नेपाल प्रहरी श्रीमती संघको आयोजनामा वृक्षारोपण

नेपाल प्रहरी श्रीमती संघको आयोजनामा वृक्षारोपण


नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुवरले ‘सेवा नै धर्म हो’ भन्ने मुल आदर्श अनुसार नेपाल प्रहरी श्रीमती संघको स्थापना भएको बताउनुभएको छ।

नेपाल प्रहरी श्रीमती संघको आयोजनामा पुर्वी नवलपरासीको कावासोतिमा वृक्षारोपण कार्यक्रमपश्चात् आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले वृक्षारोपणले वातावरणमा स्वच्छता र सम्पुर्ण प्राणी जगतलाई बाँच्ने आधार तयार हुने धारणा राख्दै विश्वमा भइरहेको जलवायु परिवर्तन कार्यलाई वृक्षारोपणबाट नै रोक्न सकिने जिकिर गर्नुभयो ।

हरियो वन नेपालको धन भएकोले वनरूपी धनलाई अझ बढी सुन्दर बनाउन खाली जमिनमा रुखविरुवा लगाएर वातावरण जोगाउने अभियानमा लाग्न सबैमा अपिल गर्दै अध्यक्ष कुवरले नेपाल प्रहरी श्रीमती संघ, यो अभियानमा लागिरहेको धारणा पनि राख्नुभयो । सो अवसरमा नवलपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, कावासोती नगरपालिका प्रमुख विष्णुप्रसाद भुसाल लगायतले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्नुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरको स्वामित्वमा रहेको साढे ३ बिगा जमिनमा आँप, लिच्ची, कटहर, मेवा, चिउरी, निम, सुन्तला,ड्रेगन फ्रुट्स, अमला, जमुना लगायत जातका ३२५ बिरुवा लगाइएको नवलपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभएको छ।

सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुँवरले अमर प्रहरीका परिवार, पुर्वप्रहरीका परिवार, बाहालबाला महिला प्रहरी सङ्गको अन्तरक्रिया गर्दै कल्याणकारी र व्यवसाय मुलक कार्यमा भएको प्रगतिबारे जानकारी लिनुभयो र कतिपय जिज्ञासाको जवाफ पनि दिनुभएको थियो।

श्रीमती संघले भविष्यमा यथासम्भव सुविधासहितको कार्यक्रम ल्याइने पनि बताइएको छ । नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशकी अध्यक्ष अनिता गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला अन्तर्गतका कार्यालय प्रमुख नेपाल प्रहरीका अधिकृत, सेवानिवृत्त प्रहरी परिवार लगायतको उपस्थिति रहेको कार्यक्रम सञ्चालक डिएसपी वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।