काङ्ग्रेसमा कृत्रिम अन्तरविरोध, महामन्त्री थापा उग्र छटपटीमा !

काङ्ग्रेसमा कृत्रिम अन्तरविरोध, महामन्त्री थापा उग्र छटपटीमा !


गगनले पचपन्न वर्ष भएपछि राजनीतिबाट अवकाश लिने घोषणा धेरै अगाडि नै गरेका हुन् । अर्को संसदीय निर्वाचन हुँदा उनको उमेर करिव पचपन्नको हुनेछ । त्यसैले उनले संसद्को यसै कार्यकालभित्र प्रधानमन्त्री बन्न जस्तोसुकै हथकण्डा प्रयोग गर्ने मानसिकता बनाएका छन् ।

नेपाली काङ्ग्रेसभित्र कृत्रिम ‘अन्तरसङ्घर्ष’ सृष्टि गर्न जिम्मेवार नेताहरू नै सक्रिय भएका छन् । हो, काङ्ग्रेसले आफ्नो मौलिक विचार दर्शन त्यागेर माओवादीमार्फत भित्र्याइएका एजेण्डा ग्रहण गरेपछि काङ्ग्रेसका हजारौँ नेता कार्यकर्ता असन्तुष्ट बनेका छन् र, उनिहरू असङ्गठित भएकोले विचारको लडाइँ लड्न असमर्थ भएका छन् । तर हालै सृष्टि गर्न खोजिएको अन्तरसङ्घर्ष वैचारिक नभइ ब्यक्तिगत चरित्रको देखिन्छ र, यसको नेतृत्व महामन्त्री गगन थापाले गरेका छन् । थापाको निसाना प्रधानमन्त्री पद र पार्टी सभापतिको जिम्मेवारीलक्षित छ । उनी संसद्को यही कार्यकालभित्र प्रधानमन्त्री र सभापति बन्न चाहन्छन्, यदि आफ्नो योजना पूरा नहुने भएमा पार्टी विभाजन गर्नसमेत पछि नपर्ने उनका क्रियाकलापले देखाएको छ ।

गगनले कुनै वैचारिक मुद्दा उठाएका छैनन् र, उठाउने ‘अनुमति’ पनि उनलाई छैन । गगनले सभापति शेरबहादुर देउवालाई टार्गेट गरेर आफ्ना गतिविधि सञ्चालन गरिरहेका छन् । यसबीचमा देउवा र डा. शेखर कोइरालाबीच समझदारी विकाश हुँदै गरेको देखिएपछि गगन थप छट्पटिएका छन् । शेखरलाई कतै कार्यवाहक सभापति या वरिष्ठ नेताको हैसियत दिएर देउवाले आफ्नो बाटो छेकिदिने हुन् कि भन्ने चिन्ताले गगन ज्यादा छटपटिएको बुझिन्छ । उनले पार्टीभित्र तीव्र गुटबन्दी सुरु गरेका छन् र, उपसभापति पूर्णबहादुर खड्कालाई समेत आफ्नो पक्षमा पारेका छन् । देउवाको उत्तराधिकारी बन्ने इच्छाले खड्कालाई गगनको पक्षमा पु¥याइदिएको छ । शेखरले कार्यवाहक सभापतिको जिम्मेवारी पाउने त्रास देखाएर गगन पूर्ण खड्कालाई आफ्नो पक्षमा तान्न सफल भएका हुन् ।

निर्वाचनपछि शेरबहादुर देउवासँग संसदीय दलको नेता बन्ने प्रतिष्पर्धामा शेखरलाई निर्विकल्प ठानिएको थियो । तर गगनले आफू कुनै पनि हालतमा दलको नेतामा देउवाविरूद्ध लड्ने भन्दै जिद्दी गरेपछि शेखर पछि हट्न बाध्य हुनुभएको थियो । देउवाको उत्तराधिकारीका रूपमा पार्टीभित्र डा. शेखर कोइराला, प्रकाशमान सिंह, डा. शशाङ्क कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, विश्वप्रकाश शर्मा, कृष्ण सिटौला, डा. आरजु राणा आदिलाई लिइन्छ । तर गगन आफूबाहेक अरु कसैलाई उत्तराधिकारी स्वीकार गर्न तयार देखिँदैनन् । पार्टीको आगामी चार वर्षपछि हुने महाधिवेशनमा सभापति बन्ने पूर्ण तयारीमा गगन रहेका छन् र, त्यसनिम्ति अहिल्यैदेखि देउवाविरूद्धको गतिविधिलाई उच्च प्राथमिकताका साथ उनले अगाडि बढाएका छन् ।

यसबीचमा केपी शर्मा ओलीले प्रधानमन्त्री बनाइदिने आश्वासन दिएपछि गगनले काङ्ग्रेसमा उकुसमुकुसको अवस्था महसूस गरेका छन् । प्रचण्डलाई हटाएर देउवा होइन आफै प्रधानमन्त्री बन्नुपर्ने गगनको इच्छा र योजना देखिन्छ । कम्तिमा पच्चीस सांसदको साथ पाएमा केपीसँग मिलेर प्रधानमन्त्री बन्ने गगनको योजना हो, कुनै अनुकुल स्थितिमा अध्यादेश ल्याएर बीस प्रतिशत सांसद पु¥याउनेलाई दल खोल्न दिइने ब्यवस्था हुने हो भने तत्काल काङ्ग्रेस फुटाउने सोचमा गगन रहेका छन् । तर देउवा भने गगन रास्वपा प्रवेशको तयारीमा रहेको ठान्दछन् ।

जे भएपनि गगन थापा सभापति र प्रधानमन्त्री बन्न नपाएको स्थितिमा अब लामो समय काङ्ग्रेसमा धैर्यपूर्वक रहने सम्भावना देखिएको छैन । छोडेर हिँड्ने मानसिकता बनाएकोले पनि गगनका क्रियाकलाप देउवा र पार्टीका सिनियर नेताहरूप्रति ज्यादा निर्मम बन्दै गएको छ । स्मरणीय छ, गगनले पचपन्न वर्ष भएपछि राजनीतिबाट अवकाश लिने घोषणा धेरै अगाडि नै गरेका हुन् । अर्को संसदीय निर्वाचन हुँदा उनको उमेर करिव पचपन्नको हुनेछ । त्यसैले उनले संसद्को यसै कार्यकालभित्र प्रधानमन्त्री बन्न जस्तोसुकै हथकण्डा प्रयोग गर्ने मानसिकता बनाएका छन् । काङ्ग्रेसभित्र गगनले पैदा गरेको नक्कली अन्तरविरोधको सिकार देउवा र शेखरले हुनुपर्ने हो या पार्टी नै त्यसको सिकार हुने या स्वयम् गगन नै सिकार बन्ने हो भन्ने जानकारी पाउन अझै केही समय प्रतीक्षा गर्नुपर्ने देखिएको छ ।