कोशीमा मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेशप्रमुखद्वारा आह्वान

कोशीमा मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेशप्रमुखद्वारा आह्वान


कोशी प्रदेशका प्रदेशप्रमुख परशुराम खापुङले प्रदेशको मुख्यमन्त्री नियुक्ति लागि असार २१ गते बिहीबार साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका छन् ।

कोशी प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई असार २१ गते बिहीबार साँझ ५ बजेसम्म प्रदेश सरकारको मुख्यमन्त्री नियुक्ति गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम आह्वान गरेका हुन् ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीद्वारा नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विसं २०८० असार १४ गते प्रदेशसभामा विश्वासको मतका लागि राखिएको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम असार १५ गते पारित हुन नसकी मुख्यमन्त्री कार्की पदमुक्त भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रदेशप्रमुख खापुङले नयाँ प्रदेश सरकार गठन गर्नका लागि नेपालको संविधानको धारा १६८ को (२) बमोजिम वा उपधारा (३) बमोजिममध्ये कुन उपधाराका आधारमा मुख्यमन्त्री नियुक्ति गरी सरकार गठन गर्नका लागि राजनीतिक दलहरुलाई दाबी पेस गर्न आह्वान गर्नुपर्ने हो भनी महान्यायाधिवक्तासँग लिएको कानूनी रायसमेतका आधारमा उक्त आह्वान गरेका बताइएको छ ।