यातायात व्यवस्था विभागले ‘मास प्रिन्टर’ खरिद प्रक्रिया अघि बढायो

यातायात व्यवस्था विभागले ‘मास प्रिन्टर’ खरिद प्रक्रिया अघि बढायो


एकैपटक धेरै चालक अनुमतिपत्र छाप्ने उपकरण (मास प्रिन्टर) खरिदका लागि तयारी अघि बढाइएको छ । यसअघि बोलपत्र आह्वान गरिएकामा कसैको पनि आवेदन परेको थिएन भने यो पटक चार कम्पनीले आवेदन दिएका छन् ।

आवेदन परेकाहरूको मूल्याङ्कनको काम भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ । सकेसम्म यो वर्ष नभए अर्काे वर्ष ‘मास प्रिन्टर’ खरिदका लागि ठेक्का सम्झौता हुने विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले बताएका छन् । उनले भनेका छन्– ‘वर्ष र अर्काे वर्ष खर्च गर्नुमा खासै फरक हुँदैन ।’

सरकारले ‘मास प्रिन्टर’सँगै चालक अनुमतिपत्रका लागि आवश्यक कार्ड खरिद अघि बढाएको छ । करारका लागि सम्झौता गरेपछि तीन/चार महिनाको समय पाउने बताइएको छ ।

विभागले गत वर्ष पहिलोपटक ‘मास प्रिन्टर’ खरिदका लागि बोलपत्र आह्वान गरेको थियो । कसैको पनि आवेदन नपरेपछि यो वर्ष दोस्रोपटक खुलाइएको होे । हाल सञ्चालनमा रहेको ‘मास प्रिन्टर’ जस्तै कार्ड छाप्ने उपकरण खरिद गर्न लागिएको विभागले जनाएको छ ।

विभागले पहिलोपटक विसं २०७६ मा ‘मास प्रिन्टर’ खरिद गरेको थियो । विभागमा यसअघि रहेका प्रिन्टरको क्षमता कम भएकाले बढी क्षमताको उपकरण खरिद गरिएको थियो । मदरास सेक्युरिटी प्रिन्टिङबाट खरिद गरिएको उपकरणको क्षमता प्रतिघन्टा चार सय ५० कार्ड छाप्ने छ । जुन अहिले विभागमा सञ्चालनमा छ ।

यसअघि सरकारले आर्थिक वर्ष २०७३÷७४ मा ठेक्कामार्फत सात लाख ५० हजार कार्ड र चार थान छपाइ उपकरण खरिद गरिएको थियो । प्रतिघन्टा ६० कार्ड मात्र छाप्ने क्षमताका उपकरणका कारण छाप्नुपर्ने अनुमतिपत्र धेरै हुँदै गएको थियो । जुन अहिलेसम्म हट्न सकेको छैन ।

देशभरका सबै कार्यालयबाट ‘स्मार्ट’ कार्ड लागू भए पनि अझैसम्म पनि छाप्ने एउटा विभागसँग मात्रै छ । झन्डै आठ लाख कार्ड छाप्न बाँकी भएकामा २०७६ चैतदेखि सरकारले बन्दाबन्दीले गर्दा यातायातका कर्मचारीले छपाइसकेका थिए । त्यसपछि पुनः विसं २०७७ साउनमा पुनः प्रक्रिया अघि बढाएर फ्रान्सेली कम्पनीसँग कार्ड खरिदको सम्झौता भएको थियो ।

मदरास कम्पनीले कार्ड र ‘मास प्रिन्टर’ दुवै एउटै कम्पनीले खरिद गर्दा समस्या नआए पनि पछिल्लोपटक फरक कम्पनीबाट खरिद गर्दा समस्या आएको थियो । कम्पनीले पठाएको नमूना यहाँको सफ्टवेयरमा नमिलेकाले लामो समय अनुमतिपत्र छपाइ प्रभावित बनेको थियो ।

सरकारले सबैभन्दा पहिले विसं २०७२ पुसदेखि एकान्तकुनास्थित कार्यालयबाट ‘स्मार्ट’ चालक अनुमतिपत्र सुरु गरेको थियो । एसियाली विकास बैंकको सूचना र सञ्चार प्रविधि (आइसिटी) परियोजनाअन्तर्गत भएको सम्झौताका आधारमा चार छपाइ उपकरण र तीन लाख ५० हजार कार्ड खरिद गरिएको थियो । त्यसपछिका वर्षमा उपत्यकामा रहेका अरु यातायात कार्यालय ठूलो भर्याङ, जगाति र चाबहिल कार्यालयमा उक्त प्रणाली विस्तार गरिएको थियो ।

सेवा प्रवाह विद्युतीय बनाउँदा सेवाग्राहीलाई सजिलो हुने अपेक्षा गरिए पनि ‘स्मार्ट’ चालक अनुमतिपत्रमा भने त्यो छैन । हस्तलिखित कार्ड हुँदाभन्दा सेवाग्राहीले अनुमतिपत्र पाउन अहिले बढी समय कुर्न परिरहेको छ ।