फणिन्द्र सरको सुरिलो गलाबाट भानुभक्तका कविता सुन्दा…

फणिन्द्र सरको सुरिलो गलाबाट भानुभक्तका कविता सुन्दा…


स्मरण

✍ डिल्ली अम्माई

कुरा त्यस्तै २०३९ सालतिरको हो । दमेकको सुन्तालाचौर स्कुलमा हाम्रा महेन्द्रमालाका गुरु फणिन्द्र सापकोटाबाट विस्तृत रूपमा भानुभक्तको गाथा सुनेका थियौँ । त्यो बेलाको परिवेशबारे भन्छु है त !

‘आज एउटा कथा भन्छु है त !’ फणिन्द्र सरले दमेकमै कुन्नि कसको सप्ताह सकेपछि पहिलोपटक हाम्रो कक्षामा पस्दै भन्नुभयो ! हामीलाई पनि फणिन्द्र सर सात दिनसम्म स्कुल नआउँदा नियास्रो लागिसकेको थियो ।

‘कथा प्रह्लादको त होलानी सर ?’ पछाडिको बेञ्चमा बसेका रामबहादुर पुनले बसी–बसी जिज्ञासा दर्शाए ।

‘हैन नि ! भोलि भानुजयन्ति हो, थाहा छैन तिमीहरूलाई ?’

‘हो र सर ?!’ म, चिरन्जीवी, कमल, सरस्वतिलगायतले आश्चर्य प्रकट गऱ्यौँ !
‘फणिन्द्र सरले भरत छन्त्याल र तमबहादुरहरूको खासखुसतर्फ संकेत गर्दै.. ‘चुप लाग ! म अब भानुभक्तको कथा भन्छु’ बोल्नुभयो ।

‘वि.सं. १८७१ असारको २९ गते तनहुँमा आदिकविको जन्म भएको !’

हामीले फणिन्द्र सर सात दिनसम्म स्कुल नआएको कुरा तत्कालै बिर्सियौँ र कविता/कथा सुन्न लाग्यौँ ।

दमेकको एकमात्र प्रस्तावित मावि सुन्तालाचौरका हामी पहिलो ब्याचका विद्यार्थी थियौँ । स्वरका धनी फणिन्द्र सरले कक्षा ८ मा हामीलाई नेपाली पढाउनुहुन्थ्यो ।

उहाँले कविता बगाउन थाल्नुभयो-
‘छोरा हुनन् यज्ञ बहुत् गरिनन् ।
सम्पूर्ण लोक्को पनि ताप् हरिनन् ।
तब् पो ती छोरासित राज्य छाडी ।
जानू असल् हो त छँदैछ झाडी ।’

फणिन्द्र सरको सुरिलो स्वर कोठाभरि गुञ्जियो । माथिल्लो तलाको सबैभन्दा पश्चिममा थियो हाम्रो कक्षा ।

सरले सबैलाई हेरेर भन्नुभयो, ‘तिमीहरूलाई रामायण थाहा छ ?’

हामीहरूको संयुक्त उत्तर थियो, ‘छ सर !’

पूर्ववत कक्षाका महेन्द्रमाला पुस्तकहरूमा हामीले आदिकवि भानुभक्तबारे थोरै पढेका थियौँ ।

‘माथि मैले गाएको कविता कुन कितावको हो ?’- सरको प्रश्न थियो ।

केआर सिङले हत्तपत्त नै भन्दियो, ‘थाह छैन सर !’

हामीलाई रामायणको हो कि जस्तो त लागेको थियो तर निधो भएन र चुप लागियो ।

नरे, पशुपति, यज्ञहरू, केआर सिङ्तर हेरेर गलल्ल हाँसे । उनीहरूले बुझेर हाँसे कि नबुझी हाँसे पत्तो भएन ।

‘ल ध्यान दिएर सुन र, भोलि एक-एक वटा कविता लेखेर ल्याओ !’

सरको आदेशमा हामी रल्लिएर केही नबोली बस्यौँ । भोलि कविता कसरी लेख्ने ? चिन्ता पनि जन्मियो होला सायद !

सरले बिस्तारै भन्न थाल्नुभयो, ‘माथिको श्लोक रामायणको हो । नौ कक्षामा गएपछि तिमीहरूले ‘पादुका दान’ पढ्नुपर्छ । बैगुनी सौतेली आमा कैकेइको सर्त र राजा दशरथको आदेशमा वनबास जाने क्रममा राम चित्रकुट वन गएपछि भातृवियोगले विरक्तिएका कैकेयीपुत्र भरतले आफ्ना दाजुलाई घर फर्कन अनुरोध गर्दा अघि मैले गाएको श्लोक भनेका हुन् । अहिले घर छोड्ने बेला भएको छैन दाजै, फर्कनुस् भनेर अनुनयविनय गर्दा पनि राम, सीता र लक्ष्मण घर फर्कन नमानेपछि भरतले विरक्त मान्दै एक्लै दरबार फर्केका थिए । बुझ्यौ ?’

‘बुझ्यौँ सर !’ कोठामा १६ जना विद्यार्थीको स्वरले एकैपटक गुञ्जियो ।

‘श्लोकहरू म भन्दिन्छु.. कापीमा सार्छौ ?’

सरको आदेश हो कि सुझाव हामीलाई के थाहा ! हामीले एकै स्वरमा भन्यौँ– ‘हुन्छ सर !’

सर भन्न थाल्नुभयो, ‘छोरा हुनन्…… …, सकियो ?’

‘सकियो सर !’

सरले फेरि थप्नुभयो, ‘ल अरु कथा पनि सुन ।’

हाम्रो उत्तर हरदम ‘हुन्छ’ नै हुन्थ्यो ।

‘कापी झोलामा राख र ध्यान दिएर सुन’, फणिन्द्र सरले अलिक कड्केर भन्नुभयो । हामी थुरुरु भयौँ ।

सरको मुख खुल्यो, ‘आजभन्दा १८८ वर्षअगाडि अर्थात् वि.सं. १८७१ असार २९ गतेको दिन धनञ्जय आचार्य र धर्मावती देवीका एक मात्र सन्तानका रूपमा तनहुँको चुँदी रम्घामा आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो, बुझ्यौ ?’

‘बुझेम् सर !’

सर ज्योति कातेझैँ फेरि सरर घाँटी तन्काउदै शब्दहरू छर्न थाल्नुभयो, ‘भानुभक्तका बुढा बाको नाम थाहा छ ? श्रीकृष्ण आचार्य हो उनका बुढाबाको नाम । उनैले सिकाएका हुन् कखरा भानुभक्तलाई । बुढाबा श्रीकृष्णकै प्रेरणाबाट भानुभक्तले पढ्न लेख्न सिकेका थिए । भानुभक्तका बुढाबाले बुढेसकालमा काशीमा देहत्याग गर्ने मनसायले उनलाई पनि काशीमै लगेर संस्कृत भाषाको समेत विद्वान् बनाए, बुझ्यौ ?’

‘बुझेम् सर !’

सरले मेरो छेउ बसेका साथी अगन्धरलाई सोध्नुभयो, ‘के रे अगन्धर भानुका बुढाबाको नाम ?’

‘श्रीकृष्ण आचार्य ।’

सर बोल्नुभयो, ‘अब अरु सुन..’

हामीहरू करायौँ, ‘हुन्छ सर !’
‘भानुभक्तको पहिलो बिहे एघार वर्षको उमेरमा भयो, तर उनकी पहिली पत्नी छिट्टै मरेपछि चौध वर्षको उमेरमा तनहुँका विद्याधर खनालकी दश वर्षीया छोरी चन्द्रकलादेवी (रेवती)सँग उनको दोस्रो बिहे भयो, जसबाट दुई भाइ छोरा रमानाथ र शिवशंकर जन्मे । कान्छा छोरा शिवशंकरको १४ वर्षको उमेरमा नै निधन भएको थियो ।’

सर बोल्दै हुनुहुन्थ्यो, ‘नेपालको पहिलो छापाखाना भित्र्याउने कवि मोतीराम भट्टलाई चिन्छौ नि !’ मोतीराम भट्टको बारेमा ७ कक्षामा पनि पढेका थियौँ । ‘भानुभक्तलाई पहिलो पटक आदिकवि भनेर चिनाउने तिनै मोतीराम भट्ट हुन्, बुझ्यौ । मोतीरामले भनेको पचास वर्षपछि श्री ३ जुद्धशमशेर जबराले ‘भानुभक्तलाई आदिकवि भने हुन्छ’ भनि घोषणा गरे । उनैले भानुभक्तलाई आदिकविको राजकीय मान्यता दिएका हुन् । बुझ्यौ ?’

‘बुझेम् सर !’

सर चर्किनुभयो, ‘तिमीहरू भन्दा अझै सानो उमेरदेखि नै भानुभक्तले कविता लेख्न सक्थे । युवावस्थामा उनि आँशुकवि बनेर निस्किए । आँशुकवि भनेको तुरुन्तै कविता लेख्नसक्ने कवि भनेको । भानुले अरूसँग बोल्दा पनि नेपाली भाषाका कवितामै बोल्थे । कसैले परिचय माग्दा भानुभक्तले कविता मै परिचय दिन्थे । भानुले लेखेको एउटा श्लोक सुन है..’

‘हुन्छ सर’

हात फिँजार्दै सरले घाँटी फेरि तन्काए र सुरिलो स्वर निकाले-

‘पहाड्को अति बेस देश तनहुँमा श्रीकृष्ण ब्रह्मान थिया,
खुप् उच्चा कुल आर्यवंशी हुन गै सत्कर्ममा मन दिया,
विद्यामा पनि जो धुरन्धर भइ शिक्षा मलाई दिया,
तिन्को नाति म भानुभक्त भनी हुम् यो जानी चिन्ही लिया ।’

‘कस्तो राम्रो गुणगान है आफ्ना बुढाबाको ?’

‘हो सर !’

सुन्तालाचौर स्कुलमा एक पिरियड आधि भएको घन्टी बज्यो- ‘ट्याङ्ग ।’

सरले भन्दै जानुभयो, ‘भानुभक्त सानैदेखि बौद्धिक चेतका धनी थिए । उनी स्वतन्त्र विचार राख्न हिच्किचाउने खालका थिएनन्, त्यसैले उनलाई स्वतन्त्राप्रेमी कवि भन्दा फरक पर्दैन । सबैभन्दा ठुलो कुरा उनी कविता लेखेर थाक्तैनथे । त्यस समयमा यिनले रामायण, प्रश्नोत्तर (काव्य १९१०), भक्तमाला (काव्य १९१०), वधूशिक्षा (काव्य १९१९), रामगीता (काव्य १९२५) तथा १८८४ देखि १९२५ सम्म थुप्रै फुटकर कविताहरू लेखे । तर जति लेखेपनि ति सबै रचनाहरूलाई प्रकाशित गरेर भानुलाई आदिकविको रूपमा लोकप्रिय बनाउने काम उनका चेला मोतीराम भट्टले गरेका हुन् ।

भानुभक्त लेख्न सिपालु थिए । उनी मनमा आएको भावलाई छन्दबद्ध कवितामा ढाल्न निपुण थिए । भानुमा विकसित आध्यात्मिक चेतनाको कारण बिकसित हुन पुगेको कृतज्ञताले अरूबाट असल कुराको प्रेरणा लिन पनि पछि पर्दैनथे । उनले घाँसीबाट लिएको प्रेरणालाई कृतज्ञता र चेतनाको संगम भनेर बुझ्न सकिन्छ यसरी-

‘भर्जन्म घाँसतिर मन दिइ धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनी भई कन आज यस्तो ।’

फणिन्द्र सरको सुरिलो स्वरले कोठामा ध्वनि मिठास फैलियो ।
सरले आदेश दिनुभयो, ‘अर्को रोचक कुरा पनि छ, सुन । भानुभक्त आदिकवि भएको रामायणले गर्दा हो । त्यसमा सीता र रामको कथा छ । त्यस्तै बाल्मिकीले संस्कृतमा रामायण लेखे र संस्कृत साहित्यका आदिकवि भए । त्यसैगरी हिन्दी भाषामा रामकथालाई नै आधार मानि ‘रामचरितमानस’ लेखेर तुलसीदास पनि हिन्दी भाषासाहित्यका आदिकवि बने । यी तिनै आदिकविहरू एउटै कथामा कसै न कसैको प्रेरणामार्फत आफूलाई रुपान्तरण गरेका रोचक कुराहरू जोडिएका छन् । बाल्मिकी डाँकुबाट, भानु स्वर्थीबाट र तुलसीदास चरित्रहीन स्त्रीलम्पट पुरुषबाट परिवर्तन भएर आदीकवि बनेका हुन् ।

‘यो कुरा थाह थियो त तिमेर्लाई ?’

एक साथमा उत्तर दियौँ, ‘थिएन सर !’

सरले गजक्क पर्दै हामीहरूतर्फ फर्केर मुस्कुराउँदै भन्नुभयो, ‘सबैको एक न एकवटा कमजोरी हुन्छ । तिमीहरू फुत्के गुच्चा खेल्छौ, समयमा गृहकार्य गर्दैनौँ । मौका पाए अरुको कापीकलम पनि चोर्छौ नि, हो त्यस्तै भानुभक्तको कमजोरी रिस थियो । उनि झनक्क रिसाउने प्रवृत्तिका थिए भन्ने कुरा भानुभक्तले आफ्ना साथी गजाधरसँग रिसाएर लेखेको कविता छ, सुन है ?’

सरको लयले फेरि कोठा रन्कियो-

‘गजाधर्सोतीकी घरबुढी अलच्छिन्की रहिछन्
नरक जानालाई सबसित बिदावारी भइछन्
पुग्यौँ साँझमा तिन्का घर पिँढीमहाँ बास गरियो
निकालिन् साँझैमा अलिक पर गुजरान गरियो ।’

त्योबेला मुद्धामामिला पनि हुन्थे । एक पटक गिरीधारी भाटसँग मुद्दा पर्दा भानुभक्तले आफ्नो घरको छानामा लगाएका भाटा सबै झिकेका थिए । उनले आफ्नो घर चुहुने नै पारे । रिसकै झोकमा उनी आफ्ना साथी तारापति उपाध्यायको घर गएको घटना पनि लेखे । भानुभक्त तारापतिको घरमा बास बसेका बेला सासूबुहारीको भनाभनले रातभरि सुत्न पाएनन् । रातभरिको जाग्रामपछि बिहानैको उषामा भानुभक्तले तारापतिलाई एक सन्देश छोड्दै ‘वधूशिक्षा’ लेख्न आरम्भ गरे । त्यसको केही श्लोक म भन्छु, सुन ।’

‘हुन्छ सर ।’

‘एक थोक भन्छु नमान्नु दुक्ख मनमा हे मित्र तारापति
तिम्रा ई जति छन् जहानहरू ता लड्न्या रह्यो छन् अति ।
सारै झोक उठ्यो मलाई र वधू शिक्षा बनाञाँ पनि
यसले पत्नी, बुहारी, छोरीहरूको तालिम गरौँला भनी ।’

बेला बेलामा ‘हुन्छ’ भन्दै हामीले सरलाई हौसला प्रदान गरिरह्यौँ । सरले एक घुट्को पानी पिउनुभयो र घडी हेर्नुभयो । घन्टी लाग्ने बेला अझै भएको थिएन ।

सरले थप्नुभयो, ‘अब १५ मिनेट मात्र छ बाँकी कुरा सुन ।’

भन्न थाल्नुभयो, ‘मोतीराम भट्टका अनुसार भानुभक्तले ३७ वर्षको उमेरमा सरकारी जागिर पाए । वि.सं. १९०९ सालमै भानुभक्तका बाबु धनञ्जय आचार्यको मृत्यु भयो । त्यसको लगत्तै दुई वर्षपछि अर्थात् वि.सं. १९११ मा भानुभक्तलाई जागिरको शिलशिलामा सरकारी हिसाब नमिलाएको निहुँमा राणाहरूले कुमारीचोक थुनामा राखे । तर केही समालोचकहरूले बाबु धनञ्जयको निधन भएपछि भानुभक्तलाई बाबुले सरकारलाई तिर्नुपर्ने बक्यौताका कारण समातेको भनिएको छ । तर उनि जेलमा परेको कुराबारे सबैको एकमत नै देखिन्छ । कुमारीचोकमा थुनामा परेपछि भानुले तात्कालिक कमान्डर इन चिफ कृष्णबहादुर राणालाई बिन्तीपत्र कवितामै लेखेर दिए, ध्यान दिएर सुन !’

कोठा पुन कवितामय भयो ।

‘रोज्–रोज् दर्शन पाउँछु चरणको ताप् छैन मन्मा कछु
रात्भर् नाच् पनि हेर्छु खर्च नगरी ठुला चयन्मा म छु
लामखुट्टे उपिञा उडूस् इ सँग छन् इन्कै लहडमा बसी
लामखुट्टेहरू गाउँछन् यी उपिञा नाच्छन् म हेर्छु बसी । ’

मनमा पीडा भएपनि जेल जीवन भानुको निम्ति बरदान सावित भयो । उनले त्यो बखत धेरै फुटकर कवितासहित रामायणका अयोध्याकाण्ड, किष्किन्धाकाण्ड र सुन्दरकाण्डको पूरै अनुवाद गरे । साथै जेलबाट छुटेपछि यिनले युद्धकाण्ड र उत्तरकाण्ड लेखेर रामायण पनि पूरा गरे ।

नेपाली भाषा साहित्यमा रामायणमार्फत सर्वप्रथम नेपाली भाषाको पहिचान दिलाउने काम भानुभक्तबाटै भयो । जसरी नेपालको राष्ट्रिय एकीकरण गर्ने श्रेय पृथ्वीनारायण शाहलाई छ, त्यसरी नै नेपालको भाषिक एकीकरण गर्ने श्रेय भानुभक्तमा जान्छ । यिनै कारणहरूले गर्दा आदिकवि भानुभक्तलाई नेपालका राष्ट्रिय विभूति मानिएको हो, जुन श्रेणी सबै साहित्यकारहरूले प्राप्त गर्न सक्दैनन् । त्यसैले भानुको योगदानलाई नबुझ्नेहरूप्रति देवकोटाले पेचिलो ब्यङ्ग्य कस्दै भनेका छन्, ‘भानुभक्त पढेर हाम्रो भाषा शिक्षा प्रारम्भ हुन्छ र उनलाई हेला गरेर समाप्त हुन्छ ।’

आदिकवि भानुभक्त आचार्यले पहिलोपल्ट कान्तिपुर अर्थात् काठमाडौं लगनटोलका सुब्बा धर्मदत्त ज्योतिषीको डेरामा आएर बसे । भोलिपल्ट कान्तिपुर घुमे । त्यस बेलाको सुन्दर कान्तिपुरले एउटा गाउँमा हुर्केको युवकलाई मोहित नबनाउने कुरै भएन । त्यसै बखत उनले कान्तिपुरको महिमा गान गर्दै लेखेको कविता सुन्छौ ?’

‘सुन्ने हो सर !’

‘चपला अबलाहरू एक सुरमा
गुनकेशरीको फुल ली शिरमा
हिँडन्या सखी लीकन ओरिपरी
अमरावती कान्तिपुरी नगरी ।’

अन्त्यमा, ५४ वर्षको अल्पायुमै अर्थात् वि.सं. १९२५ साल असोज ६ गते आइतबार आश्विन शुक्लपञ्चमीका दिन कालाज्वरले थलिएर भानुभक्त आचार्य स्वर्गवास भए । आफ्नो जीवनको अन्तिम अवस्था भएपछि बालसखा र ज्योतिषी धर्मदत्त सुब्बाको आग्रहमा भावानुवाद गरेको ‘रामगीता’ नामक कृति अहिलेसम्म लोकप्रिय मानिन्छ । आदिकवि भानुभक्तको आधुनिक नेपाली भाषाप्रतिको योगदानको चर्चा जति गरेपनि कम हुन्छ । उनि नेपाली भाषाका उदाउँदा सुर्य जस्तै हुन् र हाम्रो भाषा रहेसम्म उनको चर्चा परिचर्चा भइरहने छ । आधुनिक नेपाली भाषाका स्वर्गीय पितामहप्रति भानुजयन्तिको पवित्र दिनमा सबैले हार्दिक श्रद्धा सुमन ब्यक्त गर्नु पर्छ । सबैले भानुभक्तको सम्मान गर्नुपर्छ, भोलि फूल लिएर आउनु है ! कविता पनि लेखेर ल्याउनु ।’

‘हुन्छ सर !’

हामी करायौँ । स्कुलको घन्टीले दुई पटक आवाज दियो, ‘ट्याङ्ग ट्याङ्ग ।’