कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्यटकीय आकर्षण बढाउन भीरमौरीको मह काट्ने (हनि हन्टिङ) कार्यक्रम सञ्चालन गरिने भएको छ ।
माछापुच्छ्रे गाउँपालिका-९ स्थित सिदिङ युनाइटेड क्लबको आयोजनामा ‘हनि हन्टिङ’ गर्न लागिएको सो वडाका अध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र)ले जानकारी दिएका छन् । मर्दी खोलाको आधार शिविरमा पर्ने ठूलो भीर र कोप्रे भीरमा जेठ २८ र २९ गते दुई दिनसम्म ‘हनि हन्टिङ’ कार्यक्रम गरिने उनको भनाइ छ ।
जेठ असारमा भीरमौरीको सिकार गर्नु उपयुक्त समय भएकाले पर्यटकीय आकर्षणको केन्द्र बनाउने उद्देश्यसहित कार्यक्रम गरिएको वडाध्यक्षले बताए । यो समयमा ‘हनि हन्टिङ’ निकै चुनौती र जोखिमपूर्ण रहेको बताइन्छ । जेठ र असारमा काटेको भीर मौरीको सिकार गर्नु अलिक बढी खतरा मानिन्छ, सुरक्षा चुनौतीको समाना गर्न वडाले समन्वय गरिरहेको छ । यो पर्यटकीय आकर्षणको केन्द्र बन्नसक्छ ।
स्थानीय मेखबहादुर तामाङका अनुसार ‘हनि हन्टिङ’ मा प्राचिन तरिकाले जसरी मह काटिन्थ्यो त्यसरी नै काटिनेछ । यो नयाँ पुस्ताका लागि नौलो हुने उनको विश्वास छ । ‘हनि हन्टिङ’ हुने भीर मर्दी हिमाल ट्रेक तथा माछापुच्छे« नमूना पैदल मार्गको सङ्गमस्थल हो । ‘हनि हन्टिङ’ कार्यक्रमले पदयात्रामा जाने पर्यटकका लागि समेत आकर्षण थपिने तामाङले बताए । भीर मौरीको मह काट्नका लागि दिन हेराएर साइत जुराउने प्रचलन रहेको जानकारी पनि उनले दिए ।
प्रतिक्रिया