बामे सर्दाको अलौकिक कथा

बामे सर्दाको अलौकिक कथा


✍ गंगा खड्का

टुकुटुकु हिँड्दा
बाबाको औँलामा भएको शक्ति
आजसम्म मैले पाइनँ
त्यो हिलाम्मे आँगन, बलेसी धारा
चिप्लिएर लड्दा
रुँदारुँदै निदाउने आमाको काख
मैले फेरि पाइनँ ।

चार भित्ताको कोठाभरिको
सिङ्गो जीवन मेरो
आजकल त
आँखाको सागर पनि धमिलो हुँदैछ
परेली खुल्नभन्दा जोडिन मन पराउँछ
लाग्छ, सूर्य पनि ढिलो उदाउँछ
मेरो डुब्ने समयसँग पौठेजोरी खेल्दै
जाडोसँग तर्सिएर
हुस्सुको बाक्लो कम्बल ओढी
जगमा ढिलो छाउँछ
उसको पनि मेरो भैं
आँखाभरि बादल छाउँछ क्षणभरमा ।

मेरो हराउँदै गरेको प्रकाशपुञ्ज
उसको डुब्दै गरेको तेज
निभ्न लागेको दियोझैँ लाग्छ
लाग्छ, शीत र तुसारोजस्तै
रातभरि जाग्ने, बिहान पग्लिएर बग्ने ।
उहिले तातो रगत बग्दा
कर्णालीजत्तिकै लामो
र, सगरमाथा जत्तिकै अग्ला सपनाहरू देखिन्थे
नाङ्गा पैतालाले सजिलै पगाल्थ्यो तुसारो आखिर
सपनाले दिशा बदल्न सक्यो कि सकेन
जीवनको खहरेले नदीको आकार लियो कि लिएन-
निक्र्योल गर्ने सकेको छैन ।
हिमालले आकाश छुने रहर गरेझैँ
सागर नभेटेसम्म विश्राम नखोज्ने रहरका नदीहरूले
जीवनको रूपरेखा बक्र बनायो
या, सिधा मैले खोजी गर्ने भ्याइनँ
धुलोको कणले सयर गर्न
मौसमी तुफान कुरेझैँ
म समाप्तिको तुफान कुरिरहेछु
जसरी किनारा प्यासी बनी बगाइरहेछ नदी !
आकाश बनेर बाँच्नु, धर्ती भएर उभिनु
शित भएर पग्लनु
डुबेको सूर्य हेर्दाहेर्दै आफैँ डुब्नु
कहिल्यै नउदाउने गरी आदिम गर्तमा ।