देउवाको गृहजिल्लामा लामिछानेको गर्जन : सही नेतृत्वले मात्र देश बन्छ

देउवाको गृहजिल्लामा लामिछानेको गर्जन : सही नेतृत्वले मात्र देश बन्छ


  • डम्बर निदाल, डडेल्धुरा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले डडेल्धुराका जनताले परिवर्तनको अनभूति गर्न अब धेरै पर्खिनुनपर्ने बताएका छन् । लामिछानेले गएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा बीउ मात्र रोपेको हो, फल २०८४ मा फल्ने भन्दै यहाँका जनताले जिताएर पठाएका जनप्रतिनिधिले जनताको अपेक्षा अनुरुप काम नगरेको बताए । यस्तै, नेपाल सरकारले खोलेको भ्रष्टाचारको फाइल जरासम्म नपुगे २०८४ मा जनताले जरो उखेलेर फाल्ने चेतावनी उनले दिए ।

डडेल्धुरा जिल्ला सदरमुकाममा आयोजित जनसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले भ्रष्टाचारको फाइल खोल्ने र बन्द गर्ने काम सरकारले गर्न नहुने धारणा राखे । भ्रष्टाचारको फाइल खोलेर जरैसम्म पुगेर उखेली फाल्नुपर्ने र अहिले भ्रष्टाचारका हाँगाबिँगा मात्रै समातेकाले जरासम्म नपुगी फाइल बन्द गरियो भने २०८४ सालको निर्वाचनमा जनताले हालको नेतृत्वलाई जरैदेखि फाल्ने उनको भनाइ थियो ।

यस्तै नेपाली जनता वर्षौंदेखि दुख र पीडामा बस्दै आएका दिनहरूको अन्त्य गर्न जरुरी रहेकाले अब जनताले परिवर्तन खोजिरहेको उनले बताए । नेपाली जनताले नेपालको संसद्लाई ध्यान दिएर हेरिरहेका छन् । राजनीतिक शब्द सुन्ने बित्तिकै नाकमुख खुम्च्याउने पुस्ता अब राजनीतिमा ध्यान दिन थालेको उनले बताए । दिनहुँ हजारौँको संख्यामा युवाहरू विदेशिन बाध्य भएका छन् । अहिलेको राजनीतिक पुस्ताले युवाहरूलाई भारतलगायत तेस्रो मुलुकमा विदेशिन बाध्य पारेको भन्दै वर्तमान विकृति विसंगतिलाई चिर्न डडेल्धुरावासीले तम्तयार रहन आग्रह गरेका छन् ।

आफ्नै देशमा सबैथोक भएतापनि यो देशमा नेतृत्व मात्रै नभएको उनको भनाई थियो । पार्टी सभापतिको रूपमा आफुले के-कस्तो हण्डर खाएको छु कस्तो दुःख खाएको छु त्यो तपाईंहरूले देखिसक्नुभएको छ । आफ्नो ब्यक्तिगत लाभका लागि राजनीतिमा दौडिएको पनि होइन, उनले भने । यो देशलाई एक पटक उज्यालो देखाउन सकिन्छ कि भनेर होनहार, योग्य शिक्षित, क्षमतावान, देशप्रेमी साथीहरूलाई पार्टीभित्र आवद्ध गरेर यो यात्रामा हिँडेको उनले बताए ।

यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् । गरिब किसानको घरमा जन्मिएर पनि देशको प्रधानमन्त्री बनेका देउवाको उनले खुलेर प्रशंसा गरेका हुन् । डडेल्धुराबाट मुलुकका लागि दिनुभएको योगदानका लागि म धन्यवाद दिन चाहान्छु । एउटा गरिब किसानको छोरो देशको प्रधानमन्त्री बन्नसक्छ भने हरेक चिज हुनसक्छ । तर, प्रधानमन्त्री बनिसकेपछि देशप्रति इमानदार, निष्ठावान हुनुपऱ्यो । त्यसैले अब डडेल्धुराबाट बन्ने नेताले आफ्नो सम्पूर्ण जीवन परिवार हैन यो देशको माटोको लागि खर्च गर्नुपर्छ उनले भने ।

जिल्ला संयोजक पारस बाहुनको अध्यक्षतामा सम्पन्न भएको जनसभामा उहाँले आगामी निर्वाचनमा सही नेतृत्वले मात्र देश बन्ने धारणा राख्दै देशका लागि इमान्दारितापूर्वक काम गर्ने सही नेतृत्वको पक्षमा स्वतन्त्र पार्टी रहेकोले आगामी आम निर्वाचनपछि युवाहरूलाई देशमै अवसर दिने वातावरण सिर्जना गर्न आफूहरू सडकदेखि सदनसम्म प्रयास गरिरहेको बताए ।

वर्षातको झरीमा छाता ओढेर भाषण सुन्न आएका सर्वसाधारणहरुले रवि दाइ हाइ हाइ भन्दै नाराबाजी गर्नुका साथै करिब दुई सय भन्दा बढिलाई सभापति लामिछानेको हातबाट राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यतास्वरुप लोगो लगाएका थिए ।