फेसबुकमा पोष्ट गरेको स्पष्टीकरणको अधिकारीले उत्तर नदिने !

फेसबुकमा पोष्ट गरेको स्पष्टीकरणको अधिकारीले उत्तर नदिने !


नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले आफूलाई सोधिएको भनिएको स्पष्टीकरणको जवाफ नदिने बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले उनलाई विभिन्न आरोप लगाउदै नौबुँदे स्पष्टीकरण सोधेका थिए ।

महानिर्देशक अधिकारीले मन्त्रालयको पत्रमा अत्यन्त जरुरी वा गोप्य पत्र भनि लेखेर सोध्नुपर्ने स्पष्टीकरण सामाजिक सञ्जाल फेसबुकका पानामा पोष्ट गरिएकाले ती स्पष्टीकरणको जवाफ आफुले दिन नसक्ने प्रतिक्रिया दिँदै भनेका छन्- ‘फेसबुकका भित्तामा पोष्टिएका स्पष्टीकरणको जवाफ मैले दिँदैन, स्पष्टीकरण सोध्ने पनि नियम, कानुन र तरिका होला नीे, फेसबुकभरी सोधिएका स्पष्टीकरणको मैले कसरी जवाफ दिनु ?’

यसैगरी महानिर्देशक अधिकारीले निजी हवाई सेवाप्रदायक कम्पनी सिम्रिक एयरलाई काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका-१४, राउतगाउँको माथिल्लो भाग इटापु डाँडामा हेलिपोर्ट निर्माण गर्न सैद्धान्तिक सहमति दिएका विषयमा बिमति राखेका कारण आफूलाई स्पष्टीकरण सोधिएको आरोप लगाए । हाल प्राधिकरणले भक्तपुरको नलिञ्चोकमा रु १५ करोड खर्च गरेर २७ वटा हेलिकोप्टर उडान तथा अवतरण हुन सक्ने गरी हेलिपोर्ट बनाइरहेको र, निर्माणाधीन उक्त हेलिपोर्ट यही असारबाट नै सञ्चालनमा ल्याउने तयारी हुँदै गर्दा निजी क्षेत्रलाई हेलिपोर्ट दिन आवश्यक नरहेको उनको तर्क छ ।

ज्ञातव्य छ, महानिर्देशक अधिकारीमाथि उड्डयन सुरक्षालाई प्रभावकारी बनाउन नसकेको, उडान सुरक्षामा चरम लापरबाही गरेको र राज्यले सुम्पेको जिम्मेवारी बहन गर्न नसकेको आरोप लगाइएको छ । सरकारले प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायका रुपमा अलग गर्ने नीति लिएको भए पनि त्यस नीतिविरुद्ध काम गरेको र अभिव्यक्तिहरू दिइएको आरोप पनि उनमाथि लगाइएको छ । यस्तै, सरकारले दातृनिकायसँग ऋण लिएर भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरे पनि ती विमानस्थलमा नियमित उडान सञ्चालन गर्न नसकेको भन्दै अधिकारीलाई सोधिएको छ- ‘विमानस्थल सञ्चालकको समेत मुख्य भूमिकामा रहनु भएका तपाईंको कार्यक्षमता कमजोर रहेको किन नमान्ने ?’