाँ नक्सा तयार गरेर नेपालको संसद्का साथै सबै जिल्ला प्रशासन कार्यालयहरूमा राखिनु बाञ्छित देखिएको छ ।