राजसंस्थाको विषयमा कमल थापाको पार्टीले पुनर्विचार गर्ने

राजसंस्थाको विषयमा कमल थापाको पार्टीले पुनर्विचार गर्ने


राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीले राजसंस्थाको विषयमा लिएको नीतिमा पुनर्विचार गर्ने बताएका छन् ।

पार्टीनिकट जनवर्गीय सङ्गठनको बुधबार आयोजित संयुक्त भेलामा अध्यक्ष थापाले मुलुकको भूराजनीतिक अवस्थालाई दृष्टिगत गर्दै राजसंस्थाको औचित्य र आवश्यकताबारे पार्टीको नितिमा पुनर्विचार गरिने बताएका हुन् ।

पार्टीले राजसंस्थालाई तत्काल कार्यनीतिमा नराखेको भए पनि केन्द्रिय समिति बैठकमा व्यक्त धारणा र देशभरिका कार्यकर्ताको भावनाको सम्मान गर्दै सो संस्थाको पक्षमा निर्णय लिन सक्ने संकेत गरे ।

ठूला दलले मुलुकको समस्यालाई निकास गर्न नसकेकाले राजनीतिप्रति जनताको चरम वितृष्णा रहेको र नयाँ शक्तिको रुपमा आएका पार्टी सत्ताकेन्द्रित भएकाले आफ्नो पार्टीलाई वैकल्पिक शक्तिका रुपमा स्थापित गर्नुपर्नेमा अध्यक्ष थापाले जोड दिए । उनले सबै जनवर्गीय सङ्गठनलाई केन्द्रित हुन निर्देशन दिँदै भ्रष्टाचार, बेरोजगारी, धर्म परिवर्तन र कुशासनको विरुद्धमा जनतालाई सचेत गरी उनीहरुको पक्षमा दृढतापूर्वक क्रियाशील हुन आग्रह गरे ।

राप्रपा नेपाल असल विचार, निष्ठावान् कार्यकर्ता र इमान्दार नेतृत्वको बलमा उठ्ने भन्दै अध्यक्ष थापाले आगामी दिनमा एउटा शक्तिशाली वैकल्पिक शक्ति बनाएर उठिछाड्ने जिकिर गरे ।