पोखरालाई पर्यटकीय राजधानीका रूपमा विकास गर्ने मुख्यमन्त्री पाण्डेको उद्घोष

पोखरालाई पर्यटकीय राजधानीका रूपमा विकास गर्ने मुख्यमन्त्री पाण्डेको उद्घोष


गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्राकृतिक एवं सुन्दर नगरी पोखरालाई पर्यटकीय राजधानीकारूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।

लेखनाथ उद्योग वाणिज्य सङ्घको २७औँ संस्थापना दिवस तथा २६औँ वार्षिकोत्सव कार्यक्रममा उनले पोखरालाई पर्यटकीय राजधानीको रूपमा विकास गर्न प्रचुर सम्भावना भएकै कारण आफ्नो ध्यान पोखरालाई पर्यटकीय राजधानी बनाउनेतर्फ केन्द्रित रहेको बताए ।

स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुने पोखराका नौवटै तालको संरक्षण गर्दै ती ताललाई पर्यटकीयरूपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाइ थियो ।

पर्यटकलाई आकर्षण गर्न पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्नका लागि छिमेकी मुलुक भारत र चीनसँग प्रधानमन्त्रीस्तरबाट पहल गर्न आफूले प्रधामन्त्रीलाई आग्रह गरेको जानकारी दिँदै उनले गण्डकी प्रदेशको विकासका लागि पर्यटन क्षेत्रमा काम गर्ने सामाजिक सङ्घ संस्था उद्योग वाणिज्य सङ्घलगायतका सरोकारवालासँग सामूहिक कार्यक्रम सञ्चालन गरी समस्याको पहिचान गर्दै यहाँको पर्यटन व्यवसायलाई लयमा फर्काउने सोचमा आफू रहेको बताए ।