छैटौँ राष्ट्रिय प्रतियोगिता-आयोजना मात्रै ऐतिहासिक बन्यो

छैटौँ राष्ट्रिय प्रतियोगिता-आयोजना मात्रै ऐतिहासिक बन्यो


अहिले छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफलताका साथ सम्पन्न भए पनि यसले ठूलो पाठ सिकाएर गएको छ । दूरदर्शी र योजनाबद्ध तरिकाले प्रतियोगिताको आयोजना हुन नसक्दा प्रतियोगिता नै औचित्यहीन बन्न पुगेको छ । कमजोर भौतिक पूर्वाधार र फितलो आयोजनाले राष्ट्रिय प्रतियोगिताको प्रतिष्ठामाथि यतिबेला कालो धब्वा लगाइदिएको छ । खेलाडी, प्रशिक्षक र पदाधिकारीहरूले ‘फितलो आयोजना’को संज्ञा दिएपछि छैटौँ निकै विवादमा परेको थियो । सचिवालय घेराउदेखि नखेल्ने धम्कीसमेत दिएका खेलाडी र प्रशिक्षकले व्यवस्थापन पक्षमा देखिएको कमजोरीबारे पटकपटक औँला उठाएका थिए । तर्सथ छैटौँ राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि मात्र आयोजना गरिएको जस्तो देखिएको थियो । जुन अहिले विडम्बनाको विषय बन्न पुगेको छ ।
हतारमा आयोजना गर्दाको परिणाम कस्तो हुन्छ त्यसको उदाहरण बनेको छ सुदूरपश्चिम । पर्याप्त बजेट हुँदाहुँदै पनि आफ्नो रोटी सेक्ने कुटिल चालले गर्दा छैटौँको यस्तो हरिविगोग भएको हो । यही कुरालाई आत्मसात् गर्दै सुदूरपश्चिमका एक खेलकर्मी भन्दै थिए, ‘माओवादीको हठका कारणले सुदूरपश्चिमको नाक काटियो ।’ बृहत् राष्ट्रिय प्रतियोगिताको आयोजना हुँदासमेत स्थानीय जनतालाई सहभागी नगराइनु र विशेषगरी अछाम जिल्लाका व्यक्तिहरूलाई र्सर्वेसर्वा गरिनुले छैटौँको प्रचारप्रसारमा पूर्णविराम लागेको थियो । दुईपटक राष्ट्रिय प्रतियोगिताको आयोजनाबाट वञ्चित भएको सुदूरपश्चिममा यसपटक ऐतिहासिक राष्ट्रिय प्रतियोगिताको आयोजना हुने विश्वास गरिए पनि त्यो अहिले हात्ती आयो, हात्ती आयो फुस्साजस्तै भएको छ । तर्सथ छैटौँ, राष्ट्रिय प्रतियोगिताभन्दा पनि माओवादी प्रतियोगितामा सीमित हुन पुगेको थियो । जुन छैटौँका लागि दुर्भाग्य बने पनि माओवादीका लागि भने सौभाग्य बनेको थियो । उनीहरूले मह काढ्नेले हात चाट्छ भन्ने उक्तिलाई बहाना बनाउँदै हातै खान पुगेको आरोप लगाएका थिए ।
आफ्नो औचित्य र उपलब्धिमा खरो उत्रिन नसकेपछि छैटौँको आयोजनामाथि प्रश्न उठ्नु स्वाभाविकै थियो । हिरो जन्माउने खेलको आयोजन र व्यवस्थापन जिरो हुनुले पनि यसलाई प्रस्ट पार्छ । अझ खेलाडी, प्रशिक्षकहरूले खुल्ला रूपमा माओवादीको हस्तक्षेप र आर्थिक अनियमियताको विरोध र खेल बहिष्कार गर्नुले राष्ट्रिय प्रतियोगिताप्रति माओवादीको कस्तो गिद्देनजर थियो त्यो ऐनाजस्तै र्छलङ्ग भएको छ । र पनि, राष्ट्रिय प्रतियोगिताका हर्ताकर्ता कामरेडहरूले आफूलाई चोख्याउन रचेको स्वाङ र बनाएको बहाना देख्दा ….लाई भन्दा देख्नेलाई लाज भएको थियो । कैलाली र कञ्चरपुरका छैटौँ राष्ट्रिय खेलकुद सचिवालय संयोजक दीपक साउद र सुनारले सुगाको रटमा आफ्नै डम्फु बजाउँदा उनीहरू कुन उद्देश्यबाट प्रेरित थिए त्यो घामजस्तै र्छलङ्ग भएको थियो । यी संयोजकहरूले छोटो समयमा आयोजना गर्नुपरेकोले प्रतियोगितामा निकै कमीकमजोरी देखिएको बताउँदै जस्तो छ त्यस्तैमा खेल्न अनुरोध गरेका थिए ।
छैटौँ राष्ट्रिय प्रतियोगिताको आयोजना अघि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले छैटौँ अन्तर्राष्ट्रिय मापडण्डको हुने बताएका थिए । तर, वास्तविकता त्योभन्दा निकै टाढा थियो । केही खेलको भौतिक पूर्वाधार र आयोजना स्थलको टुङ्गो लागे पनि अन्य खेलहरूको आयोजना हुने एक दिन अगाडिसम्म अत्तोपत्तो थिएन । ‘खाए खा नखाए घिच’ भनेझैं हचुवाको भरमा गैरजिम्मेवारी तरिकाले खेलहरूको आयोजना भएको थियो । इन्डोरमा खेलाइने खेललाई खुला मैदानमा खेलाएर खेल र खेलाडीको हुमत लिने कार्य भएको थियो । यसको सबैभन्दा ठूलो मार आर्चरी र जुडो खेलका खेलाडीले भोगेका थिए । जुडो खेलको आयोजना खुला मैदानमा हुने पक्का भए पनि आर्चरीको आयोजनाबारे खेल आयोजनाको पहिलो दिनसम्म कुनै तयारी भएको थिएन । पछि आर्चरीका पदाधिकारीहरूले प्रतियोगिता नखेल्ने धम्की दिएपछि रातारात धान काटेर खाल्डो नै खाल्डो भएको खेतमा आर्चरीका लागि खेलस्थल तयार परिएको थियो ।
छैटौँ राष्ट्रिय प्रतियोगिताको आयोजना गर्न कुल २१ करोड खर्च भएको छ । जसमा जिल्ला, क्षेत्रीय र राष्ट्रिय प्रतियोगिताको आयोजना परेको छ । हचुवाको भरमा भएको छनोट र फितलो आयोजनामा राखेपले कति खर्च गर्‍यो भोलि त्यसको हिसाबकिताब अवश्य दिनेछ । तर, खेलाडी र पदाधिकारीले लगाएको ट्रयाकसुट र जुत्ता हर्ेदा कति कमिसनको खेल भएको रहेछ भन्ने प्रस्ट रूपमा देख्न सकिन्थ्यो । एक पूर्वाञ्चलका खेल पदाधिकारी भन्दै थिए, ‘ल हेनुहोस् यही हो राखेपले प्रदान गरेको ट्रयाकसुट र जुत्ता । न जाडोमा लगाउन हुन्छ, न गर्मीमा । यस्तो दिनुभन्दा त नदिएको भए नै हुन्थ्यो । सबै झ्वाम पारे, सिध्याए, देशको ढुकुटी रित्ताए । खेलाडीलाई नाङ्गो पारे । आफू …को मूलाझैं सप्रिए । लेखिदिनुस् सबै कुरा तपाईं सञ्चारकर्मीहरूले सबै आफ्नो आँखा अगाडि देख्नुभएको छ ।’
छैटौँमा यो पीडा एउटा खेलाडी र पदाधिकारीको मात्रै नभई सम्पूर्ण पाँचै विकास क्षेत्रका खेलाडीले भोगेको पीडा हो । खानबस्नदेखि लिएर खेल्दासम्म उनीहरूले भोगेको पीडाको यथार्थ हो । दैनिक आठ सय रुपैयाँ खानबस्न र पकेटमनीका लागि राखेपले खेलाडी, प्रशिक्षक र पदाधिकारीलाई छुट्याए पनि स्थानीय आयोजकको बद्मासीले गर्दा खेलाडीले कुकुरले नपाएको दुःख पाएका थिए । उनीहरूलाई बिहान ब्रेकफास्टसँगै चिया, दिउँसो लन्चमा मासुसँगै खाना र बेलुकी डिनरमा मासुसँगै खाना र बस्नका लागि ६ सय रुपैयाँमा व्यवस्था गरिएको थियो । तर, स्थानीय आयोजकले कमिशनको चक्करमा होटेलसँग मिलोमतो गरेर खेलाडीहरूको सुविधाको रकमसमेत आर्थिक हिनामिना गरेका थिए । जसको विरोध गर्दै खेलाडीहरूले सचिवालयसमेत घेरेका थिए । पछि खेलाडीहरूलाई राखेपले तोकिएको रकम प्रदान गरी समस्या समाधान गरेको थियो ।
छैटौँको ऐतिहासिक उपलब्धिको चर्चा गर्दा धनगढीमा निर्माणाधीन दुईवटा प्यारापिट र एथलेटिक्स ट्रयाक मात्रै हो भन्दा अतिसयोक्ति नहोला । अन्य भौतिक संरचनाहरू पहिल्यै थिए जसको नाम मात्रले पुनर्निर्माण भएको छ । कैलाली र कञ्चनपुरका कभर्डहलहरूमा रंगरोगनबाहेक अन्य कुनै उल्लेखनीय कार्य भएको छैन । तर, काम देखाउने र दाम पचाउने कार्यमा यिनै कभर्डहलको मर्मतसम्भारको नामबाट लाखौँ रुपैयाँ असुलिएको छ । कभर्डहलको फल्याकहरू उप्काएर माटोले टाल्दा प्रतियोगिता सञ्चालन गर्दा उडेको धुलोले खेलाडीहरूले मुखमा मास्क लगाएर प्रतिस्पर्धा गर्नुपरेको थियो । यस्तै हरिविजोग पदाधिकार, प्रशिक्षक र निर्णायकहरूको पनि भएको थियो । सोबारेमा तेक्वान्दो र उसुका पदाधिकारीले ‘बोलबोल माछा मुखभरि पानी’जस्तै भएको टिप्पणी गरेका थिए । ती पदाधिकारीहरूले आफूले अहिलेसम्म भएका सम्पूर्ण राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको बताउँदै छैटौँजस्तो अव्यवस्थित अहिलेसम्म नदेखेको सुनाए ।
जे होस्, जस्तो भए पनि अहिले छैटौँ राष्ट्रिय प्रतियोगिता सुदूरपश्चिममा सम्पन्न भएको छ । यो नै सुदूरपश्चिमको ऐतिहासिक सफलता पनि भएको छ । कसले के गर्‍यो, कति खायो र कसकसलाई पोस्यो भन्दा पनि यो प्रतियोगिताको आयोजनाले सुदूरपश्चिमको खेल भविष्यमा नौलो आशाको किरण देखिएको छ । अवसर र जिम्मेवारी पाएमा यस्ता अन्य राष्ट्रियस्तरका प्रतियोगिता गर्ने आँट र साहस पलाएको छ । नेपालको भूगोलमा खेलकुदको यो बृहत् मेलाले कस्तो सन्देश दियो त्यो आफ्नो ठाउँमा भए पनि सुदूरपश्चिममा भने यसको प्रभाव सकारात्मक परेको छ । जसले सुदूरपश्चिमका खेलाडीहरूको जोशजाँगर अवश्य बढाएको छ । विभिन्न खेलमा पहिलोपटक पाएको सफलताले यहाँ खेलाडी निकै उत्साहित बन्न पुगेका छन् । जसलाई भविष्यमा निरन्तरता दिन सुदूरपश्चिममा बन्दै गरेका भौतिक पूर्वाधारहरू अवश्य निर्णायक सावित हुनेछन् । अन्तमा खानेमुखलाई जुँगाले छिक्दैन भनेझैं सुपले पनि छैटौँको सफल आयोजना गरेर आफूलाई पनि अन्य क्षेत्रझैं सबल बनाएको छ । यसमा नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद्, स्थानीय आयोजक कमिटी र अन्य शुभचिन्तक धन्यवादका पात्र बनेका छन् ।
छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मध्यमाञ्चलले बाजी मार्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ । मध्यमाञ्चलले सर्वाधिक एक सय ३१ स्वर्ण, ८४ रजत, ८५ कास्य गरी कुल तीन सय पदक आफ्नो झोलीमा हाल्न सफल भएको थियो । त्यस्तै नेपाल प्रहरीले ५४ स्वर्ण, ४२ रजत र ३४ कास्य गरी कुल एक सय ३० पदक जित्दै दोस्रो स्थान हात पारेको थियो । यसैगरी सशस्त्र प्रहरी बलले ४६ स्वर्ण, ४२ रजत र ४७ कास्य गरी कुल एक सय ३५ पदक जित्दै तेस्रो स्थानमा रहेको थियो । त्यस्तै पश्चिमाञ्चलले २६ स्वर्ण ५१ रजत ६६ कास्य गरी कुल एक सय ४३ पदक जितेको थियो भने सुदूरपश्चिमले २३ स्वर्ण, २६ रजत र ४९ कास्य गरी कुल ९८ पदक जितेर क्रमशः चौथो र पाँचौँ स्थान हात पारेका थिए । यसैगरी पीएलले १८ स्वर्ण, पूर्वाञ्चलले १० स्वर्ण, मध्यपश्चिमाञ्चलले नौ स्वर्ण र विश्वविद्यालयले तीन स्वर्ण पदक जितेर छैटौँ, सातौँ, आठौँ र नवौँ स्थान हासिल गरेका थिए ।

फुटबलमा सुदूरपश्चिमको दादागिरी
एन्फाको नजरबाट निकै टाढा रहेको सुदूरपश्चिमले छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकै महत्त्वपूर्ण मानिएको फुटबलमा स्वर्ण पदक जितेर ऐतिहासिक विजय हासिल गरेको छ । हिजोसम्म चार दिवारमा कैद रहेको सुदूरपश्चिमको फुटबल छैटौँमा पाएको विजयसँगै रातारात चर्चामा आएको छ । राष्ट्रिय च्याम्पियन बनेर ठूलो फड्को मारेकोे सुदूरपश्चिमले फुटबलमा पनि आफू कुनै राष्ट्रिय टोलीभन्दा कम नभएको प्रमाणित गरेको छ । सुदूरपश्चिमले राष्ट्रियस्तरमा सफलता पाएको यो पहिलो अवसर हो । योभन्दा अघिका राष्ट्रिय प्रतियोगिताहरूमा सुदूरपश्चिम कहिल्यै लिग चरणभन्दा अगाडि बढ्न सकेको थिएन ।
फुटबलमा सुदूरपश्चिमले ऐतिहासिक विजय हासिल गरेपछि प्रशिक्षक लालबहादुर खड्काले ‘फुटबलमा सूर्य पश्चिमबाट उदाएको सङ्केत गरेका थिए,’ खड्काले यो ठूलो विजय हो भन्दै यो सफलता लामो समयपछि प्राप्त भएकोमा खुसी प्रकट गरेका थिए । यो विजयलाई मिहिनेतको फलको संज्ञा दिएका खड्काले आउँदो दिनमा पनि सुदूरपश्चिमले यस्तै उत्कृष्ट प्रदर्शन गर्ने बताएका थिए । त्यस्तै एन्फाका केन्द्रीय सदस्य गणेश चन्दले यो उत्कृष्ट प्रदर्शनले सबैको मुखमा बुझो लगाएको बताउँदै सुदूरपश्चिममा पनि उत्कृष्ट खेलाडी भएको प्रमाणित गरेको बताएका छन् । चन्दले फुटबलमा सुदूरपश्चिमलाई जहिले पनि भेदभावको रूपमा हेरिएकोमा गुनासो गर्दै अब सुदूरपश्चिमका दिन फेर्ने कुरा विश्वास प्रकट गरेका थिए ।
छैटौँ राष्ट्रिय प्रतियोगिता शुभारम्भ हुनुअघि निकै कमजोर मानिएको सुदूरपश्चिमले लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो । सेमिफाइनलमा राष्ट्रिय लिग च्याम्पियन नेपाल पुलिसलाई पराजित गरेर सुदूरपश्चिमले तहल्का मच्चाएको थियो । यसरी पहिलोपटक राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगेको सुदूरपश्चिमको भिडन्त सशस्त्र प्रहरी बलसँग भएको थियो । निकै प्रतिस्पर्धात्मक र सनसनीपूर्ण फाइनल खेलमा घरेलु दर्शकको अगाडि सुदूरपश्चिमले सशस्त्रलाई २१ ले पराजित गर्दै पहिलोपटक राष्ट्रिय च्याम्पियन बन्ने सौभाग्य पाएको थियो । सुदूरपश्चिमलाई राष्ट्रिय च्याम्पियन बनाउन कुवेर सिंह र मनिराम चौधरीले महत्त्वपूर्ण भूमिका निभाएका थिए ।
पहिलो हाफमा राजेन्द्र रावलको गोलमा सशस्त्रले अग्रता कायम गरे पनि त्यसलाई कायम राख्न सकेन । दोस्रो हाफमा सुदूरपश्चिमका कुवेर सिंहले ७३ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए भने ८९औँ मिनटमा मनिराम चौधरीले सुदूरपश्चिमका लागि निर्णायक गोल गर्दै सुदूरपश्चिमलाई स्वर्ण पदक दिलाएका थिए ।
त्यस्तै, छैटौँ राष्ट्रिय प्रतियोगिताअन्तर्गत महिला फुटबलको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । छैटौँ राष्ट्रिय खेलकुदको अन्तिम दिन महेन्द्रनगरस्थित खुलामञ्चमा भएको फाइनलमा एपीएफले पीएलएमाथि अतिरिक्त समयमा २० को जित निकाल्दै उपाधि रक्षा गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । अतिरिक्त समयको १७औँ मिनेटमा प्रमिला राईले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । त्यसको केही मिनेटपछि अर्थात् २०औँ मिनेटमा दीपा अधिकारीले गोल गर्दै एपीएफको गोल सङ्ख्या दोब्बर बनाएकी थिइन् । त्यस्तै महिला फुटबलमा नेपाल प्रहरीले तेस्रो स्थान हात पार्न सफल भएको छ । प्रहरीले मध्यमाञ्चललाई १० को झिनो गोलअन्तरले पराजित गरेको थियो । पहिलो हाफमा दुवैले गोलरहित बराबरी खेले पनि ८९औँ मिनेटमा प्रहरीकी चन्द्रा भण्डारीले गरेको गोल नै निर्णायक सावित भएको थियो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुरस्कृत गर्नुभएको थियो ।

छैटौँका राष्ट्रिय कीर्तिमानहरू
छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत विभिन्न खेलहरूमा राष्ट्रिय कीर्तिमान कायम भएका छन् ।
ग जसमा पहिलो राष्ट्रिय कीर्तिमान पौडी खेलाडी शैलेश राणाले बनाएका थिए । वीरगञ्जमा सञ्चालन भएको छैटौँ राष्ट्रिय प्रतियोगिताअन्तर्गत २०० मिटर व्यक्तिगत मिड्ले हिट्समा राणाले आफूले राखेको कीर्तिमान भङ्ग गर्दै नयाँ कीर्तिममान कायम गरेका हुन् । मध्यमाञ्चलका राणाले उक्त दूरी २.३१.८७ समयमा पार गरेका थिए । योभन्दा अघि सन् २००९ मा काठमाडौंमा सम्पन्न भएको पाँचौँ प्रमोद स्मृति उमेर तथा खुला पौडी प्रतियोगितामा राणाले नै २.३१.९४ को रर्ेकर्ड कायम गरेका थिए ।
ग त्यस्तै छैटौँमा एथलेटिक्सको १०० मिटर हर्डल्सको हिटमा सविता चौधरीले नौलो राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । २४ वर्षपछि राष्ट्रिय कीर्तिमान स्थापित गर्ने क्रममा चौधरीले माया थापाको नाममा रहेको पुरानो कीर्तिमानलाई भङ्ग गरेकी थिइन् । चौधरीले उक्त दूरी १७.५० सेकेन्डको समय निकाल्दै पूरा गरेकी थिइन् । योभन्दा अघि सोही स्पर्धामा माया थापाले १७.९५ सेकेन्डको कीर्तिमान राखेकी थिइन् ।
ग छैटौँ राष्ट्रिय प्रतियोगिताअन्तर्गत महिला भारोत्तोलनतर्फ पनि राष्ट्रिय कीर्तिमान कायम भएको थियो । भारोत्तोलनको महिला ५५ केजी तौल समूहमा नेपाल प्रहरीकी देवी चौधरीले उक्त कीर्तिमान स्थापित गरेकी हुन् । चौधरीले पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा आफूले नै राखेको कीर्तिमानलाई तोडेकी हुन् । छैटौँमा स्वर्ण पदक जितेकी चौधरीले क्लिन एन्ड जर्कमा ७६ केजी तौल उठाएर नया कीर्तिमान कायम गर्न सफल भएकी थिइन् ।
ग यसैगरी भारोत्तोलनतर्फ नै नेपाल पुलिसकी तारा पुन र पीएलएकी राममाया थापाले दुईदुईवटा राष्ट्रिय कीर्तिमान राख्न सफल भएका छन् । ताराले ६९ केजी तौल समूहमा क्लिन एन्ड जर्क र कुलमा आफैंले राखेको राष्ट्रिय कीर्तिमान भङ्ग गरेकी थिइन् । उनले स्वर्ण पदक जित्दा क्लिनतर्फ दुईपल्ट कीर्तिमान राखेकी थिइन् । सो समूहमा ताराले स्न्याचतर्फ ६६ र क्लिनतर्फ ९१ गरी कुल एक सय ५७ केजी तौल उचालेकी थिइन् । यसअघि कुलतर्फ एक सय ५६ केजीको राष्ट्रिय कीर्तिमान झन्त कटुवालको नाममा थियो ।
ग पहिलोपटक राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएकी पीएलएकी राममाया थापाले पुलिस क्लबकी लक्ष्मी वनको राष्ट्रिय कीर्तिमान तोड्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । थापाले ७५ केजीमाथिको समूहमा क्लिन एन्ड जर्कतर्फ ७७ र स्न्याचतर्फ ५० केजी उठाएर नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् ।

सातौँ राष्ट्रिय प्रतियोगिता पूर्वाञ्चलमा
राष्ट्रिय खेलकुद प्रतियोगिताको सातौँ संस्करण पूर्वाञ्चलमा हुने भएको छ । छैटौँ राष्ट्रिय प्रतियोगिताको समापन समारोहमा राष्ट्रिय खेलकुद परिषद्का संरक्षक तथा प्रधानमन्त्री बाबुराम भट्टराईले दुई वर्षपछि हुने सातौँ राष्ट्रिय खेलकुदको झन्डा पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष किरणलाई हस्तान्तरण गरेका थिए । केही दिन पहिले सातौँ राष्ट्रिय प्रतियोगिता पूर्वाञ्चलमा गर्ने निर्णय राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले गरेको थियो ।

राखेप अब मिसन सागको तयारीमा
छैटौँ राष्ट्रिय खेलकुदको समापनसँगै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले अब मिसन सागको तयारीमा लाग्ने बताएका छन् । लामाले छैटौँमा स्वर्ण पदक जित्ने खेलाडीहरूलाई एक महिनाभित्रमा विशेष प्रशिक्षणमा राख्ने बताएका छन् । लामाले दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको आयोजना हुन एक वर्ष बाँकी रहेको अवस्थामा यो उद्घोष गरेका हुन् ।
लामाले सन् २०१२ को फेब्रुअरीमा भारतको नयाँदिल्लीमा सञ्चालन हुने उक्त प्रतियोगिताको पहिलो तीन महिनाको तयारी सामान्य हुने बताएका छन् । त्यसपछिको तीन महिना विशेष र पाँच महिना बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण गराइने बताए । लामाले पाँच महिनाको बन्द प्रशिक्षणमा खेलाडीहरूलाई विभिन्न स्थानमा लगेर फरकफरक हावापानीमा प्रशिक्षण गराउने र सोही अवधिमा वैदेशिक भ्रमण पनि गराइने बताउँदै त्यसका लागि छिमेकी राष्ट्र चीनसँग समन्वय गर्ने बताए ।
त्यस्तै लामाले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पनि तत्कालै तयारी शुभारम्भ गर्ने बताएका छन् । छैटौँले राम्रो पाठ सिकाएको बताउँदै समयमै सातौँको तयारीमा नजुटे प्रतियोगिता गर्न असम्भव हुने प्रस्ट पारे । यसैगरी लामाले १३औँ सागको आयोजना नेपालको भागमा परेकोले त्यसका लागि पनि तयारीको कदम चाल्ने बताएका थिए ।