अट्टहास गर्दा आरोपको वर्षा !

अट्टहास गर्दा आरोपको वर्षा !


नाबालिग बलात्कार मुद्दामा सफाइ पीडित पक्षको करुणाका कारण सफाइ पाएका अभिनेता पल शाह यतिबेला पुनः चर्चामा छन् । जेलबाट निस्किएपछि विभिन्न मिडियामा अन्तर्वार्ता दिन भ्याएका उनको पछिल्लो अन्तर्वार्ताले उनलाई विवादमा तानेको छ । सन्दीप क्षेत्रीको टेलिभिजन शो ‘ह्वाट द फ्लप’ मा पलले आफ्नो जेल जीवनको अनुभव सुनाउँदै गर्दा आफ्नो हैसियत र परिवेशप्रति सजगता नअपनाएका कारण उनी विवादित बन्न पुगेका हुन् ।

उदीयमान गायिका समीक्षा अधिकारीले हालैमात्र एक टेलिभिजन शोमा अश्रु बगाउँदै ‘अर्को जूनीमा त म महिला भएर जन्मन नपरोस्’ भनेको सन्दर्भ पनि यतिबेला चर्चामा छ । नाबालिग उमेरमै चर्को उतारचढाव झेल्न विवश बनेर पनि आफूलाई सम्हालेकी समीक्षाको पछिल्लो समय प्रशंसा हुन थाले पनि कुनैबेला उनमाथि गालीको वर्षा भइदियो । पीडित भनिएका पलको प्रशंसामा मानिसहरू अन्धभक्त भएर लागिरहँदा पीडित नाबालिकामाथि प्रहार गर्नु उचित नभए पनि नेपाली समाजले आफ्नो निर्दयी अनुहार देखाइछाड्यो । आफूमाथि उल्टै लान्छना र गालीको वर्षा भएबाट समीक्षाले असैह्य वेदना महसूस गर्नु अस्वाभाविक पनि होइन । यसरी ‘पुनः महिला भएर जन्मनु नपरोस्’ भनी उनको आर्तनाद जन-जनमा प्रवाहित भइरहेकै बेला पल शाहले टेलिभिजन अन्तर्वार्तामा जेल-जीवनको अनुभव सुनाए । यतिसम्म ठिकै थियो, तर आफू कुन काण्डमा फसेर जेल जानुपरेको थियो र, कसको ‘कृपा’बाट मुक्ति मिल्यो भन्ने बिर्संदै उनले अट्टाहास गर्दै रोमान्चक शैलीमा जेलको अनुभव सुनाए । अन्तर्वार्ता लिने र दिने दुवैको हाउभाउ वा भावभङ्गिमा हेर्दा लाग्छ- यी दुवै पात्र संवेदनहीन कुनै निर्जिव ढुङ्गा हुन् ! उक्त अन्तर्वार्ता हेर्ने कुनैपनि मानवीय भावना बोकेको व्यक्तिले यस्तै अनुभूति गर्छ ।

हो, टेलिभिजन अन्तर्वार्तामा संवेदनहीन तवरले खुलेका कारण पल शाहको यतिबेला आलोचना भइरहेको छ । आलोचना गर्नेहरूले पनि अलिक ज्यादा नै गएर उनको धज्जी उडाएका छन् । पलमाथि मात्र नभइ प्रस्तोता सन्दीपमाथि पनि आलोचकहरूको टिप्पणी छ- ‘कुनै महिलामाथिको गम्भीर अपराधप्रति घिनलाग्दो सोच भएका पात्र…!’
यही या यस्तै आशयका गालीको पर्रा छुटेपछि पल पनि सम्भवतः छाँगाबाट खसेझै भएका छन् । हिजो आफ्नो समर्थनमा नाराबाजी नै गरेकाहरू समेतले अहिले गाली गर्न थालेपछि उनी पनि भावुक बन्न पुगेका छन् । गालीबाट आहत हुँदै उनले फेसबुकमार्फत् आफ्नो भावना यसरी पोखेका छन्-

‘मानवीय जीवन हो, उतारचढाव हुन्छ । म पनि मानव हो । मभित्र पनि मानवीय संवेदना छ । म रुन्छु हाँस्छु तपाईंहरू जस्तै…’
‘ममाथि आरोप लाग्यो, मैले कानुनलाई सघाउन सम्बन्धित निकायमा पुगेँ र एक वर्ष कारागारमा रहेँ । सम्मानित अदालतबाट उक्त आरोपबाट ‘सफाइ’ पाएर म तपाईंहरू जस्तै सामान्य जीवन यापन र कर्म गर्दै आइरहेको छु । ’

‘मलाई थाहा छ, बुझेको पनि छु म एक सार्वजनिक व्यक्ति हुँ । मैले गर्ने हरेक गतिविधि समाजसँग जोडिएको हुन्छ । म साना-साना कुरामा संवेदनशील हुनु पर्दछ र मेरो सेन्स अफ ह्युमरले सक्ने जति म संवेदनशील बन्ने कोसिसमा छु । पछिल्लो समय कान्तिपुर टिभीबाट प्रसारित ‘ह्वाट् द फ्लप शो’मा मैले अन्तरवार्ता दिएको थिएँ । उक्त अन्तर्वार्ता प्रसारण भइसकेपछि सामाजिक सञ्जालमा हाम्रो शैलीको चर्को विरोध भइरहेको छ । प्रसारित कार्यक्रममा ‘हाँसी-हाँसी बोल्यो बलात्कारी, जेलका कुरालाई मजाकमा उडायो’ जस्ता आरोप लागेका छन् । ’

‘म एक्लै यो धर्तीमा कहीँबाट उत्पत्ति भएको हैन । मेरो पनि एउटा परिवार छ । परिवारभित्र आमा, बाबा, बहिनी, इष्टमित्रहरू पनि छन् । उनीहरूमा के बित्छ होला जहिल्यै बलात्कारीको ट्याग दिँदा ? कहिल्यै सोच्नुभएको छ परिवारमा पर्ने आघातका बारेमा ? उनीहरूलाई मानसिक, व्यक्तिगत, सामाजिक जीवनमा कस्तो असर पर्ला, कस्तो दाग रहला ? कहिल्यै त्यो ठाउँमा आफ्नो परिवार राखेर सोच्नुभएको छ ? म स्पष्ट पार्न चाहन्छु- मेरो तर्फबाट मृत या जीवित, आरोपित होस् या अपराधी सबैप्रति मेरो सम्मान छ । म मेरो देशको कानुनलाई शिरोपर गरी कानुनलाई सघाएको मानिसले कानुन उल्लङ्घन या कसैको अवहेलना गर्नेबारे सोच्नसम्म सक्दिनँ । ’

‘मेरो जीवनको एक वर्ष म युनिभर्सिटीमा थिएँ । त्यो युनिभर्सिटीमै देखे-सिकेका कुराहरू मैले रोएर मात्र बोल्नुपर्ने हो र ? मैले कसैको नाम नलिइकन त्यहाँभित्र मैले भोगेका/देखेका कुरा हाँसेरै सरकारसामु अपिल गर्दा पनि मैले गाली खानुपर्ने हो ? म मेरा दुःखका अनुभव हाँसेर कसैसँग शेयर गर्नै नपाउने हो ? मैले कसलाई मजाकको पात्र बनाएको छु ? म रुँदै अन्तर्वार्ता दिनुपर्ने हो ? म मेरो दुखमा सधैँ रुनुपर्ने हो या मैले मेरा दुःखका अनुभव हाँसी-हाँसी साट्न र जित्न पनि पाउँछु ? धेरै कुरा अनुत्तरित छन् र मैले बुझ्न सकेको छैन मेरो जीवनमा मैले गर्नुपर्ने के हो, नगर्नु पर्ने के हो ? समाजका तपाईंहरू जान्ने-बुझ्नेले मलाइ उत्तर दिनु होला !’

‘अदालतबाट ‘सफाइ’ पाइसकेपछि पनि मैले निधारमा ‘म बलात्कारी हुँ’ लेखेर हिडौँ कि दुःख-पीडालाई मुस्कान-हाँसोले जितेर मेरो नर्मल जीवन यापन गरौँ ? मलाई पल शाह बनाएको तपाईंहरूले हो, यसकारण म प्रश्न पनि तपाईंहरूसमक्ष नै गर्न चाहन्छु- म के गरौँ ? कसरी बाँचौँ ? कसरी हिँडौँ ? कसरी बोलौँ ? कसरी खाउँ ? कसरी लाउँ ? कि मैले निधारमा ‘म बलात्कारी हुँ’ लेखेर देश छोडौँ ? कि मैले खुल्लमखुल्ला रत्नपार्कमा गएर आत्मदाह गरौँ ?’

‘एकवर्षे कारागार बसाइँमा मैले पाएका दुःखलाई आँशुले छिपिक्क भिजाएको छु । पीडाको पहाड छ । तर ती सबै भुलेर मैले कसैको अपमान नगरी, कसैको नामसमेत उच्चारण नगरी दुःखलाई खुसी मुद्रामा साट्दा तपाईंहरूमा परेको असरप्रति क्षमा चाहन्छु । कानुनले तँ सही छस् भनेर ‘सफाइ’ दिएको विषय जोडेर बारम्बार प्रहार हुँदा जीवन जिउने अभिलाषा सकिँदोरहेछ… सबैमा माया, सम्मान र धन्यवाद !’

पल शाहको उपरोक्त अभिव्यक्ति पनि अस्वाभाविक लाग्दैन । तर, उनमाथि लागेको आरोप र भोगेको जेल-जीवनको सन्दर्भमा कहीँ-कतै अभिव्यक्ति दिनुअघि केही समयावधिका लागि मात्र भए पनि उनले निकै सोच्नु र संयम हुनु आवश्यक छ । समाजमा ‘नायक’को छवि बनाउन चाहनेका लागि त यो अपरिहार्य नै प्रतीत हुन्छ । बाँकी उनी स्वयम्ले जान्ने कुरा हो ।