सरोकारवाला सांसद भन्छन्- ‘ब्रोकर लाइसेन्स रोक्ने निर्णय हामीलाई नै थाहा छैन’

सरोकारवाला सांसद भन्छन्- ‘ब्रोकर लाइसेन्स रोक्ने निर्णय हामीलाई नै थाहा छैन’


दुई तिहाई सांसदलाई थाहै नदिइ अर्थ समितिको कीर्ते निर्णय

अर्थ समितिले आफ्नो बहुमत सदस्यलाई थाहै नदिइ नयाँ ब्रोकर लाइसेन्स रोक्ने निर्णय गरेको खुलासा भएको छ । अर्थसमितिमा सुरुमा सबैलाई हाजिरी गराएर दुई तिहाईभन्दा बढी संसदहरू हिँडिसकेपछि समितिका सभापति (जेष्ठताको आधारमा) सांसद सन्तोष चालिसे, सांसद पदम गिरीलगायत केही सांसद र अर्थ समितिका कर्मचारीलगायतकोे मिलेमतोमा केही स्वार्थी समुहको प्रलोभनमा परी नयाँ ब्रोकर लाइसेन्स रोक्न निर्देशन दिएको सम्बद्ध सरोकारवालाहरू बताउँछन् ।

‘सोमबार सामसामयिक विषयमा छलफल गर्ने भन्दै बैंठक बोलाइयो र निर्धारित समयभन्दा २ घण्टा ढिलो गरी बैंठक सुरु भयो, बैठक सुरु भएपछि हामीलाई हाजिर गराएर अध्ययनका लागि भन्दै एउटा पत्र बाँडियो, तर त्यस विषयमा कुनै छलफल भएन’, अर्थ समितिका एक सांसदले भने- ‘तर पछि संचारमाध्ययम र सामाजिक संजालबाट अर्थ समितिले ब्रोकर लाइसेन्स रोक्न निर्देशन दियो भन्ने थाहा पाइयो ।’ साथै सोमबार कुनै पनि छलफल नगराइ धेरै सांसद हिँडिसकेपछि स्वार्थकेन्द्रित रुपमा ब्रोकर लाइसेन्स रोक्ने निर्णय गरिएको समेत ती सांसदले जानकारी दिए ।

अर्थ समितिका सीमित सांसदले सर्वोच्चको निर्णय र सेयर लगानीकर्ताहरुको ठूलो जमातलाई असर पर्ने निर्णय गर्दा त्यसले निर्णयमा सामेल नभएका सांसदहरुलाई समेत नकारात्मक असर पुगेको ती सांसदले जानकारी दिए ।

‘अर्थ समितिका सभापति र केही सांसदले हामीलाई जानकारी नदिइ, छलफल नै नगरी ब्रोकर लाइसेन्स रोक्न भन्दै निर्देशन दिनुभयो,’ ती सांसदले भने, ‘तर अहिले सामाजिक संजालमा अर्थसमितिका हामी २४ जना सांसदको मोबाइल नम्बरसहितको नाम राखेर यिनीहरुले पैसा लिएर ब्रोकर लाइसेन्स रोक्न निर्णय गरे भन्दै बदनाम गराइरहेका छन् ।’

सर्वोच्चको फैसलाअनुरुप धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्स वितरण गरिसकेको अवस्थामा अर्थसमितिले समिति स्वार्थी समुहको प्रलोभनमा परी तत्काललाई उक्त काम नै रोक्नु भनी निर्देशन दिनुले पुँजी बजारको विकासमा ठूलो धक्का लागेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । साथै सामाजिक संजालमार्फत लगानीकर्ताहरुले अर्थसमितिका सिमिति केही सांसदहरुले पैसा लिएर पुराना ब्रोकरको स्वार्थमा सिन्डिकेट लगाउने काम गरेको भन्दै विरोध गरेका छन् । यसअघि पनि अर्थ समितिलाई सीमित स्वार्थ समुहको प्रलोभनमा परी तत्काल नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न नहुने निष्कर्ष निकालेको आरोप लागेको थियो ।

यता, जेष्ठताका आधारमा अर्थ समितिका सभापतित्व गर्दै आएका नेपाली कांग्रेसका सांसद सन्तोष चालिसे भने बोर्डले नियमसंगत गरिकाबाट लाइसेन्स दिएको छ कि छैन भनेर अध्ययन गर्नका लागि तत्कालका लागि कार्यान्यनमा नगर्न निर्देशन दिएको बताउँछन् ।

‘हामीले सर्वोच्च अदातलको बर्खिलाफमा गएर नयाँ ब्रोकर लाइसेन्स रोक्नेगरी निर्देशन दिएका होइनौं, अहिले यस विषयमा धेरै कुराहरु आएको छ, म अहिले पनि अर्थसमितिमै सचिवसँग छलफलमा छु, केही दिनमै अर्को बैंठक बसेर टुङ्गो लगाउने छौँ’- उनले भनेका छन् । साथै, अर्थ समितिमा उपस्थित भएर हाजिरी गरिसकेपछि उक्त सांसदहरुले उक्त निर्णयमा हाम्रो संलग्नता छैन भनेर उम्किन नमिल्ने चालिसेको तर्क छ ।

यस्तै अर्थसमितिले पुराना ब्रोकरसँगको साठगाँठका आधारमा नयाँ ब्रोकर लाइसेन्स रोक्न निर्देशन दिएको र निर्देशन दिनुपूर्व उक्त ड्राफ्ट नै ब्रोकरसँग सल्लाह गरेर तयार गरिएको आरोप लागेको छ । तर यस विषयमा कुरा गर्दा अर्थ समितिका सचिव रेखा उपाध्याय भने आफुलाई सभापतिज्यूले जे निर्णय लेख्नु भन्नुभयो सोही कुरा लेखेर हस्ताक्षर गरेको बताइन् । ‘मैले सभापतिज्यूले भनेझै निर्णय लेखेर उहाँलाई नै देखाएका हस्ताक्षर गरेको हुँ’, उनले भनिन्- ‘तर नयाँ ब्रोकर लाइसेन्स रोक्ने निर्णय कसरी भयो भन्ने विषयमा सभापतिज्यूलाई नै सोध्नुहोला ।’

तर अर्थ समितिका अघिकांश सांसदहरुले भने ब्रोकर लाइसेन्स वितरण प्रक्रिया रोक्ने सम्बन्धमा आफुहरुलाई कुनै जानकारी भएको बताउँदै आएका छन् । ‘बैंठक सुरु भएपछि धितोपत्र बोर्डले पठाएको पत्र अध्ययनका लागि भन्दै बाडियो तर समितिभित्र कुनै छलफल भएन,’ ती सांसदले भने, ‘हामी पत्र बोकेर हिँड्यौं तर पछि ब्रोकर लाईसेन्स वितरण प्रक्रिया नै रोक्ने भन्दै निर्देशन दिइएछ ।’ समिति व्यक्तिले त्यसरी निर्देशन दिँदा अहिले सामाचार माध्ययमदेखि सामाजिक संजालहरुमा समेत आफ्नो बदनाम भैरहेको उनको गुनासो छ ।

यसैगरी अहिले अर्थ समितिले निहित स्वार्थमा सर्वोच्च अदालतको बर्खिलापमा निर्णय गरेको नयाँ ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले बताए । ‘संविधानको धारा १२८ बमोजिम सम्मानित सर्वोच्च अदालतको निर्णय कार्यान्वयन गर्ने दायित्व जनप्रतिनिधि लगायत सबै निकायको रहन्छ,’ उनले भने, ‘पुँजी बजारमा भएको यति ठूलो प्रगतिलाई रोक्न सिमित व्यक्तिको स्वार्थमा गरिएको अर्थ समितिको यस्तो पूर्वाग्रही निर्देशनलाई तत्काल खारेज गरिनुपर्छ ।’