एमाले नेता केपी शर्मा ओलीलाई गम्भीर झट्का दिँदै उत्साहका साथ बनेको काङ्ग्रेस-माओवादी गठबन्धन सरकार सङ्कटमा परेको छ । प्रमुख विपक्षी नेता केपी शर्मा ओली प्रचण्डसँग बदला लिने उद्देश्यले सक्रिय भएका कारणले मात्र सरकार सङ्कटमा परेको होइन, सत्ता साझेदार काङ्ग्रेसका सभापति शेरबहादुर देउवामा धैर्य टुट्दै गएको र बाह्यशक्तिलाई विश्वासमा लिन नसकेका कारणले पनि सरकार ढुक्कसँग चल्नेमा आशङ्का उत्पन्न भएको हो ।
ज्ञातब्य छ, केपी हर हालतमा प्रचण्डलाई प्रधानमन्त्री पदबाट मूक्त गर्न चाहन्छन् र, त्यस निम्ति जो-कसैलाई प्रधानमन्त्री मानेर हिँड्न केपी तयार भएका छन् । आफ्नो यस्तो प्रयासमा पश्चिमी शक्तिको सहयोग र समर्थन जुटाउने प्रयास केपीबाट भइरहेको छ । खासगरी अमेरिकी सहयोग प्राप्त गर्ने कोशीस केपीबाट भएको बुझिएको छ ।
एक सूत्रबाट प्राप्त जानकारीअनुसार केपीले नेपाललाई हिन्दुराष्ट्र बनाउन आफू तयार रहेको समेत बताउने गर्नुभएको छ र, भारत आफ्नो यस्तो कुराले प्रशन्न हुने ठम्याइ केपीमा रहेको बताइन्छ । यसरी भारतको समेत सहानुभूति लिने प्रयत्न केपीबाट भइरहेको भएपनि पश्चिमले रुचाएका ब्यक्तिलाई नै प्रधानमन्त्री बनाएर अघि बढ्ने कुरालाई केपीले प्राथमिकतामा राख्नुभएको बताइन्छ । राप्रपा र रास्वपालाई आफ्नो कित्तामा राख्न सफल केपीले एकीकृत समाजवादी, जनता समाजवादी र जनमत पार्टीलाई आफ्नो पक्षमा ल्याउनका निम्ति पनि अन्तर्राष्ट्रिय साथ खोज्नुभएको बुझिएको छ ।
यसरी एकातिर पश्चिमी साथ लिएर कुनै ‘केटा’लाई प्रधानमन्त्री बनाउने प्रयासमा लागिपर्नुभएको भएपनि अर्कोतिर शेरबहादुर देउवालाई नै प्रधानमन्त्री बनाउन पनि केपी राजी हुनुहुन्छ । परस्पर विश्वासको कमीले गर्दा दुई नेताबीच सिधा वार्तालाप हुन सकेको छैन । तर विभिन्न च्यानल दुई नेताबीच वार्तालाप गराउन खटिएका छन् ।
आफ्नै समर्थनमा बनेको सरकारप्रति शेरबहादुर देउवाको ‘रिजर्भेसन’ रहेको बुझिन्छ । सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणका निम्ति गरेका प्रयासले पनि देउवालाई चरम असन्तुष्ट बनाएको छ । त्यसैले आफै प्रधानमन्त्री बनेपछि मात्र सूरक्षित महसूस गर्ने स्थितिमा देउवा पुग्नुभएको छ । आफूहरूले सूरक्षित महसूस गर्ने परिस्थिति निर्माण गर्नेतर्फ प्रचण्ड सहयोगी नबनेकोमा देउवा दम्पत्ती दुःखी बनेको बताइएको छ । आफूले भनेका कैयन काम नगरिदिएका कारणले पनि देउवा अप्रशन्न रहनुभएको बुझिन्छ । त्यसैले उपयुक्त समयमा देउवा सरकार बदल्न तयार हुने स्थिति छ । यतिबेला केपीका कारणले भन्दा देउवाका कारण प्रचण्ड ज्यादा सकसमा पर्नुभएको र सरकार धरापमा परेको देखिन्छ ।
प्रतिक्रिया