यसरी चलेको थियो भारतवर्षमा विवाहको चलन

यसरी चलेको थियो भारतवर्षमा विवाहको चलन


वैवाहिक समाजका प्रणेता श्वेतकेतुबारेका केही तथ्य :

✍ डिल्ली अम्माई

‘परम्परागत विवाहबारे इतिहास के भन्छ ?’ भन्ने लेखमा उल्लेख गरिएका एक पात्र श्वेतकेतुबारे धेरै पाठकको जिज्ञासा जागेको देखियो । उनको बारेमा उपनिषद् तथा पुराना साहित्यमा भेटेका केही तथ्यहरू यस लेखमा राख्ने प्रयास गरिएको छ ।

पश्चिमी प्राग सभ्यतामा विवाहबारे खोजी गर्दा भेटिएको प्रमाणको आधारमा प्रथम विवाह समारोहको पहिलो प्रमाण मेसोपोटामियामा इपू २३५० को भेटिएको छ । अहिलेसम्मको प्रमाणिक पहिलो विवाहको शुरुवात त्यही हो । तर, हाम्रो पूर्वीय सभ्यतामा त्यस्तो प्रमाण खासै भेटिएको छैन । तथापि, महाभारतकालको पुर्वार्धमा विवाहलाई संस्थागत गर्ने ब्यक्ति ऋषि गौतमका वंशज र उद्दलक, अरुणीका छोरा श्वेतकेतु र छोरी सुजाता भएको उल्लेख गरिएको छ । त्यसैलाई आधार मानेर यौनलाई ब्यवस्थित गर्ने ब्यक्ति श्वेतकेतु हुन् भनेर अनुमान लगाउन सकिन्छ ।

रामायणकाल र त्योभन्दा अगाडि महिलाहरू पूर्णरूपले स्वतन्त्र थिए र, तिनीहरूले जनावर र चराहरू जस्तै, जसलाई चाहन्थे ऊसँग सम्भोग गर्न सक्थे । ऋतुदानको समयमा मात्र पत्नीले पतिसँग यौनसम्पर्क गर्थे, अन्यथा स्वतन्त्र हुन्थे । त्यो बेला नारीको यही वैदिक धर्म थियो जसलाई सबैले पालना गर्थे । तर यो नियमलाई श्वेतकेतुले परिवर्तन गरेको कुरा रामायणमा छ । सन्तान नै नभएको अवस्थामा चाहेको पुरुषबाट सन्तान जन्माउन सक्ने तर सामान्य अवस्थामा आमनागरिकले उनको नियम अपनाउनुपर्ने श्वेतकेतुले नियम बनाएका थिए ।

पौराणिक उपनिषद् र साहित्यमा लेखिएअनुसार, पाण्डुकालमा उद्दलक नामका एक प्रसिद्ध ऋषिका एकमात्र श्वेतकेतु नामक पुत्र थिए । एक पटक श्वेतकेतु आफ्नी आमा-बुवासँग बसिरहेको बेला एक परिव्राजक (बाह्य पुरुष) आएर श्वेतकेतुकी आमाको हात समातेर भने, ‘आऊ सम्भोगको लागि जाऔँ !’ त्यसपछि परिव्राजकसँग सुत्न ऋषि उद्दलककी पत्नी अरुणिका गइन् । त्यो दृश्य देखेर श्वेतकेतु क्रोधित भए र बुबासँग जवाफ मागे । उनको बुबाले ‘वैदिक कानुनअनुसार महिलाले चाहेको ब्यक्तिसँग सम्भोग गर्न गाईजस्तै स्वतन्त्र छ’ भनेर जवाफ फर्काए ।

त्यसको झोकमा श्वेतकेतुले ‘नारीले आफ्नो पतिप्रति वफादार हुनुपर्छ र अन्य पुरुषसँग यौनसम्पर्क गर्नु भ्रुणहत्या जस्तै हुनेछ, त्यसैले पत्नी पतिसँग बाहेक अन्यसँग सम्भोग नगरुन्’ भन्ने नियम बनाए । त्यसपछि उनैले एक पति प्रथा भएको वैवाहिक रीतको शुरुवात पनि गरे र समाजमा परिवारवादले जन्म लियो ।

ऋषि गौतमका वंशज र उद्दलक-अरुणीका छोरा श्वेतकेतुको कथा मूलतः उपनिषद्मा आउँछ । उनी एक वैदिक समाजसुधारक दार्शनिक मात्र नभइ वैदिक गुरुकुलका एक शिक्षक पनि थिए । राजा जनकसँग भेट गर्दा पञ्चाल देशबाट आएका श्वेतकेतु पनि उपस्थित भएका प्रसङ्ग पनि रामायणमा छ । अद्वैत वेदान्तको महावाक्य ‘तत्वमसी’ दर्शनका प्रवर्तक उनका पिता उद्दलक हुन् । उनी अष्टाबक्र ऋषिका मावली हजुरबा पनि हुन् । अष्टाबक्रका बुबालाई राजा जनकको सभामा तर्कमा हारेको भनेर मारिएको थियो । त्यसैले अष्टाबक्र टुहुरा थिए । पछि अष्टाबक्रले त्यसको तर्क जितबाजीबाटै बदला लिए र भारतवर्षमा मानवताको बिजारोपण गरे ।

श्वेतकेतुको विवाह देवल ऋषिकी छोरी सुवर्चलासँग भएको थियो । भनिन्छ, श्वेतकेतुले नै पुरुषका लागि एक पत्नी व्रत र महिलाका लागि एक व्रतको नियम समेत बनाए र त्यसको ब्यापक प्रचार गरी समाजमा स्थापित गराइछाडे । उनको त्यही ब्यवस्थाले गर्दा वैदिक यौन स्वतन्त्रताको नियम समाप्त हुँदै गयो ।

त्यसैले पुराना साहित्य र पुराणहरूको आधारमा पूर्वीय समाजको महाभारत क्षेत्रमा वैवाहिक सपथ र समारोहको चलन श्वेतकेतुले नै चलाएको मानिन्छ । प्रथम विवाहबारे त्योबाहेक अन्य लिखत अहिलेसम्म कहीँ-कतै भेटिएको छैन ।