अदृष्य साथ मिलेपछि निर्णायक सङ्घर्षमा गगन !

अदृष्य साथ मिलेपछि निर्णायक सङ्घर्षमा गगन !


डा. शेखर कोइराला र डा. शशाङ्क कोइरालाको साथ भयो भने देउवाले गगनलाई पार्टीबाट कार्यवाही गरी हटाउने सम्भावना बढेको छ । गगनले अरू ज्यादा ‘चुतुरबुतुर’ गरे भने कुनै पनि बेला कठोर कदम चाल्ने मानसिकता देउवाले बनाएका छन् ।

नेपाली काङ्ग्रेसभित्र महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाविरूद्ध ‘जेहाद’ छेडेका छन् । अदृष्य शक्तिको योजना र विपक्षी नेता केपी शर्मा ओलीको साथ पाएपछि गगन थापा यसरी देउवाविरूद्ध आक्रामक बनेको बुझिएको छ ।

प्राप्त जानकारीअनुसार लामो समयदेखि साथ दिँदै आएका पश्चिमी शक्तिहरू यतिबेला देउवासँग बक्री भएका छन् र, देउवा दम्पतीको राजनीतिमा पूर्णविराम लगाइदिने योजनामा उनिहरू रहेको बताइन्छ । देउवा अर्को कार्यकालका निम्ति सभापति बन्न नसक्ने वैधानिक प्रावधान रहेको छ, त्यसैले अब साढे तीन वर्षपछि हुने महाधिवेशनबाट काङ्ग्रेसले नयाँ नेतृत्व पाउने निश्चित छ । तर गगन अर्को साढे तीन वर्ष धैर्य गर्ने मानसिकतामा देखिँदैनन् । एक समय इन्दिरा गान्धीको उत्तराधिकारी ठान्दै भारतीय राजनीति र भारतको काङ्ग्रेस पार्टीमा जुन स्तरको हलचल शरद पवार नामक नेताले पैदा गरेका थिए, अहिले नेपाली काङ्ग्रेसमा गगनको भूमिका तिनै शरद पवारको जस्तो अति महत्वाकाङ्क्षाले ग्रस्त देखिएको छ ।

आफ्नो महत्वाकाङ्क्षाकै कारण गगनले नेता डा. शेखर कोइरालासँगको सम्बन्ध तोडेका छन् र, ‘कार्यबाहक या स्थायी’ सभापति बन्न उपसभापति पूर्णबहादुर खड्कालाई उचाल्दैछन् । खड्कामार्फत गगनले देउवालाई सन्तुलनमा राख्ने प्रयास गरिरहेका छन् भने सार्वजनिक गतिविधि चाहिँ देउवाविरूद्ध केन्द्रीत गरेका छन् । अर्को चार वर्षपछि राजनीति र आफ्नो भविष्य के हुने भन्ने अनिश्चित भएकोले संसद्को यही कार्यकालभित्र जसरी भएपनि प्रधानमन्त्री बन्ने लक्ष्यलाई गगनले आफ्नो एकमात्र अभीष्ट बनाएका छन् ।

विपक्षी नेता केपी शर्मा ओलीले पच्चीस जना मात्र सांसद लिएर निस्किए पनि प्रधानमन्त्री बनाइदिने विश्वास गगनलाई दिलाएको बुझिन्छ । एमालेका ७७, राप्रपाका १४, रास्वपाका २१, एकीकृत समाजवादीका १० र जनमतको ६ मा गगनको २५ सांसद थपिँदा स्पष्ट बहुमत (१५३) पुग्ने केपीको विश्वास छ । र, सोहीबमोजिम केपीले गगनलाई प्रधानमन्त्री बनाइदिने विश्वास दिलाएका हुन् । गगनलाई प्रधानमन्त्री बनाइदिँदा आफूलाई दोहोरो लाभ पुग्ने बुझाइ र विश्लेषण केपीको रहेको छ । एकातिर प्रचण्डसँग बदला लिन पाइने र अर्कोतिर प्रमुख प्रतिष्पर्धी काङ्ग्रेसलाई विभाजित गरेर कमजोर तुल्याउन सकिने बुझाइ केपीको छ । उनले गगनको महत्वाकाङ्क्षामा खेलेर आफ्नो अभीष्ट पूरा गर्ने योजना बनाएका छन् । पश्चिमाहरू अहिले ‘कुनै नयाँ केटा’को हातमा सत्ता पु¥याउन जबर्जस्ती प्रयास गर्दैछन् । प्रचण्डपछि शेरबहादुर देउवा, केपी ओली र माधव नेपाल प्रधानमन्त्री नबनुन् भन्ने पश्चिमी चाहना भएपनि केपीको साथ लिएर अगाडि बढ्ने कार्यनीतिक योजनामा उनिहरू रहेको बुझिन्छ ।

पश्चिमा शक्ति र केपीको बलियो आड पाएका गगनले पार्टी सभापतिलाई जानकारीसम्म नदिइ राजधानीमा पार्टीका जिल्लासभापतिहरूको भेला गराए । उक्त भेला उनले देउवामाथि दबाब दिनका लागि गरेका थिए । यसरी सभापति विरूद्ध खुलेआम गुटबन्दी गर्न सुरु गरेपछि काङ्ग्रेस पार्टीमा विभाजनको गहिरो रेखा कोरिएको छ । कुनै पनि दिन गगनले आफू काङ्ग्रेसबाट अलग्गिएको या काङ्ग्रेस कब्जा गरेको घोषणा गरे भने कुनै आश्चर्य मान्नु नपर्ने स्थिति सिर्जना भएको छ ।

गगनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि साथ दिएका छन् । उक्त टोलीमा प्रदीप पौडेल पनि जोडिएका छन् । पूर्णबहादुर खड्कालाई पनि आफ्ना निम्ति प्रयोग गर्नसक्ने विश्वास गगनले लिएका छन् । गगनको गतिविधिका कारण काङ्ग्रेसभित्र नराम्रोसँग दरार पैदा भएको छ । यस स्थितिमा डा. शेखर कोइराला र डा. शशाङ्क कोइरालाको साथ भयो भने देउवाले गगनलाई पार्टीबाट कार्यवाही गरी हटाउने सम्भावना बढेको छ । गगनले अरू ज्यादा ‘चुतुरबुतुर’ गरे भने कुनै पनि बेला कठोर कदम चाल्ने मानसिकता देउवाले बनाएका छन् । त्यसनिम्ति शेखर कोइरालालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुप¥यो भने पनि दिने सोचमा देउवा रहेको बताइन्छ ।